News Portal

डगआउट’मै खुम्चिए सन्दीप

हिमालीसंचार संवाददाता
४५१ पटक

काठमाण्डौ – दुई महिनाअघि क्यारेबियनबाट इन्डियन प्रिमियर लिग आईपीएल खेल्न यूएई आउँदै गर्दा सन्दीप लामिछानेको मनोबल निकै उच्च थियो । यसको प्रमुख कारण क्यारेबियन प्रिमियर लिग सीपीएल’मा देखाएको उच्च प्रदर्शन नै हो । उनी यसपालि आईपीएलमा धेरैभन्दा धेरै खेल खेल्न पाउनेमा विश्वस्त देखिन्थे ।

सन्दीप समावेश दिल्ली क्यापिटल्सले सोमबार डबल राउन्ड रोबिनको खेल टुंग्याउँदा नेपाली युवा स्टारले एउटै खेल खेल्न पाएनन् । सन्दीप दिल्लीको सोसल मिडिया र डगआउटमै सीमित भए। सन् २०१८ जनवरी २९ मा बेंग्लोरमा भएको आईपीएल अक्सनबाट तत्कालीन दिल्ली डेयरडेभिल्सले लेग स्पिन सनसनी सन्दीपलाई न्युनतम २० लाख भारुको भाउ लगाउँदै लिएको थियो । 

दिल्लीले त्यो सिजन आईपीएलमा कमजोर प्रदर्शन गरेको थियो । टोली पुछारमा थन्कियो । 

अन्तिम तीन खेलमा मौका पाउँदा सन्दीपले सम्झनलायक प्रदर्शन गरेका थिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए । गत सिजन सन्दीपले ६ खेलमा ८ विकेट लिँदै सन्दीपले आफू स्तरीय खेलाडी रहेको प्रमाणित गरिसकेका थिए ।

अझ सीपीएलका ११ खेलमा सन्दीपले १२ विकेट लिँदै दुबई आएर ६ दिन क्वारेन्टाइनमा बसेर किंग्स इलेभेन पन्जाबसँगको पहिलो खेलअगाडि तयार भएका थिए । तेस्रो सिजन खेल्दै उनले सीपीएलमा एकै सिजनमा सबैभन्दा बढी विकेट लिएका हुन् ।

 त्यो पनि सन्दीपलाई यस सिजनको आईपीएलको राउन्ड रोबिन लिगमा खेलाउन पर्याप्त भएन । भारतका हस्तीहरू सुनिल गावस्कर, क्रिस श्रीकान्त, सन्जय मान्जेरकर सबैले सुरुआतदेखि सन्दीपले पहिलो रोजाइमा खेल्ने भनेर लख काटिरहेका थिए ।

आईपीएल फ्रेन्चाइज क्रिकेटको विश्वकप हो, जहाँ विदेशी खेलाडीका लागि निकै कठिन हुन्छ । सन्दीपको हकमा पनि यस्तै भयो । टोलीमा समावेश ८ विदेशी खेलाडीमा चारले मात्र प्लेइङ ११ मा खेल्न पाउँछन् । सन्दीपले यसपटक पाउँदै पाएनन् । दिल्लीले ४ विदेशी खेलाडीमा कागिसो राबाडा, एनरिक नोकिआ, मार्कस स्टोइनिस र सिमरन हेटमायरमै बढी विश्वास देखायो ।

खेलाडी घाइते हुँदा होस् वा रणनीतिक हिसाबमा प्रशिक्षक रिकी पोन्टिङको नजरमा डानियल साम्स, एलेक्स क्यारीले विदेशी खेलाडीको कोटामा केही खेलमा मौका पाए । राबाडा र स्टोइनिसले राउन्ड रोबिनका सबै १४ खेल खेले । नोकिआले १३ र हेटमायरले १० खेल खेले । क्यारीको भागमा ३, साम्सको भागमा २ खेल पर्‍यो । भारतीय विकेटकिपर ऋषभ पन्त घाइते भएको समयमा अस्ट्रेलियन खेलाडी क्यारीले मौका पाएका थिए । दिल्लीबाट मौका नपाउनेमा सन्दीप एक्लो खेलाडी होइनन् । वेस्ट इन्डिजका अलराउन्डर किमो पाउलले पनि एउटै खेलमा मौका पाएनन् । एक समय भारतको जर्सी लगाइसकेका मोहित शर्मा पनि सन्दीपसँगै डगआउटमै खुम्चिए ।

दिल्लीको टोलीमा स्तरीय खेलाडीको कुनै अभाव थिएन । अझ स्पिनमा अनुभवी खेलाडीको ओइरो नै थियो । रविचन्द्रन अश्विन, अमित मिश्रा र अक्षर पटेल गरी तीन स्तरीय त्यसै थिए । पोन्टिङले एकै पटक तीन स्पिनर कहिल्यै खेलाएनन् । अस्ट्रेलियाका पूर्व कप्तानको यो रणनीतिअनुसार सन्दीपको पालो आउने त कुरै भएन । 

अश्विन पहिलो खेलमै घाइते हुँदा पोन्टिङले मिश्रा र पटेललाई खेलाए । मिश्रा घाइते भई प्रतियोगिताबाटै बाहिरिँदा अश्विन र पटेलप्रति विश्वस्त देखिए । मिश्राले खेल्न नसक्ने भएपछि सन्दीप सम्भावना फेरि एक पटक उर्लेर आएको थियो । किनभने मिश्रापछि दिल्लीको टोलीमा सन्दीप एक्लो लेग स्पिनर थिए । मिश्राको स्थानमा ल्याइएका अर्का लेग स्पिनर प्रविण दुबेले बरु एक खेलमा मौका पाए, तर सन्दीपको पालो आएन ।

आईपीएलले आधा यात्रा तय गर्दा दिल्लीले सन्दीपलाई ‘मिड सिजन ट्रान्सफर’ सूचीमा पनि राखेको थियो । सम्भवतः सन्दीपलाई अन्य फ्रेन्चाइज टोलीबाट प्रस्ताव पनि आएन वा दिल्लीले सन्दीपलाई छाडेन । सन् २०१८ को अक्सनअनुरुप सन्दीपको दिल्लीसँगको तीनवर्षे सम्झौतामा यो अन्तिम वर्ष हो । तर कोरोनाका कारण यो वर्ष अर्को अक्सन हुने छैन र मार्च/अप्रिलमा हुने भनिएको अर्को संस्करणको आईपीएलमा सन्दीपले दिल्लीबाटै खेल्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण भारतबाट आइपीएल यूएई सारिएको थियो । दिल्लीको टोलीमा यूएईको भूमि सम्भवतः सन्दीपले सबैभन्दा राम्रोसँग बुझेका थिए । सन्दीपले यूएईमा एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, अफगान प्रिमियर लिगदेखि टी–१० लिग सबै यूएईमा खेलेका थिए । जबकि धेरै भारतीय र विदेशी खेलाडीका लागि यो भूमि बिरानो जस्तै थियो । ब्याटिङ र केही हदसम्म फिल्डिङमा सन्दीप कमजोर थिए । सम्भवतः दिल्लीले सन्दीपको यही कमजोर पक्ष खोतलिरह्यो, मुख्य हतियार उनको बलिङलाई विशेष देखेन ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...