News Portal

कलिला ८ बर्षीय बालकले धरबार हेर्छन्, धर खर्च जुटाउछन्

गत वर्ष बाबु बिते, आमाका दुवै मिर्गौला फेल

हिमालीसंचार संवाददाता
४९१ पटक

दाङ – समीर जीसी ८ वर्षका भए । उनी एक कक्षामा पढ्छन् । पढ्नुबाहेक पनि उनको अर्को ठूलो पिरलो छ। आमा राधाका लागि उपचार खर्च जुटाउने । उनी बिहानै उठ्छन्, बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन् ।

घोराहीस्थित जिल्ला अदालतको गेटअगाडि रहेको ढ्याब्ली पसलमा राख्छन् । अनि साहुजी बनेर सामान बेच्छन् । त्यसैबाट जुटेको पैसाले घर खर्च चलाउँछन् । उनका बाबु पृथ्वी जीसी लामो उपचारपछि पनि निको भएनन् । २४ वर्षकै उमेरमा जन्डिसका कारण ०७५ पुस २९ मा निधन भयो । गत वर्ष कात्तिकमा आमाका दुवै मिर्गौला फेल भए । उनी सातामा तीन पटक डायलसिस गर्न २३ किलोमिटर यात्रा गरेर लमही पुग्छिन् । औषधि र गाडीभाडा गरी सातामा ३ हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ । 

समीरका चार वर्षका भाइ सम्राट पनि छन् । आमा र भाइको ख्याल गर्नुपर्ने दायित्व समीरको काँधमा आएको छ । सानै उमेरमा समीरले सबै काम सिकिसकेका छन् । ‘बजार गएर सामान किन्छु अनि यहाँ लिएर मिलाएर राख्छु अनि ग्राहक आएपछि सामान बेच्छु, हिसाब राख्छु,’ उनले भने, ‘दिनभरी सामान सकिएपछि फेरि अर्को दिन बिहानै बजार गएर सामान किन्छु ।’ चाउचाउ, बिस्कुट, सुर्ती, पानीलगायत सामान बिक्री हुन्छन् । उनी ग्राहकको मागअनुसारका सामान बेच्छन् । दिनमा ५ सय रुपैयाँ जतिको बिक्री हुने गरेको उनले बताए । विद्यालय खुलेका बेला उनले साँझबिहान पसल खोल्थे, दिउँसो आमालाई पसलमा राख्थे । अहिले कोरोनाका कारण विद्यालय नचलेकाले उनले दिनभर पनि पसल हेर्न पाएका छन् । ‘आमाको खुट्टा र जीउ सुन्निएको छ । बेलाबेला बिरामी भइराख्नुहुन्छ । त्यसकारण काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘आमाले नसक्दा पसल बन्द नै हुन्छ ।’

राधा मिर्गौला फेर्न सक्ने अवस्थामा छैनन् । डायलसिसले काम गर्दासम्मलाई जीवनको आस गरेर बसेकी छिन्। छोराहरूको अवस्था देखेर रोइरहन्छिन् । ‘मैले केही गर्न सक्दिनँ । छोराहरूलाई कसरी पढाउने, पाल्ने भन्ने चिन्ता छ । यति सानो उमेरमा छोराहरूले दुःख पाउने भए,’ उनले भनिन्, ‘उपचार खर्च कताबाट जुटाउने भन्ने तनाव छ । बाँच्नु र मर्नु बराबर छ । छोराहरूको मुख हेरेर बाँचेकी छु ।’

समीरका हजुरबुबा कृष्णबहादुर जीसी पनि घरको अवस्था देखेर साह्रै पीडामा छन् । कृष्णलाई एकै वर्ष ठूलो बज्रपात पर्‍यो । घोराहीस्थित साल्ट ट्रेडिङ कम्पनीमा कार्यालय सहयोगीका रूपमा काम गर्ने जीसीले एक वर्षमा श्रीमती र दुई छोरा गुमाए । त्यही बेला बुहारीका दुवै मिर्गौला फेल भए । पाँच छोरामध्ये साइँलो छोरा पृथ्वीको जन्डिसका कारण मृत्यु भयो । उनलाई बचाउन कृष्णले धेरै प्रयास गरे ।

नेपालगन्ज, बुटवल लगेर उपचार गरे तर पनि बचाउन सकेनन् । साइँलो छोराको मृत्यु भएको नौ महिनापछि गत असोज ११ गते कान्छो छोरा प्रदीपको १७ वर्षको उमेरमा बसको ठक्करबाट घोराहीमै मृत्यु भयो । त्यसको एक महिनापछि उच्च रक्तचापका कारण साइँली बुहारी राधाका दुवै मिर्गौला फेल भए । त्यसको दुई महिनापछि पुस ३ गते श्रीमती लक्कीको रक्तचाप कम भएर उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

यी सबै घटनाका भुक्तभोगी कृष्णलाई जीवन फिल्मजस्तै लाग्छ । एकै वर्षमा भएका यी नराम्रा घटनाले उनलाई झस्काइरहन्छन् । पाँच छोरामध्ये जेठोले प्यूठानको बिजुवारमा मोबाइल पसल गर्छन् । माइलोले घर पेन्टिङको काम गर्छन्, काइँलो १२ कक्षा पढ्दै छन् । कृष्णलाई यी सबै समस्या धान्न कठिन भएको छ । उनको जन्मस्थल प्यूठानको पुण्यखोला हो ।

जागिरको सिलसिलामा उनले ३७ वर्षअघि प्यूठान छाडेका हुन् । सात वर्ष साल्ट ट्रेडिङ कृष्णनगरमा बसे । त्यसपछि दाङ सरुवा भयो । दाङमा मात्रै ३० वर्ष बसिसके । अदालतअगाडि रहेको साल्ट ट्रेडिङकै जग्गामा सानो झुप्रो बनाएर बसेका छन् । त्यही छेउमै बुहारी र नातिहरू ढ्याब्ली पसल गरेर बसेका छन् । उनीहरूको संरक्षक कृष्ण नै बनेका छन् ।

घोराहीमा अरू सम्पत्ति केही छैन । जागिरको कमाइले घोराहीमा एउटा घडेरी किनेका थिए । श्रीमतीलाई प्यारालाइसिस भएर एक भाग शरीर नचल्ने भएपछि उनले यसअघि ३ वर्ष भारतमा बसेर उपचार गरेका थिए । त्यो पैसा सबै सकियो । त्यसपछि पनि श्रीमती र छोराको उपचारमा उनलाई ऋण लाग्यो । जागिरले खर्च पुग्ने अवस्था भएन । उनले प्रत्येक शनिबार खसी काटेर बेच्ने काम गर्थे । दिनमा ७/८ वटा खसी कट्थ्यो । त्यसबाट ६/७ हजार आम्दानी हुन्थ्यो ।

‘श्रीमतीले मर्ने बेला यो काटमारको काम बन्द गर्नू, मासु खान मन लागे किनेर खानू भनी,’ आँखाभरि आँसु पार्दै उनले भने, ‘त्यसपछि मैले ३० वर्षदेखि गर्दै आएको खसी काट्ने काम छोडिदिएँ ।’ अहिले उनी बिहान ३ बजे उठेर पाउरोटी उद्योगमा पुग्छन् । ४ बजेसम्म पाउरोटी तयार पार्छन्, अनि घोराहीका पसल पसलमा बेच्दै हिँड्छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...