आज : २०२६-०७-१२, आइतबार

कविता – मुटुको क्षेत्रफल

उनको मुटुको क्षेत्रफल नाप्दै जादा
सबैभन्दा ठूलो हिस्सा उनको चाहनाको देखियो
देखिन योग्य मनग्य भूभाग उनको श्रीमतीको पनि देखियो
त्यहीँ कतै एक आनाजती घडेरी उनको आमाको रहेछ,
जहाँ- त्यतै आमाकै घडेरीमा दागजस्तो आकारमा हराए झैँ “बा” को घडेरी पनि देखियो।

नाप्ने ठाउँ सक्किएर
जब उनी हिड्दै सहिदगेट पुगे,
एक्कासी कुनै ठुलै घडेरी स्पष्टरूपमै देखिन आयो
जो देशभक्तिको थियो
तर धेरै अगाडि धुमील भै हराइसकेको थियो।

– सन्तोष अधिकारी
कास्की, हाल: काठमाडौं