रामेछापको गोकुलगंगा गाउँपालिकाले बाँड्यो ७० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर

पुष्कर खड्का रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ।किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गोकुलगंगा गाउँपालिकाले जनाएको छ।
कृषकलाई खेती गर्न सहज होस् भनेर ७० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले बताउनु भयो।
उहाँको जानकारी अनुसार कृषि सरल र सहज बनाउन किसानलाई कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि कृषकलाई चालु आर्थिक वर्ष ०७८-०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर एवं मिनीटिलर किसानलाई शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो।
युवाहरू विदेश तर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको तथा भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन्।
कृषि उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्नेको लागि आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकामा खेती गर्दै आएका स्थानीय किसान हरुलाई उनीहरुको ३० प्रतिशत लागत साझेदारीमा मिनीटिलर हस्तान्तरण गरिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद सुबेदीले जानकारी दिनु भयो।
उहाँको जानकारी अनुसार पहिले गाउँपालिका भित्रका किसानहरुको मागलाई बुझेर हाल सम्म कुनै पनि संघसंस्थाबाट यस्ता कृषि यन्त्रउपकरण नपाएका ५९ जनालाई एक- एक वटा मिनीटिलर वितरण गरिएको बताउनु भयो।













