
काठमाडौं – नेपाल सरकारले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन्। यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै सरकारलाई पत्र नै पठाएको छ।
संसद राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन्। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यूएईले ‘दुई वटा विमान आउने जानकारी सहितको पत्र पठाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सरकारले तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था नभएको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८ सय ७१ जना तुरुन्तै नेपाल फर्काउनुपर्ने अवस्था रहेको छ। विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५ सय ३० नेपाली स्वदेश फर्किन चाहेका छन्।
भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन्। ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा सरकारको तयारी अघि बढेको छ,’ उनले भने। भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने उनले बताए। ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने हुन्छ।’
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार यो समयमा विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता नेपाल सरकारसँग छैन। ‘भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुने समेत बताए। भारतका सिमानामा अलपत्र परेका नागरिकको व्यवस्थापनका लागि गृह मन्त्रालयले तयारी गरिरहेको छ। ‘आजभोलि नै यो विषय टुगोमा पुगिने समेत बताएको हो। रासस
