
तस्वीरः सुशिलबाबु ठकुरी
काठमाडौं – हिजो आइतबार बिहानदेखि सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज विहान फेला परेको छ । मुस्ताङको थासाङ-२ स्थित विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।
मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमान सवार १९ जना यात्रु र चालक दलका सदस्यसहित २२ जना यात्रु सवार थिए ।