
काठमाडौं – आगामी २४ घण्टामा दिल्ली र आसपासका क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणीले जनतामा त्रासको वातावरण सिर्जना गरेको छ । यो दाबी विकास जियोसेसिङ प्राइभेट लिमिटेडका निर्देशक विकास कुमारले गरेका हुन् । तर राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) ले यो दाबी पूर्णतया निराधार भएको भन्दै अफवाहमा ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
भूकम्पको पूर्वानुमानको दाबी विकास कुमारले आफ्नो विज्ञप्तिमा आफ्नो भूकम्प पूर्व चेतावनी प्रणाली (एन्डिएसएस) मार्फत दिल्ली र नेपालको सीमामा भूकम्पको संकेत प्राप्त भएको बताए। उनका अनुसार दिल्लीबाट १०० किलोमिटर टाढा उत्तर–दक्षिण दिशामा ३ देखि ५ म्याग्निच्युडको भूकम्प आउन सक्छ ।
नेपालको सीमा क्षेत्रमा ५ देखि ७ रेक्टर स्केलको भूकम्प जाने सम्भावना रहेको छ । अबको २४ घण्टामा यो भूकम्प आउन सक्छ । विकास कुमारले आफ्नो गणेश नगर, पाण्डव नगर, दिल्लीमा जडान गरिएको उपकरणले यस्तो चेतावनी दिएको बताए। उनले मानिसहरूलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न सुझाव दिए।
