News Portal

  • नक्कली आमाबुवा, सक्कली नागरिकता सिफारिस गर्ने वडाध्यक्ष छानविनको दायरामा

    हिमालीसंचार संवाददाता
    ३१६ पटक

    काठमाडौं – भारत दार्जलिङकी २१ वर्षीया रजनी राईलाई बारा प्रहरीको खोजी सूचिमा छिन्। उनले नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजीकार्य थालेको हो।

    सिमरास्थित इलाका प्रशासन कार्यालयबाट असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी राई अहिले सम्पर्कविहीन छिन्। उनले निजगढ नगरपालिका वडा नं. १२ ले दिएको सिफारिसका आधारमा उनले नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी हुन्।

    नेपाली नागरिकता प्राप्त गर्न राईले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेश गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको हो। निजगढ वडा नं. १२ रतनपुरका श्यामराज गोलेलाई बुवा र जिरामाया गोलेलाई आमा बनाउँदै जेठ २३ गते राईले गोलेको नाममा जन्मदर्ता बनाएकी उनले सोही जन्मदर्ताको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिन सफल भएकी हुन्। 

    नेपाली नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी राईले जेठ २३ गते जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएकी र सोही दिन जन्मदर्ता प्राप्त गरेको देखिएको छ। २०५८ साल चैत्र १५ गते जन्म भएको उल्लेख गरेर राईले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेकी थिइन्। तर रजनी भारतीय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म सन् १९८९/०३/२४ अर्थात वि.स. २०४५/१२/११ गते उल्लेख छ।

    जन्मदर्ता अघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो। उक्त सर्जमिन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका वडा नं. १२ का वडासचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन्। निवेदक जिरामायासहित मुचुल्कामा स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले हस्ताक्षर गरेको छ।  

    सर्जमिन मुचुल्काको आधारमा जन्मदर्ता बनाइएको र सोही जन्मदर्ताको आधारमा जेठ २४ गते राईले नागरिकताका लागि निवेदन दिएकी थिइन्। नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूचि १ फारममा राईलाई अविवाहित रहेको प्रमाणित गरिएको छ। तर रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचय पत्रमा उनको बुवाको नाम किशोर राई उल्लेख छ।

    नक्कली विवरण भरिएको अनुसूचि फारमसहित निजगढ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते इलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा इलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो। 

    वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताए। ‘कागजपत्र सबै ठिक थियो, गाँउको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो’, वडाध्यक्ष गोलेले भने, ‘तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ। त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छु।’ 

    वडाध्यक्ष गोले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनकै सिफारिसका आधारमा भारतीय नागरिकले नागरिकता प्राप्त गरेपछि यतिबेला उनीसमेत छानविनको दायरामा तानिएका छन्। इलाका प्रशासन कार्यालयले वडाध्यक्ष गोलेसहित रजनीको नक्कली अभिभावकलाई नागरिकतासहित उपस्थित गराउन निजगढस्थित इलाका प्रहरी कार्यालयलाई पत्र काटेको छ। 

    यसअघि नागरिकता प्राप्त गरेकी राईलाई हाजिर हुन पत्र काटेको प्रशासनले उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा पत्र काटेको हो। राईका नक्कली अभिभावकसमेत सम्पर्कमा छैनन्। इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले नागरिकता प्राप्त गर्ने व्यक्ति हाल सम्पर्कमा नभएका कारण वडाध्यक्ष र अभिभावकलाई उपस्थित हुन पत्र काटिएको जानकारी दिए।

    ‘हामीले पहिला नागरिकता प्राप्त गर्ने व्यक्तिलाई खोज्यौं तर सम्पर्क हुने स्थिति नभएपछि वडाध्यक्ष र अभिभावकलाई बोलाएका छौं’, अर्यालले भने, ‘उनीहरु आएपछि नागरिकताको विषयमा छानविन गरेर बदरसहित आवश्यक प्रक्रिया अघि बढाउँछौं।’

    कार्यालयबाट जारी भएको सक्कली नागरिकता फर्काउने काम पहिलो प्राथमिकतामा रहने र बदरका लागि गृह मन्त्रालयमा प्रक्रिया थालिने अर्यालको भनाइ छ। नागरिकता कार्यालयबाट जारी भए पनि बदर गर्ने अधिकार गृह मन्त्रालयसँग मात्रै रहनेछ। ‘हामीसँग बदर गर्ने अधिकार हुँदैन त्यसैले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउनुपर्छ’, अर्यालले भने। 

    भारतीय नागरिकले नेपाली नागरिकता लगेको विषयमा अर्याल समेत अनविज्ञ देखिन्छन्। वडा कार्यालयको सिफारिस, जन्मदर्ता, प्रहरी सर्जमिन मुचुल्कालगायत सबै कागजात पूरा देखेपछि कार्यालयले नागरिकता जारी गरेको अर्यालले बताए। ‘हामीले सिफारिस भई आउने कागजपत्र हेर्ने हो, कागजपत्रमा कुनै शंका लागेमा मात्रै छानविन गरेर नागरिकता दिने गरेका छौं’, अर्यालले भने, ‘तर यो विषयमा सबै कागजात पूरा देखेपछि नागरिकता जारी भएको हो।’

    जनप्रतिनिधि र प्रशासनलाई झुक्याएर नागरिकता लिएकी राईले गोले परिवारलाई आर्थिक प्रलोभन देखाएर प्रयोग गरेको देखिन्छ। दार्जलिङबाट नागरिकता बनाउनकै लागि निजगढ आएकी उनी त्यसयता सम्पर्क बाहिर छिन्। उनले पासपोर्ट बनाउनका लागि नेपाली नागरिकता लिएको र पासपोर्ट बनाएर विदेश जाने तयारीमा रहेको समेत बुझिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...