News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय लज्जा!

    “कहिले पासपोर्टसमेत नभएका व्यक्ति विमानसम्मै पुग्छन्, कहिले अध्यागमनको सर्भर डाउन हुँदा भिसा भएका यात्रु पनि उड्न पाउँदैनन्, अहिले विदेशी यात्रु दुई सय डलर बोकेर आउनुपर्ने अर्को झन्झटिलो प्रावधान”

    हिमालीसंचार संवाददाता
    १३६ पटक

    काठमाडौ – पर्यटनबाट समृद्ध हुने आशा गरेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेशीहरूका लागि बिनासंकोच यस्तो सूचना जारी गरेको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक मात्र एटीएम मेसिन भएको तथा त्यसमा पनि विभिन्न प्राविधिक कठिनाइ भएकाले भिसा, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क भुक्तान गर्न चाहने पर्यटकहरूले हैरानी बेहोर्नुपर्ने अवस्था छ ।

    अध्यागमनमा भीड लाग्ने, पर्यटकहरू लामो लाइनमा लाग्नुपर्ने र भिसा शुल्क नगदमा बुझाउन नसक्दा पर्यटकले प्रवेशाज्ञासमेत नपाउने अवस्था आउन सक्छ । त्यसैले, विद्युतीय कारोबारको यो झन्झटबाट मुक्ति पाउन सबै पर्यटकलाई कम्तीमा दुई सय डलर बराबरको नेपालमा विनिमय हुने मुद्रा लिएर आउन नेपाल अध्यागमन आग्रह गर्दछ ।’

    सर्भर डाउनः अध्यागमन विभागको सर्भर डाउन भएपछि शनिबार अन्तर्राष्ट्रिय उडान नै प्रभावित भए । नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु अध्यागमन कक्षमा घण्टौं उभिनुपरेको थियो ।

    अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीका अनुसार एक सातायता सर्भरमा निरन्तर समस्या छ । ‘तीन वर्षअघि स्थापना गरिएको सर्भरले अहिले चाप थेग्न सकिरहेको छैन,’ शाहीले भने, ‘सर्भर अध्यागमन विभाग कालिकास्थानमा राखिएको छ । १० दिनयता पासपोर्ट स्क्यानिङमा ढिलाइ भइरहेको छ ।’ उनका अनुसार सामान्य अवस्थामा एक जना यात्रुलाई बढीमा तीन मिनेटमा क्लियर गरिन्थ्यो तर अहिले ६ मिनेटसम्म लागिरहेको छ । त्यसले यात्रुको अथाह भीड बढाएको छ । तीन वर्षअघि विभागले करिब ८ करोड रुपैयाँ खर्च गरेर डेटा सेन्टरसहितको नयाँ पूर्वाधार सञ्चालनमा ल्याएको थियो ।

    अनधिकृत व्यक्ति विमानभित्रः गत फागुन ९ को राति अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नै लागेको नेपाल वायु सेवा निगमको जहाजमा अचानक एक व्यक्ति पुगेका थिए जसको साथमा न भिसा थियो न पासपोर्ट । अनधिकृत व्यक्ति विमानसम्मै पुगेपछि खैलाबैला मच्चियो । सीसीटीभी फुटेज अध्ययन गर्दा ती युवा कोटेश्वर/जडीबुटीतर्फको काँडेतार पार गरेर छिरेको पत्ता लाग्यो जब कि विमानस्थलको तारबारमा २४ सै घण्टा सैनिकले पहरा दिन्छन् । छानबिन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति बनेको थियो । तर नर्सरीको तारबार अहिलेसम्म उस्तै छ ।

    विमानस्थल सुरक्षामा चुनौती थपिएको कारण देखाउँदै चार वर्षअघि ‘स्टेराइल एरिया’ मा चलिरहेको रेस्टुरा हटाइएको थियो । तर अहिले विमानस्थल प्रशासनले गुपचुप पुनः सञ्चालन अनुमति दिएको छ । सुरक्षा निकायका उच्च अधिकारीहरू ‘स्टेराइल एरिया’ विमानस्थलको सबैभन्दा संवेदनशील क्षेत्र भएकाले त्यहाँ व्यापार गर्न दिन नहुने लबिइङमा थिए तर सुरक्षा निकायसँग विमानस्थल प्रशासनले समन्वय नै नगरी अनुमति दिएको छ । विमानस्थल अध्यागमनले पनि यसबारे आफूहरूसँग कुनै समन्वय नभएको जनाएको छ । 

    यी तथ्यले अध्यागमन र विमानस्थलबाट प्रदान गरिने सेवा तथा सुरक्षा संवेदनशीलता कति कमजोर छ भन्ने स्पष्ट गरेको छ । विमानस्थल सुरक्षा संवेदनशीलतामाथि लापरबाही र अध्यागमन सेवामा भएका यस्ता सास्ती हटाउन विमानस्थलभित्रका निकायबीच समन्वय भएको देखिँदैन । कमजोरी सतहमा आएपछि जिम्मेवार निकायका अधिकारीहरूमा एकअर्कालाई पन्छाएर उम्किन खोज्ने प्रवृत्ति छ । 

    विमानस्थल सुरक्षा र भौतिक संरचना सुधारसम्बन्धी गृह मन्त्रालयका दुईवटा प्रतिवेदन पनि त्यसै थन्किएका छन् । भिजिट भिसामा जानेको व्यवस्थापन र विमानस्थलको भौतिक संरचना सुधार एवं सरोकारवाला निकायबीच समन्वय गर्नुपर्नेसम्बन्धी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल नेतृत्वको समिति र अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको विमानस्थल सुरक्षासम्बन्धी अर्को समितिका प्रतिवेदन अलपत्र परेका हुन् । प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयनमा सरकार गम्भीर देखिएको छैन ।

    दुवै प्रतिवेदनका सुझाव कार्यान्वयन नहुँदै शुक्रबार विमानस्थल अध्यागमन कार्यालयले विदेशी यात्रु नेपाल आउँदा शुक्रबारबाट अनअराइभल भिसा शुल्क तिर्न साथमा दुई सय डलर बोकेर आउनुपर्ने अर्को झन्झटिलो प्रावधान थोपरिदिएको छ । अरू बेला एटीएमबाट रकम निकालेर विदेशीले भिसा शुल्क तिर्ने गरेकामा अब साथमा डलर पनि बोक्नुपर्ने भएको छ । यसले विदेशीलाई नेपालको अध्यागमन सेवाप्रति नकारात्मक भावना पैदा गर्न बल पुग्ने देखिन्छ । अध्यागमनले यो निर्णय गर्नुअघि विमानस्थल प्रशासनसँग पनि कुनै समन्वय गरेको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत शाहीले अध्यागमन क्षेत्रमा राखिएका एटीएम मेसिन बिग्रिँदा विदेशीले सास्ती व्यहोर्नुपरेका कारण डलर लिएर आउँदा शुल्क भुक्तानी गर्न सजिलो हुने दाबी गरे । 

    विमानस्थल प्रशासनले पर्याप्त एटीएम नराख्दा समस्या निम्तिएको र सहजीकरण गर्न साथमा डलर ल्याए पनि हुने विकल्प अघि सारिएको उनले बताए । ‘अध्यागमनमा भएका एटीएम मेसिनबाट पैसा निकाल्न कहिलेकाहीं समस्या हुने गरेको छ, त्यस्तो बेला भिसाबिना विदेशीलाई बाहिर जान दिन पनि भएन, प्रहरी पहरामा अर्को एटीएमसम्म पुर्‍याउनुपर्ने बाध्यता छ,’ शाहीले भने, ‘कसैले साथमा डलर ल्याएका छन् भने छिटो भिसा प्रक्रिया टुंगिन्छ भन्नलाई सहजीकरण गरिएको हो ।’

    विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भने विमानस्थलको सुरक्षा र संरचनागत सुधारमा देखिएका कमीकमजोरी हटाउन लागिपरेको बताए । पछिल्लो पटक अनअराइभल भिसा शुल्क भुक्तानी गर्न विदेशीले साथमा २ सय डलर बोक्नुपर्ने भनेर अध्यागमनले गरेको निर्णयमा आफूहरूसँग समन्वय नगरिएको उनको भनाइ छ ।

    ‘भिसा शुल्क भुक्तानीका लागि एटीएममा कार्ड स्वाप गर्न अध्यागमन एरियामा अहिले पनि राष्ट्रिय वाणिज्य बैंकका चारवटा एटीएम बुथ छन्, त्यसले पनि पुगेन भनेर जानकारी गराएको भए हामी एटीएमका अरू बुथ पनि थप्थ्यौं,’ ठाकुरले भने, ‘यसरी सेवाग्राहीलाई सास्ती हुने गरी अध्यागमनले एकतर्फी निर्णय गर्दा अरू बेला पनि समन्वयमा समस्या निम्तिन सक्छ, विदेशीले हाम्रो अध्यागमन र विमानस्थलप्रति नै नकारात्मक धारणा बनाउन सक्छन्, यसप्रति सबैले सोच्न आवश्यक छ ।’

    प्रमुख अध्यागमन अधिकृत शाहीले प्रभु बैंकको एटीएममा बारम्बार समस्या आएका कारण विदेशीको चाप कम गर्न डलरको प्रावधानलाई पनि विकल्पमा राखिएको बताए । तर, विमानस्थल कार्यालय प्रमुख ठाकुरले अध्यागमनले गरेको निर्णय गलत भएको बताए ।

    ‘कार्ड स्वाप’ मेसिन नभएरै भिसा शुल्क भुक्तानीमा समस्या भएमा सुधार गर्न सकिन्छ, बुथ थप्न सकिन्छ, आइतबारमात्रै यससम्बन्धमा राष्ट्र बैंक र वाणिज्य बैंकसँग कुरा भइसकेको छ,’ उनले भने, ‘तर, विमानस्थलभित्रका जिम्मेवार निकायबीच समन्वय अभावले सेवा प्रवाह प्रभावित बन्यो भने त्यसले एउटा निकायको मात्रै बदनामी हुँदैन । यसमा सबैको ध्यान जान जरुरी छ ।’ भिजिट भिसा र विमानस्थलको भौतिक संरचना सुधारसम्बन्धी कार्यदल तथा अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको विमानस्थल सुरक्षा व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायबारेका प्रतिवेदन अझै पनि कार्यान्वयनमा आएको छैन ।

    ठाकुरले दुवै प्रतिवेदन कार्यान्वयनका लागि आफूहरू प्रतिबद्ध रहेको दाबी गरे तर प्रतिवेदनमा उल्लेखित सुझावविपरीत विमानस्थल प्रशासनले तीन वर्षका लागि एक व्यापारीलाई स्टेराइल एरियामा रेस्टुराँ खोल्न अनुमति दिएको छ । पोखरेलको समितिले स्टेराइल एरियामा सुरक्षा संयन्त्रलाई खटाउने र सुरक्षा जाँच पार गरेका यात्रुबाहेक अरूको पहुँच दिन नहुने सुझाव दिएको थियो । 

    त्यसविपरीत विमानस्थलले व्यापारीलाई त्यस क्षेत्रमा प्रवेश गराएको छ । ठाकुरले अदालतको आदेशअनुसार स्टेराइलमा रेस्टुरा खोल्न अनुमति दिइएको बताए । यद्यपि त्यहाँ कार्यरत व्यक्तिका गतिविधि निगरानीमा भने आफूहरू सचेत र सजग रहेको उनले जिकिर गरे ।

    विमानस्थल वरिपरिको पेरिमिटर सुरक्षा, बाहिरी पक्षबाट निषेधित क्षेत्रमा हुने सम्भावित प्रवेश रोक्न संरचनागत सुधारलगायत सिफारिस भट्टराई नेतृत्वको समितिले दिएकोमा त्यसलाई पनि कार्यान्वयनमा लगिएको छैन । 

    चार वर्षअघि विमानस्थल भित्र नै रेस्टुराँ चलाउने एक व्यापारी र उनका पारिवारिक सदस्यसहित ५ जना ३६ लाख ६१ हजार रुपैयाँबराबरको विदेशी मुद्रासहित थाइल्यान्ड जान लागेको अवस्थामा स्टेराइल एरियाबाटै पक्राउ परेका थिए ।

    त्यसपछि तत्कालीन गृहसचिव प्रेमकुमार राईले स्टेराइल एरियाबाट रेस्टुराँ हटाएका थिए । चार वर्षपछि पुनः त्यही ठाउँमा विमानस्थल प्रशासनले गुपचुप पुनः रेस्टुराँ चलाउन स्वीकृति दिएको हो  आजको कान्तिपुर दैनिकमा समाचार छ। 

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...