News Portal

दुइटा भैंसी किनेर दूध बेच्न थालेका दीपेन्द्रको सफलको कथा!

“६ वटा भैंसीले धानेको छ १४ जनाको परिवार!”

हिमालीसंचार संवाददाता
२१४ पटक

 

काठमाडौं – बाराको सुवर्ण गाउँपालिकाका दीपेन्द्रप्रसाद यादवले यति बेला छ वटा भैंसी पालेका छन्। तीमध्ये चार वटा दुहुना छन्। यो सुख्खा मौसम हो। चारवटाले दैनिक १६ लिटर दूध दिन्छन्। सबै दूध कलैया बजारको एउटा डेरी उद्योगमा बेच्छन्। 

दीपेन्द्रको घरमा १४ जनाको परिवार छ। यति ठूलो परिवारको खर्च मुख्य रूपमा दूधकै आम्दानीले छ। परिवारका लागि यी भैंसी घरपालुवा जनावर मात्रै होइनन्, परिवारकै सदस्य सरह हुन्। दीपेन्द्रका हजुरबुबा, बुबा र आमा भैंसीको स्याहारमा खट्छन्। 

व्यवसायबाट कमाएको पैसाले दीपेन्द्रले छोराछोरी निजी विद्यालयमा पढाएका छन्। सरकारी अनुदानको सामुदायिक विद्यालय निःशुल्क हुन्छ, निजी विद्यालयमा महँगो मासिक शुल्क तिर्नुपर्छ। 

उनी भन्छन्, ‘हाम्रो पेसा नै कृषि हो। वर्षभरि काम गरेर जीविका चलाउनु पर्छ। भैंसी पाल्न थालेपछि सजिलो भएको छ।’ दीपेन्द्रका अनुसार सुख्खा मौसममा दूध उत्पादन घट्छ। यही बेला उनले केही भैंसी बेचे। 

घरमा परिवारका सदस्यसँग रमाएर कमाएको पैसाले उनलाई खुसी मिलेको छ। जाँगर गरे स्वदेशमै आनन्दको जिन्दगी जिउन सकिन्छ भन्ने उदाहरण बनेका छन् दीपेन्द्र।

उनी पैसा कमाउने धुनले केही वर्षअघि मलेसिया पुगेका थिए। परदेशको दुःख र अनुभवले उनलाई स्वदेशमै व्यवसाय गर्ने प्रेरणा दियो। भैंसीपालनमा उनले आफ्नो भविष्य राम्रो देखेका छन्। 

‘एसएलसी परीक्षा दिएपछि साथीको लहलहैमा मलेसिया पुगेको थिएँ,’ दीपेन्द्रले भने, ‘तीन महिनासम्म अपरेटरको तालिम लिएर मासिक ३० हजार रूपैयाँमा काम गरेँ। 

महिनामा ३० हजार कमाइ हुँदा जीविका चलाउन मुश्किल पुग्थ्यो। बचत हुने कुरै भएन। परिवारको जेठो सन्तान भएकाले घरखर्च जुटाउने जिम्मेवारी उनकै बढी हुन्थ्यो। परदेशमा बगाएको पसिनाले उनलाई खुसी दिन सकेन। जति दुःख गरे पनि आम्दानी बढेन। रातदिन काम गर्थे तर कमाएको पैसाले परिवार चलाउन पुगेन। दीपेन्द्रले भने, ‘छोराछोरी पढाउन दुःख गरेँ। विदेश पनि पुगेँ तर कमाइ भएन, रित्तो हात फर्किएँ।’ 

२०७२ सालमा उनी स्वदेश फर्किए। गाउँमै भैंसी पालेर दूध बेच्ने विचार गरे। परदेशबाट रित्तो हात फर्किएका उनलाई लगानीको समस्या थियो। आखिर उनको सहारा बन्यो ‘नेरुडे लघुवित्त’। 

दीपेन्द्रका बुबाका अनुसार परदेश पठाएको छोरो घर फर्किएपछि बैंकबाट कर्जा लिने सल्लाह भयो। लघुवित्तले गाउँका महिलाहरूलाई कर्जा दिन्थ्यो। दीपेन्द्रकी आमा डरवीदेवीको नाममा कर्जा निकाल्ने घरसल्लाह भएअनुसार आमा बरियारपुरस्थित लघुवित्तको कार्यालयमा पुगिन् छोराले गाउँमै पशुपालन व्यवसाय गर्ने सोच बनाएको बताएर कर्जाका लागि प्रस्ताव गरिन्। 

लघुवित्तले प्रस्ताव स्वीकार गर्‍यो। आमाले भैंसीपालनको तालिम पनि लिइन्। भैंसीको गोठ, हेरचाह, आहारा व्यवस्थापन, दूध बढाउने र फाइदा लिने उपायहरूबारे चार दिनको तालिम पाइन्। 

दीपेन्द्रले भैंसीपालन व्यवसायका लागि ‘सागर पशु फर्म’ दर्ता गरे। फार्मकै नाममा यादव परिवारले लघुवित्तबाट पहिलो चरणमा पाँच लाख रूपैयाँ कर्जा लिए। उनीहरूले एक लाख ८० हजारमा दुई वटा भैंसी किने। गोठ बनाए। अन्य आवश्यक व्यवस्थापन गरे।

जसोतसो २०७३ सालमा व्यवसाय सुरू भयो। भैंसीका लागि चाहिने अन्न र घाँस बारीमा उब्जाउन थाले। दीपेन्द्रका अनुसार यसपालि दुई बिघा जमिनमा मकै लगाएका छन्। दूध बजार पठाउने तय भयो। त्यो समय एउटा भैंसीले दैनिक १० लिटरसम्म दूध दिएपछि उनीहरू उत्साहित भए।’सुरूका दिनमै दैनिक २० लिटर दूध बेच्यौं,’ दीपेन्द्रले भने, ‘दूध बेचेको पैसाले लघुवित्तको कर्जा तिर्न सजिलो भयो। घरखर्च पनि राम्रोसँग चल्न थाल्यो।’ 

लघुवित्तको कर्जा किस्तामा तिर्दै गए। आम्दानी बढ्दै गएपछि कर्जा थपेर भैंसी पनि थप्ने योजनाअनुसार अर्को केही महिनामै फेरि उही लघुवित्तबाट एकैपटक ९ लाख रूपैयाँ कर्जा लिए। 

त्यही पैसाले ६ वटा भैंसी किने, गोठ विस्तार गरे। दीपेन्द्रले भने, ‘त्यति बेला सबै खर्च कटाएर मासिक ८० हजारसम्म बचत हुन्थ्यो।’

कामप्रति लगाव भएमा आफ्नै जमिनमा पैसा फलाउन सकिने उनको अनुभव छ। भैंसीपालनबाट सुरू भएको व्यवसाय डेरी उद्योगसम्म लैजाने दीपेन्द्रको योजना छ। उनी छिट्टै भैंसी थपेर १६ वटा पुर्‍याउने तयारीमा छन्। 

दीपेन्द्र आफ्नो गाउँमा उत्पादन हुने दूध किनेर डेरी उद्योग चलाउन चाहन्छन्। गाउँघरमा लघुवित्तले ऋण दिन थालेपछि साहुमहाजन छाडेर सानोतिनो व्यवसाय गर्नेको संख्या बढेको छ। तिनैमध्येका अग्रणी हुन् दीपेन्द्र। 

‘डेरी चलाएर दही, मोही, घिउ र अन्य परिकार बेच्ने योजना छ, काम छिट्टै सुरू गर्छु,’ दीपेन्द्रले भने, ‘गाउँमा बैंक (लघुवित्त) आएपछि हामीले धेरै सेवा पाएका छौं। परदेशबाट रित्तो हात फर्केको थिएँ। बैंकले व्यवसायी बनायो।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...