
काठमाडौं – प्रदेश नं. १ को नाम राख्ने विषयमा सकश परिरहेको अबस्थामा प्रा.डा. धनप्रसाद सुवेदीले प्रदेश १ ‘किरात प्रदेश’ नाम राख्दा इतिहासको सम्मान हुने धारणा राखेका छन्।
प्रा.डा. सुवेदीले प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माँझ किरात र पल्लो किरात भनिदै आएकोले त्यो पहिचानको सम्मान गर्न किरात प्रदेश राख्नुपर्ने धारणा राखेका हुन् । ‘प्रदेश १ को भूगोललाई इतिहासदेखि नै वल्लो किरात, माँझ किरात, पल्लो किरात भनिदै आएको हो, पुरानो तमसुकहरु हेरे पुग्छ । उनले आफ्नो धारणा राखेका हुन्।
हिन्दु पण्डितहरुले पढ्ने सङ्कल्पमा त ‘कैरात देशे’ अझै चलेकै छ । पुराना चिनाचपेटाहरु पल्टाए पनि हुन्छ,’ उनले भने, ‘त्यसैले प्रदेश १ को नाम किरात राखियो भने कुनै अनौठो कुरा हुँदैन । त्यसलाई जातीय भन्दा पनि ऐतिहासिक भनेर बुझ्नु ठिक हुन्छ ।’ भन्दै उनले हिजो सामाजिक संजाल फेसबुकमा प्रदेश १ को नामकरणबारे सटिक धारणा राखेका हुन् ।
उनले प्रदेश १ को नामकरणको विषय कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती भन्दा फरक रहेको उल्लेख गरेका छन् । प्रदेश १ मा पहिचानको लागि सशस्त्र संघर्ष नै भएको र जनताको मनोविज्ञान अन्य प्रदेशको भन्दा फरक रहेको उनले बताएका छन्।
प्रदेश नं. १ का राजनीतिक दलहरुलाई उनको सुझाव दिएका छन्, ’यहाँको मनोविज्ञान अलिक फरक छ, यस क्षेत्रमा पहिचानका लागि सशस्त्र युद्ध नै सुरु भएको थियो र त्यसलाई पनि केही न केही सम्बोधन गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्नुस् ।’
उनले देशका धेरै स्थानमा नामहरु जातिसँग जोडिएको भए पनि त्यही कारण कतै पनि जातीय द्वन्द्व नभएको पनि लेखेका छन् । हाल प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्न एमाले र कांग्रेस मानिरहेका छैनन् । माओवादी र समाजवादीले पहिचानका आधारमा प्रदेशको नामकरण राख्नु पर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।