
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा एक युवकमाथि छुरा प्रहार भएको छ । असार २५ गते राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् । आफ्नो केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
ती युवकले छुरा प्रहार गरेको १८ घण्टाभित्र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । छुरा प्रहारबाट राजनको पेटमा गहिरो चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यी युवक दुई जनाले सँगै मदिरा सेवन गरेको र विवादपछि दीपेशले डेराबाट छुरा ल्याएर हानेको प्रारम्भीक अनुसन्धानमा भनिएको छ । प्रहरी वृत्त बौद्धले आरोपीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।