उर्लावारीका मेयर फागोले एक दर्जन कम्युनिष्ट कार्यकर्तालाई कांग्रेसमा भित्र्याए
उर्लाबारी – मोरङ उर्लाबारीका नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध रहेका एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस विजयी भएको उर्लावारी नगरपालिकामा भएका सकारात्मक प्रयासको प्रभाव स्वरुप नेकपाका स्थानिय कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको स्थानिय कांग्रेस कार्यकर्ताहरुले बताएका छन्।
उर्लाबारी–८ की इन्द्र चौधरी, पुष्पा चौधरी, जल चौधरी, कृष्णा भुजेल, सञ्जा यादव, जानुकादेवी भुजेल, पुष्पाकुमारी राई, उर्लाबारी–९ की गीता अधिकारी, निराश लिम्बु, चन्द्र गुरुङलगायत कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसले उर्लाबारीको दुर्गापुरीस्थित चुम्लुङ भवनमा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन्। नवप्रवेशीलाई कांग्रेस क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले अविर लगाएर स्वागत गरे।
नवप्रवेशीहरुलाई स्वागत गर्दै फागोले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा कांग्रेसको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। निरकुंश जहानियाँ राणा शासनको अन्याय र अत्याचारविरुद्ध क्रान्ति गरेर आएको कांग्रेस सबै जातजातिको साझा पार्टी भएको फागोले बताए।
सर्वहारा गरीब जनताको पार्टी भन्दै झूट्को राजनीति गर्ने कम्युनिष्ट पार्टी एकल जातीय भएको समेत उनको आरोप थियो।फागोले विकास निर्माणको काममा कसैलाई पक्षपात नगरिएको बताए। विकास निर्माणमा सबैको सहभागिता अपरिहार्य हुने र आवश्यकता अनुसारको विकास निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाई थियो।
कांग्रेस उर्लाबारी–८ र ९ का संयोजक बाबुराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य प्रकाश थापा, महासमिति सदस्य ललित अधिकारी, क्षेत्रीय सदस्य गोपाल कटवाललगायतले धारणा राखेका थिए। (हाम्राकुरा)
















