बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले आफ्नै खर्चमा क्वारेन्टाइन

काठमाडौँ – बेलायत र दक्षिण अफ्रिकाबाट नेपाल आउने यात्रुले ५ दिन आफ्नै खर्चमा काठमाडौंका होटलमा क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ती मुलुकबाट वा त्यहाँ ट्रान्जिट बनाएर नेपाल आउने विदेशी तथा नेपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका होटलमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।
बेलायत र दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति भीयूआई २०२०–०१ यसअघिको भन्दा बढी संक्रामक रहेकाले त्यसलाई फैलिन नदिन स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन बस्नुपर्ने नयाँ व्यवस्था गरेको हो, जसअनुसार विमानस्थल कार्यालयले बुधबार साँझदेखि लागू हुने गरी उक्त सूचना जारी गरेको हो । नेपालमा बेलायत र दक्षिण अफ्रिकाबाट सिधा उडान छैन ।










