खोला किनारामा उभिएर
एउटा रुख
थामिरहेछ आफ्नो अस्तित्व
वर्षौ वर्षदेखि ।
चिन्ता छैन उसलाई
गास बास अनि
कपासको
न छ आडम्बर उसमा
कोही कसैलाई बुच्छ देखाएर
आफू ठूलो बन्ने
हाँडीघोप्टे प्रवृत्ति।
सुरसाको जस्तो मुख बाउने
शाखा सन्ततिका लागि
पुग्ने गरी थुपार्ने
मनसायलाई घृणा गर्ने ऊ
सबैलाई समान देख्छ
फगत समान देख्छ।
एकले अर्काको
जरा काट्दै हिड्ने
मतलबी दुनियाँबाट
टाढा बस्न रुचाउने ऊ
भ्रष्टाचारी दलाल
अन्धभक्तहरुसँग
साइनो नै गाँस्दैन
न त सम्झन्छ
त्यस्ता पापी अधर्मी हत्यास
लोकाचार नभएका
नर पिशाचहरुलाई
जसले मानवताको नाममा
हरपल हरक्षण
अमानवीय कुकृत्य
गर्थे र गर्दैछन्।
ऊ त सबै कुरा छोडेर
आफू भएको अस्तित्त्व मात्र
सम्झिरहन्छ
जुन अस्तित्त्व
परापूर्व कालदेखि
सञ्चित समृद्ध हुंदै
आजसम्म चलिरहेको छ
जसले प्राणीलाई
मानवमा विकसित गर्यो ।
धनदेव जोशी
बैतडी