क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेरका सन्दर्भमा विवाद देखिएको छ। सन्दीपको वकिल सुधा रिजालले जाहेरी दिने किशोरीको उमेर १८ वर्षभन्दा बढी भएको दाबी गरेका छन् ।
सन्दीपको वकिल सुधा रिजालले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको स्पष्ट गर्दै उनीसंग दुईवटा जन्मदर्ता बनाएको प्रतिक्रिया दिएकी थिइन् । तर, प्रहरीले पेस गरेको कागजातमा भने किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको देखिएको छ । प्रहरीले अदालतमा पेस गरेको नागरिकताको प्रतिलिपिमा पीडित भनिएकी किशोरी अझै पनि नाबालिग नै रहेको देखिएको छ ।
आरोपित क्रिकेटर सन्दीप लामिछानेले पनि पीडित भनिएकी किशोरीको उमेर १९ वर्ष रहेको दाबी गरेका छन् । न्यायाधीशसमक्ष आरोपितले पीडित आफैँले आफ्नो वास्तविक उमेर १९ वर्ष रहेको भनी बताएकी थिईन्।
तर, अध्ययनका लागि उमेर घटाएको भनेको भन्दै पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको दलिल पेस गरेका सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले सञ्चारकर्मीलाई जानकारी गराए। वकिल घिमिरेका अनुसार सन्दीपले किशोरीकै आग्रहमा आफूहरू घुम्न गएको र आफूले कुनै जबरजस्ती नगरेको बताएका छन् । यद्यपि आरोपितले आफूहरुबीच करणी लेनदेन भएको हो कि होइन भन्ने कुरा बताएका छैनन् ।
क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको वास्तविक उमेर सम्बन्धमा सतहमा विवाद देखिएको छ । यद्यपि जाहेरवालीको उमेर १८ वर्षभन्दा माथि रहेको प्रमाण भने सन्दीपका वकिल सुधा रिजालले पेस गर्न सकेकी छैनन् ।
अहिले म्याद थपको लागि समय मात्रै लिइएकाले थुनछेक बहसका दिन ती प्रमाणहरू पेस गर्ने भार प्रतिवादीमा रहन्छ भने जाहेरवाली नाबालिग नै रहेको र जबरजस्ती करणी भएको प्रमाण पेस गर्ने दायित्व वादीमा रहन्छ । त्यसपछि मात्रै सन्दीप थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्ने कि थुनामै रहेर मुद्दा लड्ने भन्ने कुराको निर्क्योल हुने वकिलहरुले बताएका छन् ।














