हाते घडीमा समय अपरान्हको ४ बजेको हुनुपर्छ। अझै तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यस दिन १२ नोभेम्वर २०२२ को दिन हुन आउँछ। बेलायती नोभेम्बर महिना भनेपछि मुटु ठिङ्ग्रिने जाडोको कल्पना गर्न सकिन्छ। त्यति मात्र नभएर त्यस महिनामा बेलायती आकास दिउसै अन्धकारमय देखिन्छ। त्यसैले अपरान्हको समय ४ बजेको भएतापनि रात परिसकेको आभास हुन्छ। त्यस्तो हिउँदे मौसममा झरी र हुरीले लछप्पै भिज्ने अल्डरसट धन्न त्यस दिन पानी नपरेर थोरै ओबानो बनेको छ। तैपनि घरबाहिरको जाडोचाहिँ खप्पि नसक्नुको छ। त्यसैले प्रायः मानिसहरु आ-आफ्नो घरदेखि बाहिर निस्केका कहिँ कतै देखिँदैनन्। यदि गृष्मकालिन समय हुँदो हो त ‘मिनी नेपाल’ भनेर परिचय बनाएको अल्डरसट बजारभरि गोर्खा सिपाहीहरु र पूर्व गोर्खा सिपाहीका परिवारहरु छपक्कै देखा पर्दथे।
बेलायती नेपालीहरुको क्यालेण्डरमा त्यसदिन एउटा रमाईलो दिन थियो। किनभने अल्डरसटको एम्पाएर हलमा धुमधामको साथ राजेश पायल राईको ‘एकल कन्सर्ट’ हुँदै थियो। जसले गर्दा भर्खरभर्खर बजारमा हल्काफुल्का गोर्खालीहरु देखा पर्न सुरु गरेका थिए। तिनै कन्सर्ट हेर्नका लागि हामी पनि चुल्है निम्तो अल्डरसट बजारमा पुगेका छौं। नत्रभने हामी बानबरी भन्ने सानो गाउँमा बस्छौं। अनि त्यो गाउँ अक्सफोर्डसायर जिल्लामा पर्छ। जुन गाउँमा हामी बाहेक अन्य नेपालीहरु बसेका छैनन् होला जस्तो लाग्छ। नत्रभने बिगत ५ बर्षको समयभित्र हामीले कुनै न कुनै नेपालीलाई भेटनु पर्ने हो। तर कसैलाई नभेटेर पनि हामीलाई एक्लोपन महसुस भएका छैन्। यदि त्यस्तो भयो भने पनि औसी पूर्णेमा हामी त्यसरी नै अल्डरसट पुगिहाल्छौं। र, धित मरिन्जेल नेपाली टोपी लगाएका मानिसहरु हेरेर आफ्नो प्यारो जन्मभूमी बुईपा, खोटाङको याद गर्दैगर्दै बानबरी फर्कन्छौं।
‘रापा’ कन्सर्टको समय बेलुकि ७ बजे छ। तैपनि हामी सबेरै होटलमा चेकइन भइँसकेका छौ। यसपटक छोरीको काम होटल आरक्षण गर्नु थियो। त्यसैले उनको रोजाइ अनुसार नै उनले ‘ट्राभल लज’ आरक्षण गरिन् र पैसा पनि उनैले तिरिसकेकी छिन्। भरै बेलुकी रेष्टुरेन्टमा खाना खाएको पैसा तिर्ने कामचाहिँ छोरोको अँशमा परेको छ। तर यसबेलासम्म उनको अनुहार अल्डरसटमा देखा परिसकेको छैन् । किनभने गत रात उसको रात्रीकालिन ड्यूटी थियो । बिचरा अस्पतालमा कामगर्ने मान्छे । सेन्ट मार्क अस्पताल लण्डनमा रातभरी दुईजना बिमारी गोराहरुको आन्द्राभुँडी चिरफार गरेर जोडेपछि सिधै ऊँ रेल यात्रामा लागेका छन् भन्ने कुरो उनले फोन मार्फत जानकारी गराएका छन् । आधुनिक जमानाका सर्जन । रातभरी काम गरयो । अनि दिनभरी रेल यात्रामा आखाको बिष मारयो । लण्डन जस्तो व्यस्त सहरमा यो नै उसको दिनचार्य बनेको छ ।
हामी होटलमा चेकइन भएपछि, “म एकछिन आराम गर्छु है, किनभने समय पनि फालाफाल छ । फेरि मलाई गाडीले थोरै मातेको जस्तो भयो ।” ताराले सानो स्वरमा मलाई सुनाइँन, र थपक्कै खास्टो ओढेर आराम गर्न थालिन् । आधुनिक मटरहरु र तारा एक अर्कामा बिपरित धृवहरु जस्तै हुन् भन्ने कुरो मैले निक्कै अगाडीदेखि चाल पाएको छु । त्यसैले यस बारेमा मैले केही भन्न चाहिनँ । नत्रभने मैले एक रफ्तारमा थोत्रो मर्सिडिज हाकिरहँदा कतै छाउरी कुकुर्नी झैं भुक्लुक्कै वान्ता गर्छिन कि भन्ने सुर्तामा थिए । धन्न त्यस्तो दुर्घटनाचाहिँ घटेन । त्यसैमा बिघ्न खुसी छु। तर अति आरामदायी बिस्तारा भेटेपछि कुकुरको झैं खुट्टा कुङलिङ्ग बाङ्गो पारेर मज्जाले निदाइँ हालिन । मचाहिँ खै अलिक बूढो भएछु कि क्या हो ? सुत्नेबेलामा किताब नपल्टाइँ छुसुक्क सुतेको रेकर्ड नै अहिलेसम्म छैन्।
उनी निन्द्रामा परेपछि म हातेझोला उघार्छु। एकछिन खत्र्याकखुत्रुक चकचक गर्छु। झोलादेखि लैनसिंह बाङदेलको “स्पेनको सम्झँना” पुस्तक निकाल्छु । र, तिनै पुस्तकलाई सरसर्ती पढन थाल्छु । मैले ध्यान दिएर खुरुन्धार त्यस पुस्तक पढनुको मूख्य कारण कुनै परिक्षा उतिर्ण हुनको लागिचाहिँ कदापि हुँदै होइन । आगामी जनवरी महिनामा हामी स्पेन जादै छौं । अनि मैले एउटा कुरो यहाँ नढाँटी भन्नुपर्छ । पहिले पहिले म स्पेन त्यतिक्कै पुगेको रहेछु । केही नपढि, केही नबुझि । अझ त्यो पनि एकचोटी मात्र कहाँ हो र ? तीन तीन चोटि । पहिले स्पेनको मूख्यभूमी बार्सोलोना (क्याटोलोनिय) क्षेत्र, त्यसपछि मार्लोका (बलेरिक टापुहरु) अनि अन्तमा लान्जारोटी र फियोर्टभेन्चुरा (क्यानरी टापुहरु) पुगेको सम्झन्छु ।
स्पेनदेखि हुरुरु मन उडाएर अल्डरसटमा ल्याउँछु । हामी होटलको दोश्रो तलामा छौं । होटलको कोठा एकदम सुनसान वा प्रायः मृत अवस्थामा छ । त्यति सुनसान कोठामा म एक्लै घुटुकघुटुक चिया पिउँछु । तर चियाको कप टेबलमा राख्दा निस्केको टक्क आवाजले घरिघरि म झस्कन्छु । म त्यसरी झस्केपछि किताबका पानाहरुदेखि नजर भगाएर होटल बाहिरतिर डुलाउछु । अनि बेलायती सेनाको घर (होम अफ द ब्रिटिस आर्मी) अल्डरसटलाई दूरसम्म नियाल्छु । त्यसपछि मुन्टोलाई १ सय ८० डिग्री घुमाउँछु र किताबका पानाहरुमा पुनः ठोकाउँछु । किताबमा भएका कलापारखीहरु पिकासो, एल ग्रे र भेलास्कीका नामहरु कण्ठस्त बनाउनको लागि मन्त्रमुग्ध हुन्छु । अझै भिन्सी, भ्यान गग, मोनेट, रेम्ब्रान्ड र माइकल एन्जेलोको कला हेर्न म लण्डनदेखि एउटा थोत्रो झोला बोकेर न्यूयोर्क, पेरिस, आम्सटर्डम, रोम, बार्सोलोना र सेन्ट पिटर्सबर्ग कहाँकहाँ र कतिचोटी पुगेँ होला भनेर एकछिन स्मंरण गर्छु ।
साँच्चै मानिसको मन आकासभन्दा फराकिलो हुन्छ रहेछ भनेर एकछिन सोच्छु । तर त्यसरी सोच्दै गर्दा अचानक मेरो मोबाइलको घण्टी बज्छ । फोनबाट आएको किरिङकिरिङ आवाजले मेरो ध्यान भङ्ग हुन्छ । कस्ले फोन गरेछ भनेर एकझलक स्क्रिनमा हेर्छु । ए…अरुण भान्जा पो रहेछ भनेर हतारहतार फोन उठाउछु ।
फोन उठाउने बितिक्कै, “मामा ! कता हुनुहुन्छ ?” भान्जाको पातलो स्वर सुनिन्छ ।
“होटलमा नै छु,” छोटो उत्तर दिन्छु ।
“यतै आउनोस है,” अनुरोध गर्नुहुन्छ ।
“हस् हस्,” भनेर फोन मार्छु ।
त्यसबेलासम्म तारा बेडमा लम्पसार परेर सुतिरहेकी छे । म उनलाई नजिकदेखि एक झलक नियाल्छु । त्यसपछि हतार हतार शरिरमा एकसरो कपडा उन्छु । र, हिड्नको लागि तयार भइँहाल्छु । तर म कोठामा त्यसरी चलमलाएको सुनेर उनी अचानक ब्युझँन्छिन् ।
“सात बजेको कार्यक्रम हेर्न पाँच बजे नै जानु हुन्छ कि के हो ?” अनायसै उनको मुख खोलिन्छ ।
“भान्जाले बोलाउनु भएको छ । त्यसैले अब उतै जान्छु । भरै कार्यक्रम स्थलमा नै भेटौला नि,” भन्छु । त्यसपछि ड्याम्मै ढोका बन्द गर्छु । र, ठमठम हिडिहाल्छु ।
होटल छाडेपछि सडकको बाया किनारै किनार हिड्न थाल्छु । एकछिन हिडेपछि एम्पाएर हलको सामुन्ने पुग्छु । हलको ढोका छेउँमा अरुण भान्जासँग भेट भइँहाल्छ । भान्जाले भेट हुने बितिक्कै नेपालको राजनैतिक गफ सुरु गर्न खोज्नु हुन्छ । किनभने अर्को हप्ता नेपालमा व्यवस्थापिका संसद र प्रदेशको मतदान हुन गइँरहेको छ । मलाई बेलायत बसेर के नेपाली राजनैतिक गफ गर्ने भन्ने मनमनै लाग्छ । तर भान्जालाई त्यसो भनिहाल्न पनि सक्त्तिनँ । धन्न अहिलेसम्म परदेश पसेर त्यति कुटनीतिसम्म जानेको रहेछु भन्ने भान हुन्छ । अझै त्यतिले मात्र मेरो मन कहाँ मान्छ र ?
“हिड्दा पाइतालाले किरा फटेङ्ग्रा नमरोस, र बोल्दा मानिसको अनुहार नजलोस,” भन्ने मनमनै सोच्छु ।
साँच्चै साँच्चै भन्नुपर्दा हामीलाई राजनैतिक बिज्ञानको ज्ञान छैन भने पनि हुँदोरहेछ । मैले आफू पूर्व गोर्खा सैनिक भएकोले मात्र त्यसो भनेकोचाहिँ निश्चय पनि होइनँ । नेपाली राजनीतिलाई नै व्यावसाय बनाएका र देशभित्र बसिरहेका मानिसहरुको मनगढन्ते बिचार सुनेर त्यस्तो चाल पाएको हुँ । हुनत मैले राजनीति बुझ्नको लागि पटकपटक रहर गरेको हुँ । तर प्रत्यक्ष भाग लिनको लागि होइनँ । त्यसैले पटकपटक रोम र एथेन्स पुगेर केवल दिमागलाई दुःखमात्र दिएको छु । प्राचिनकालका राजनीति शास्त्रका पिता अरिस्टोटलदेखि आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभेलियाको बिचारहरु यूरोपमा बसेर अध्यान गर्ने अवसर जुरेका छन् । तर पूर्विय र पश्चिमी दर्शनहरु अध्यान गरेपछि झन धेरै अलमल्ल परेर कुहिरो भित्रको काग झैं बनेको छु । त्यसैले अहिले त्यस बिषयलाई चट्टै भुलेर साधरण जिन्दगी बिताउदै छु । नत्र भने सतहिमा बोल्यो, अनि अनुहार खुम्च्याउनु बाहेक केही नहुने रहेछ जस्तो लाग्छ ।
आखिर कुरो संक्षिप्तमा हुनुपर्छ भन्ने सोच्छु । त्यसपछि सानो स्वरमा, ‘भान्जा ! राजनीतिज्ञले मानिसलाई दुई भागमा धृविकरण गर्छन् “ट्रुप्स अथवा इनेमी” नित्सेको भनाई सुनाउछु र प्रसङ्ग बदल्छु ।
“अ… बरु भट्टी पशल खोलियो कि छैन ?” भनेर सोध्छु ।
“अघि नै खोलिसकेको छ, भित्र जाने हो र ?” सोध्नु हुन्छ । त्यसपछि हामी दुईजना सुस्तरि हिड्दै कार्यक्रम हुने हलतिर जान्छौं । तर मूख्य द्वारमा पुग्दा २-३ जना महिला स्वंयसेविकाहरुले धमाधम टिकट बिक्री गरिरहेको रमाईलो दृश्य देख्छौं । अन्य स्वंयसेविकाहरुलाई मैले चिन्न सकिनँ । तर एकजनाचाहिँ मेरी बुहारी हुन् – ‘अनिता’ । रात दिन केहि नभनि अहोरात्र सामाजिक सेवामा खटिरहने बुहारीलाई देखेर अति प्रसन्न हुन्छु । उनलाई देखेपछि म उनको नजिकै पुग्छु र संक्षिप्तमा बोल्न थाल्छु, –
“जेठी ! मैले टिकट बोकेको त छैन् । अग्रिम टिकट खरिद गरेका छौं । तर मसँग छैन्, नमिताले पो बोकिरहेकी छिन् ?” बिस्तारै सुनाउछु । (नमिता गायक राजेशपायलको आफ्नै दिदी हुन् र, उनी आफ्नो परिवारको साथमा अल्डरसटलाई गृह नगर बनाएर यतै घरजम गरेकी छिन् )
मेरो कुरो सुनेर, “काका ! हस् हस्,” मात्र भन्दै थिइँन् । तर उनको हातमा भएको फोन अचानक बजिहाल्छ । त्यसबेला बुहारी र म सानो टेबलको वारिपारी उभिरहेका थियौं । त्यति नजिक भएको हुनाले फोन भतिज गजेन्द्रको रहेछ भनेर मैले ठहर गरें । अझै उनले ठूल्ठूलो स्वरमा, “मेरो कालो कोट कता राखेकी छौं ?” भन्दै बुहारीलाई थर्काएको पनि सुनें । मैले पनि तारालाई त्यसरी थर्काउने भए, मैले यहाँ बोकिहिडेकी छु र ? भन्ने उत्तर पाउँथे हुँला । धन्न मेरो अगाडी बुहारीले त्यसो चाहिँ भनिनन् ।
तैपनि भतिजको कुरो सुनेर म एकछिन छक्क परें । किनभने उनको हजुर बाबुले शखुँ खोलाको सिरदेखि छसुङ खोलाको दोभानसम्म दुई गाउँ जग्गा जमिन जोडिदिनु भएको छ । आलमारी भित्रको कोट नदेख्नेले त्यतिका धेरै जग्गा जमिन भविष्यमा कसरी हेरचाह गर्छ होला भनेर एकछिन पिर परें । त्यतिले मात्र कहाँ हुनु र ? मेरो भतिज ज्यादै भाग्यमानी रहेछ । किनभने उनको छोरी ‘अमेरिकन ल फर्म’ लण्डनमा सोलिसिटर हुँदै छिन् र ३० बर्ष भन्दा सानी उमेरमा ६ अङ्क वेतन खानेवाला छिन् । त्यो सुनेर गर्वले मेरो कुखुरे छाती पनि फुलेर सगरमाथा झैं अग्लो हुन खोज्छ ।
बुहारीले फोन राखेपछि उनी थोरै व्यस्त भइँन् । म त्यहाँदेखि अलिक पछाडी सरें र भित्ताको नजिकै अडेस लगाएर उभिरहें । केहीबेरमा हस्याङ फस्याङ गर्दै नमिता आइँपुग्छिन् । उनी आउने बितिक्कै, ‘काका ! यी टिकटहरु लिनुहोस,’ भन्दै उनले मलाई टिकटहरु दिन्छिन् । मैले ५ वटा टिकटहरु खरिद गर्नको अग्रिम जानकारी गराएको थिएँ । त्यसपछि हामी दुईजना त्यहिँ कुनामा एकछिन कमिला गन्थन गर्न थाल्छौं । ठीक त्यहिँबेला तारा, उनकी आमा, र छोराछोरीहरु सँगसँगै कार्यक्रम स्थलमा आइँपुग्छन् ।
उनीहरु आएपछि हामी सरासर कार्यक्रमस्थलभित्र छिर्छौं । र, सुस्तरी हिड्दै भट्टिपशलमा पुग्छौ । त्यहाँ पुगेर छोराले नाती र बजुको लागि एक-एक पाइन्ट बियर मगाइँ हाल्छन् । त्यसपछि हामीलाई के के पिउँनु हुन्छ भनेर सोध्छन् । ताराले एक गिलास वाइन पिउने रहर गरिन् । छोरीले जिन एण्ड टोनिक पिउँछु भनिन् । म अलिक कमजोरी मान्छे । तैपनि किराँतीको छोराले जाडरक्सी छोएन भने गरिखान्छ भन्ने सपना देखेर मादक पदार्थको नजिक नपुगेको दुई दशक भएको छ । बरु धेरै बोलेर हरहर तिर्खा लागिरहेको थियो । त्यसैले एक बोतल पानी पिउछु भनें । त्यसपछि हामी हातमा पेय पदार्थ बोकेर बस्ने स्थानको खोजिमा लाग्छौं । हलभित्र रङ्गिचङ्गी बलिरहेको बत्तिमा झुमुस खाँदैखाँदै अगाडी बढ्छौं ।
निक्कै अगाडी पुगेपछि बाटैमा ठिङ्गै उभिरहेको एकजना स्वयंसेवकसँग हाम्रो भेट हुन्छ । उनले भेटने बितिक्कै, “अगाडिको तीनलहरमा राखिएका कुर्सीहरु अल्डरसटका अति महत्वपूर्ण (भिआइपी) मानिसहरु बस्नको लागि हुन् । त्यसपछिका अन्य कुर्सीहरु दोश्रो दर्जाका मानिसहरुका लागि । ती कुर्सीहरुमा झुसमुस र गिरिधारीलालहरु जतासुकै बसेपनि हुन्छ,” पल्टने भाषा प्रयोग गरेर उनले आफ्नो वाक्यांशलाई बिट मार्छ । उनको भनाइँ सुनेर मलाई हाइगेटमा लम्पसार परेर सुतिरहेको कार्ल मार्क्सको बेस्सरी याद आउछ । उनले समस्त मानव जातिलाई ‘कुलिन र सर्वहारा’ दुई बर्गमा बिभाजन गरेका थिए । अब मलाई यहाँनेर, “पैसा सबै चिज होइनँ, तर केही चिज हो,” भन्ने महसुस हुन्छ । स्वयंसेवकको भनाइले म अक्क न बक्क भएर उभिरहेको देखेर ताराले, “ल ! ठीक्छ, हामी यतै बसौं कि कसो ?” भन्छिन् । मैले प्रति उत्तर नफर्काएपछि उनको कुरोलाई आमाले सहि थाप्छिन् र हामी त्यहिँ आसन गर्छौं ।
हामी कुर्सीमा आसन गरेपछि बिस्तारै बिस्तारै हल भरिनँ सुरु गर्छ । एकछिनपछि त भरिभराउ मात्र नभएर खचाखच भइँहाल्छ । एउटै स्थानमा त्यतिका धेरै नेपाली मूलका मानिसहरु देख्दा अल्डरसटलाई त्यतिक्कै मिनी नेपाल भनेको होइनँ रहेछ भन्ने महसुस हुन्छ । त्यतिका धेरै मानिसहरु देखेपछि हाते घडिलाई एकझलक हेर्छु । बेलुकिको समय ७ बज्नै लागेको थियो । सोहि बेला अचानक स्टेजमा ज्यादै आकर्षक शरिरकी धनि एकजना उद्घोषिका देखा पर्छिन् । उनले आफ्नो नाम प्रमिला लाबुङ बताएपछि बहुचर्चित गायक राजेशपायललाई स्टेजमा आमन्त्रण गर्छिन् । हुनत त्यो कार्यक्रम बेलायती गृष्मकालिन मौसम जुलाईमा निर्धारित गरिएको थियो । तैपनि बिबिध कारणहरुले गर्दा अनिश्चित कालसम्मका लागि स्थगित भयो । त्यसैले लामो समयको प्रतीक्षापछि कार्यक्रम गरिएको हुनाले कार्यक्रम स्थलभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन ।
उद्घोषिकाले राजेशपायललाई बोलाएपछि भिडको बिचमा सानो बाटो खुल्छ । तिनै बाटोमा अजङ्गका तीनजना अश्वेत सुरक्षाकर्मीहरुले घेरा हालेर अति सुरक्षित तरिकाले राजेशलाई स्टेजतर्फ लान्छन् । उनलाई त्यसरी डोहोर्याउँदै लैजादा दर्शकहरुले गडगडाहत तालीले भव्य स्वागत गर्छन् । हलभित्र स्वागत गर्ने दर्शकहरुमध्ये मेरो आदरणिय दाजु र भाउज्यू अथवा उनका आमा र बाबु पनि हुनुहुन्छ । त्यति जोडदार होहल्ला र तालिको साथमा हलभित्र उनी छिर्दा मैले नजिकबाट दाजु र भाउजूको अनुहार पढिरहेको हुन्छु । उहाँहरुलाई यतिबेला कस्तो अनुभूती भइँरहेको छ होला भनेर म मनमनै कल्पना गर्छु । अब त्यो वातावरण र उत्साह देखेर म आफै त त्यति उत्साहित छु भने उहाँहरु आफ्नो छोरालाई देखेर झन कति धेरै उत्साहित एबम गौरवान्तित भएका होलान् भनेर झन सोच्न बाध्य हुन्छु ।
राजेशपायलले स्टेजमा पुग्ने बितिक्कै, “कृपया ! तपाईहरुको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुनै आँटेको छ,” ध्वनिप्रसारक यन्त्र हातमा लिएर पहिलो वाक्यशँ छाड्दा म कताकता हर्षले बिभोर भइँरहेको हुन्छु । मैले जीवन जिउने क्रममा लगभग छ दशक जिन्दगी पार गरिसकेको छु । तैपनि जीवनमा पहिलो चोटि नेपाली सांगीतिक कन्सर्ट हेर्न गइँरहेको छु । ताराले त पहिले पनि अल्डरसटमा उनको कन्सर्ट हेरिसकेकी थिइनँ । तैपनि मभन्दा अझै बढि उनी नै खुसि देखिन्थिन् । कारण के छ भने उनको माइती घरमा हिउद बर्खा पारिवारिक राजनैतिक खिचातानी भइँरहन्छ । जस्ले गर्दा यस बर्षको दशै तिहार उनले आफ्नी आमासँग मनाउन पाएकी थिइँनन् । बल्लबल्ल कन्सर्टको समयमा आज काकताली परेको छ । त्यसैले आमाको छेउमा बसेर केटाकेटीझैं पुल्पुलिरहेकी छिन् । र, उनको खुट्टा भुइँमा नभएर माथिमाथि उडि हिडेको छ ।
राजेशपायल उर्फ ‘राई इज किङ’ ले स्टेजमा पुगेर सबैभन्दा पहिले ‘नमाग मसँग सहारा नमाग, भूइँमा छु आकासका जुन तारा नमाग’ भन्ने गित गाउदा म भावुक बनिसकेको छु । त्यो गित सुन्दैगर्दा मेरो तन त्यतिका धेरै मानिसहरुको बिचमा भएतापनि मन हुरुरु उडेर उनको जन्मघर बुईपा, लेक्पाको बेसीडाँडा पुग्छ । मैले यहाँ गर्वको साथ के भन्नु पर्छ भने उनको घर मुनी एउटा फाटिलो जमिन छ र जस्लाई टारी खेत भन्ने गरिन्छ । तिनै टारी खेतमा फलेको मार्सी धानको भात खाएर मात्र होइन टारी खोलाको पानी पिएर हुर्केको एकजना बालकले जगतभरि पुगेर बसोबास गरिरहेका हरेक नेपाली भाषीहरुको मन र मुटु जित्न सफल भएको छ । जुन सौभाग्य जो कोहीलाई मिल्न त अवश्य सक्त्तैन । केवल राजेशलाई जुरेको छ भन्ने सोचिरहन्छु ।
करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको त्यस कन्सर्ट हलमा उनले जीवनकै पहिलोपटक लाइभ ब्याण्डका साथ कन्सर्ट गरिरहेका छन् । विश्वको अलौकिक सहर लण्डनलाई क्रमशः साढे दुई घण्टा थर्काइरहँदा, “तिमी शक्त्ति पाएर जन्मेको रहेछौ – भाई,” रुन्चे स्वरमा ताराको मुख खोलिन्छ । दर्शन नमस्ते, मत मर्छु कि क्या हो, ठूली ? बैगुनि रैछौ मायालु, दिक्त्तेल बजार भन्ने कर्णपृय गितहरु गाउदा बैसालु जवानहरुदेखि केस पाकेका बुढापाकाहरुले पनि कम्वर हल्लाएका देखिन्छ ।
‘हौवा हौ हौवा’ भन्ने गित सुन्दा भने मेरो मन हाम्रै गाउँको बुईपा, पन्चरबाटोको हटिया भर्न पुग्छ । बिहे गरेर धेरै टाढा पुगेकी चेलीले लामो समयपछि आफ्नो माइतीलाई तिनै हटियामा भेट्दा एक बोतल रक्सि राखेर चाम्लिङ् भाषामा ‘दाजै, स्या मुइँ – हौवा है हौवा,’ भनेको सुन्दा चाम्लिङ्गेहरु बाहेक अरुले ‘बाहुनले च्याउँ खावस न च्याउँको स्वाद पावस’ भन्ने आभाष हुन्छ । त्यति धेरै भाषा र संस्कृती बोकेका उनको गितहरुले हामीलाई भरपुर मनोरन्जन त यस्सै दिइँरहेकै छ । तैपनि त्यति रमाइलो समयले हामीलाई बिदाइ गर्छ ।
त्यसपछि हामी सुस्तरी हलबाट बाहिर निस्कन खोज्छौ । तर बारको नजिकै मात्र के पुगेको हुन्छौं । एक हुल पूर्व गोर्खा यातायात रेजिमेन्टका सदश्यहरुसँग हाम्रो जम्काभेट भइँहाल्छ । १५-१६ बर्षपछि भेटिएका रेजिमेन्टमा सदश्यहरुसँग ‘पेचाउ, पेचाउ’ (क्यान्टोनिज भाषामा बियर) भन्दै सम्झना स्वरुप तस्विर लिएपछि मात्र बिदा हुन पाइन्छ ।
होटलको लबिमा पुग्दा समय रातको ११ बज्छ । तर हामी त्यहाँ पुग्दा राजेशपायल र नमिता त्यहिँ हुन्छ । अझै हामी पुग्ने बितिक्कै, –
“काका ! अब राजेशसँग हाम्रो घरमा आउनोस है । मैले कालिजको मासु पकाएकी छु,” उनले अनुरोध गर्छिन् ।
बेलायती सैनिक अधिकृत मेसकी अनुभवी भान्से छोरीको अनुरोधलाई अस्विकार गर्न त यो मन मान्दैन तैपनि, “म बुढो भएको मान्छे । यसो त्यसो गरेर ११ बजे त सुति हाल्छु, आज रात पनि धेरै गइसक्यो,” भन्छु ।
“ल ल हामी काकासँग आउछौं,” उल्टो राजेशले जबाफ फर्काउछ ।
त्यति बोलिसकेर नमिता आफ्नो बाटो लाग्छिन् । ‘अरुलाई के को धन्दा, घर जुवाइँलाई खानेको धन्दा’ भने झैं जेशन बारमा जान्छ र नाति बजुलाई एक-एक पाइन्ट बियर लिएर आइहाल्छ । राजेशले अल्कोहल पिउँदिन भन्छ । तर, “मेरो कोठामा बर्गर छ लिएर आउछु है,” भनेर ऊ बसिरहेको ठाउँदेखि जुरुक्कै उठछ् । जेशनले, “मामा ! म पनि सघाउनको लागि आउनु कि ?” भनेर एक पटक सोध्छ । त्यसपछि उनीहरु दुवैजना सँगसँगै कोठातिर लाग्छन् । हुनत उसको र हाम्रो कोठा एउटै तलामा छ । अझै कोठाहरु पनि जानेको जस्तै ठ्याक्कै वरतिर र परतिर नै परेका रहेछन् ।
एकछिनपछि दुईजनाले बर्गरहरु लिएर लब्बिमा उपस्थिति जनाउँछन् । बर्गरहरुको साइज हेर्दा बेलायती नभएर अमेरिकन हो कि भन्ने मलाई भान पर्छ । त्यसरी म छक्क परिरहेको बेला, “काका ! यो मेरो साथिले स्पेशल बनाइदिएको हो,” राजेशले भन्छ । हामी तिनै बर्गरलाई लब्बिमा बसेर टोक्न थालिहाल्छौं । उनले बर्गरलाई केवल दुई गाँस पनि खान पाएको थिएनँ । तस्विर लिने भनेर एक हुल मानिसहरु सरासर होटलभित्र छिरिहाल्छन् । अब मानिसहरु उनलाई खोज्दै आएपछि खानुको सट्टा ऊँ उतैतिर लाग्छ । ऊँ हामीदेखि बिलय भएपछि हामीलाई पो मिनी दशैं सुरु हुन्छ । अब केहिबेरमा आउला भन्दा झन हुलका हुल फोटो खिच्ने मानिसहरुको ताँती लाग्छ ।
ठीक त्यहिँबेला नमिताले मलाई किरिङकिरिङ फोन गर्छिन् । “काका ! आउने होइनँ र ?” सोध्छिन् । म सानो स्वरमा, “छोरी ! आउदै छौं है,” भनेर फोन मार्छु । तर दुई टुक्रा रोटी चपाउन पाउदा नपाउँदै त्यतिका धेरै मानिसहरुलाई समय दिनु पर्दा ताराले टाउको हल्लाउँदै अचानक मुख खोल्छिन्, –
“साच्चै ! सेलिब्रेटीको जिन्दगी कति चर्को रहेछ, हगि।”
– बानबरी, बेलायत।