News Portal

चोरी भएको ‘माँ‘ भेटिएपछि कोही खुसीले रोए: कोही बेहोसै भए, अधिकांश खुशीले सडकमा नाचे

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौं। ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट गत माघ ९ गते अन्दाजी तीन सय बर्ष पुरानो २० दिन अधि चोरिएको ‘माँ‘ भगवानको (मुर्ति) हिजो शुक्रबार भेटिएपछि बिहानदेखि स्थानीयको चहलपहल बढेको थियो। ललितपुरको सुनाकोठीका स्थानीय हात हातमा अगरबत्ति, एक आपसमा अविर दलेर खुशी साटी रहेका थिए। यो रौनक कुनै पुरानो जात्रा भन्दा कम थिएन। लामबद्ध भएका श्रदालुहरुको अधि पछि नगर प्रहरी, नेपाल प्रहरी र एम्बुलेसन्स सेवा तैनाथ थिए।

सुनाकोठी बालकुमारी मन्दिरबाट भगवानको मुर्ति हराएपछि स्थानीय बीस दिनदेखि बेचैन भएका थिए। मुर्ति हराएपछि फेलापार्ने ब्यक्तिलाई रु. ५ लाख नगद इनाम दिने धोषणा समेत गरिएको थियो। हिजो बिहान ललितपुर महानगरपालिका -१५ हात्तिवन स्थित बालकुमारीबाट हराएको मुर्ति भेटिएपछि शुक्रबार बिहानदेखि सुनाकोठी गाउ नै खुशीले सडकमा निस्केका थिए। 

ललितपुर वडा नं. २६ का वडाध्यक्ष सुरेश महर्जन आफ्ना साथीहरुसंग मर्निङ वाकमा निस्केका थिए। हात्तिवन स्थित गैरीगाउँको करूणा मन्दिरमा एक जना बुढी आमासंग भेटभयो। आमाले विहान पुजा गर्न आउदादेखि यो बोरा यही लडिरहेको बताईन्। आमाले के हो थाहा छैन्? लडिरहेको छ। कसले ल्याएको हो थाहा छैन। एकचोटि खोलेर हेरिदिनुहुन्छ?’ आमैले यसो भनेपछि सुरेश र उनका साथीहरूले बोरा खोलेर हेर्दा बीस दिनदेखि हराइरहेको बालकुमारीको मूर्ति बोरामा भेट्टाएको थियो।

वडाध्यक्ष सुरेशले मूर्ति देख्नेबित्तिकै वडा नम्बर २७ का अध्‍यक्ष बाबुराज महर्जनलाई फोन गरे, बाबुराज खबर पाउनेबित्तिकै करूणा मन्दिर पुगेका थिए। ‘सुरेशजीले मूर्ति भेटिएको छ, छिट्टै आउनुपर्‍यो भनेर फोन गर्नुभएपछि म तुरून्तै हेर्न गएँ,’ बाबुराजले भने, ‘मैले देख्नेबित्तिकै यो हाम्रै बालकुमारी माईको मूर्ति हो भनेर ठोकुवा गरेँ।’

त्यसपछि वडाध्यक्षद्वयले ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेललाई फोन गरी जानकारी दिएका थिए । उनीहरुले अरू प्रहरी तथा स्थानीयलाई पनि खबर गर्न भ्याए। मूर्ति भेटिएको ठाउँमा चोरको सुराक हुन सक्ने आकलन गरेर त्यो ठाउ डोरी बाँधेर सुरक्षित राखेका थिए।

त्यो भीडमा स्थानीय बाबुराज उभिइरहेका थिए। उनलाई अचानक रिंगटा लागेजस्तो भयो। उनी त्यहीँ ढले। ‘हामीले सम्मान गरेर पुजेका माईलाई आज बोरामा लावारिस देखेपछि मैले आफूलाई थाम्नै सकिनँ। मलाई अलिअलि रिंगटा लाग्यो,’ उनले भने, ‘मेरो आँखाले बिस्तारै देख्नै छाड्यो। म भीडबाट निस्केर बस्ने ठाउँ खोजिरहेको थिएँ, अचानक लडेँ। एउटा साथीले देखेर च्याप्पै समातेछ।’ उनले हिमालीसंचारडटकमसंग बताए। 

घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर भगवान बालकुमारीको मूर्ति महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेल ल्याएको थियो। त्यहाँ कानुनी प्रक्रिया पूरा भएपछि पत्रकार सम्मेलन गरिएको थियो। ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुरका मेयर चिरिबाबु महर्जन, बालकुमारी गुठीका जेष्ठ सदस्यहरू तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। 

प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्मेलनमै उक्त मूर्ति गुठियारलाई हस्तान्तरण पछि गुठियारका जेष्ठ सदस्यले पूजा गरेर मूर्ति ग्रहण गरेका थिए।

उनले मूर्ति ग्रहण गर्नेबित्तिकै एकैछिनमा त्यहाँको माहौल जात्रामा परिनत भयो। स्थानीयले बाजागाजासहित जावलाखेलबाट सुनाकोठीसम्म पैदलयात्रा गरेर बालकुमारी मूर्तिलाई मन्दिरसम्म धुपबत्ति बालेरै मन्दिर ल्याइपुर्‍याए र पूजा गरेर प्रतिस्थापन गरेका थिए। 

यहाँ जुन दिन मूर्ति चोरियो, त्यही दिनदेखि मूर्तिको सट्टा मुकुट राखिएको थियो। स्थानीयले मुकुटलाई नै बालकुमारी माईको सम्झनामा पूजा गरिरहेका थिए। अब फेरि मूर्तिलाई नै पूजा गर्न पाउने भएपछि स्थानीयको खुसी छचल्किएको देखिथ्यो। 

वडाध्यक्ष बाबुराजका अनुसार भगवानको मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सिसिटिभी जडान गरिएको छ। पन्ध्र लाख रूपैयाँ बजेट तय गरी सुनाकोठीका प्रमुख ठाउँहरूमा पनि सिसिटिभी जडान गरिएको उनले जानकारी दिए।

वडाध्यक्षका अनुसार; ‘हामीकहाँ भएका अन्य मूर्ति पनि चोरी नहोस् भनेर सिसिटभी जडान गरिसकेका छौं। यसअघि पनि सिसिटिभी राख्ने योजनामै थियौं तर कोरोनाले ढिलाइ भयो,’ उनले भने, ‘प्रहरी, प्रशासन र स्थानीयको मिहिनेतले दबाव सिर्जना भएर मूर्ति फिर्ता आएको छ। म लगायद स्थानीय ज्यादै खुसी छौ। 

प्रहरीका अनुसार अनुसन्धान बाँकी रहेको बताएको छ। भगवानको मूर्ति भेटिए पनि चोर फेला नपरेसम्म अनुसन्धान नसकिने प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताएका छन्। ‘जबसम्म चोर फेला पार्दैनौं, हाम्रो अनुसन्धान सकिँदैन। यो त एउटा प्रेसर भएर, प्रहरी नजिक पुग्यो भन्ने भएर मूर्ति फिर्ता गर्‍यो होला,’ उनले भने, ‘चोर फेला नपरेसम्म हामी शान्तिले बस्दैनौं।’ अनुसन्धान जारी रहन्छ। 

गत माघ ८ गते मध्यरात मन्दिरका चारवटा ढोकाका ताल्चा फोडेर बालकुमारीको मूर्ति चोरी भएको थियो। चोरले फोडेको ताल्चासमेत चोरले नै लगेको थियो।

भोलिपल्ट बिहान ४ बजेतिर गुठियार प्राणनाथ महर्जन मन्दिर सफा गर्न पुगेका थिए। उनले प्रवेशद्वारदेखि माथिल्लो तलासम्मै ढोका खुल्लै देखेका थिए। मूर्ति चोरी भएको थाहा पाएपछि वडाध्यक्ष बाबुराजले नै प्रहरीलाई खबर गरेका थिए। यो घटनामा अनुसन्धान गर्न प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोली खटिएको थियो।

स्थानीयले पनि शंकास्पद ठाउँहरूमा गएर आफैंले खोजी गरेका थिए। मूर्ति चोर खोज्न विभिन्न विधिबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मूर्ति चोरीमा पेशेवरहरू नै लागेको हुनुपर्ने प्रहरीले अनुमान छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...