News Portal

चौविस प्रमुख नेताहरूमध्ये कति नेतालाई संसदमा देख्न पाइएला

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाडौँ – विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन्। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री डा.शशाङ्क कोइराला र सभापतिमा पराजित नेताहरू रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला, नेकपा (केपी)का अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र ‘महासचिवबाट अपदस्थ नेता’ ईश्वर पोखरेल, नेकपा (प्रचण्ड-नेपाल)का अध्यक्ष प्रचण्ड, द्वित्तीय अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता एवम् वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, पूर्वअध्यक्ष झलनाथ खनाल, ‘एकीकृत’ नेकपाको उपाध्यक्ष बामदेव गौतम, राप्रपाका डा.प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापा, मधेशकेन्द्रित समूहका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई तथा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहित कुल चौबिस जनालाई देशको मूख्य नेताका रूपमा लिइन्छ। उनीहरूमध्ये कति जनाले आगामी निर्वाचनमा विजय हासिल गर्न सक्लान्, आमजिज्ञाशाको विषय बनेको छ।

नेकपाको विभाजनले काङ्ग्रेसभित्र उत्साह थपेको भएपनि आगामी निर्वाचनमा ‘एक बाम एक ठाउँ’को नीति नलिइएला भन्न सकिँदैन। कदाचित बामपन्थी कम्युनिष्टहरू ‘एक’ भएर चुनावी मैदानमा आएनछन् भने पनि काङ्ग्रेसभित्रको सत्ता सङ्घर्षले चुनावमा रङ्ग देखाउने निश्चित छ।

संसदीय दलमा आफू स्पष्ट बहुमतमा रहने गरी ‘टिकट वितरण’ गर्ने प्रयास काङ्ग्रेसका दुवै घटकबाट हुनेछ र, त्यसको असर चुनाव क्षेत्रमा पनि राम्रैसँग देखापर्ने सम्भावना छ। यस स्थितिमा सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट पुनः विजयी बन्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ।

रामचन्द्र पौडेललाई फेरि पनि काङ्ग्रेसभित्रैबाट पराजित गराइने सम्भावना छ। समानुपातिकमा नबस्ने हो भने रामचन्द्रका निम्ति संसद् धेरै टाढाको गन्तव्य बन्ने अवस्था छ। विमलेन्द्र निधि र कृष्ण सिटौला पनि काङ्ग्रेसको आन्तरिक द्वन्द्व र निर्वाचन क्षेत्रमा गुम्दो शाखका कारण विजयी बन्न सक्नेमा देखिँदैनन्। तर, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशाङ्क कोइराला भने निर्वाचनमा सफल बन्न सक्ने देखिन्छन्।

नेकपा प्रचण्ड समूहका ४ प्रमुख नेतामध्ये सबैभन्दा कमजोर स्थिति प्रचण्ड, झलनाथ र माधव नेपालको देखिन्छ। निर्वाचनपिच्छे चुनाव क्षेत्र बदल्दै आएका प्रचण्ड यतिबेला चितवन छोडेर अन्यत्र जान सक्ने अवस्थामा छैनन्, चितवनमा उनको पराजय निश्चित मानिन्छ। त्यस्तै, माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि सम्भावित विजयीको कोटिमा राख्न मिल्ने आधार भेटिँदैन।

नेपालको जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि माधव नेपाल र झलनाथ खनालले प्रतिनिधिसभामा पाइला राख्न सक्ने सम्भावना क्षीण भएको छ। तर यसपटक बाबुराम भट्टराईलाई काङ्ग्रेसले बोकेन र प्रचण्डले अन्तर्घात गराएनन् भने, नारायणकाजी श्रेष्ठ गोर्खाबाट विजयी भएर प्रतिनिधिसभामा पुग्ने प्रबल सम्भावना छ।

हाल एकताका पक्षमा आवाज उठाउँदै आउनुभएका बामदेव गौतमले ‘सूर्य’ चिन्ह लिएर चुनावमा लड्ने निश्चित मानिन्छ। उनको निर्वाचन क्षेत्रमा माओवादी पनि बलियो स्थितिमा रहेकोले विपक्षी उम्मेदवारसँग कडा टक्करको सम्भावनामा देखिन्छ। तर चुनावी परिणामले गौतमलाई कहाँ पुर्‍याउने हो, अहिले नै यकीन साथ भन्न सकिँदैन।

नेकपा (केपी) पक्षका ४ प्रमुख नेतामध्ये अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल कडा प्रतिष्पर्धाका बीचबाट सफलता प्राप्त गर्न सक्नेमा पर्छन्। तर, सुवास नेम्वाङ र ईश्वर पोखरेलका निम्ति आगामी निर्वाचन ‘फलामको च्यूरा’ बन्ने निश्चित छ। नेम्वाङ र पोखरेलले आ-आफ्नो निर्वाचन क्षेत्रबाट विजय हात पारे भने त्यो आश्चर्यको विषय हुनेछ।

राप्रपाका कुनै पनि प्रमुख नेताहरू प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लडेर विजयी बन्न सक्ने हैसियतमा छैनन्। त्यसैले नेताहरू सबैले समानुपातिकमा बसेर प्रतिनिधिसभा प्रवेशको मार्ग सुनिश्चित गर्ने सम्भावना छ।

क्षेत्रियतावादी दल जसपाका प्रमुख ३ नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराईमध्ये ठाकुर र यादव पुनः विजयी भएर संसदमा पुग्न सक्ने सम्भावना देखिन्छ। तर, डा.बाबुराम भट्टराई भने अबको चुनावबाट प्रत्यक्ष उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य बन्न सक्ने अवस्थामा छैनन्। काङ्ग्रेसले गोर्खामा अब आफ्नै उम्मेदवार बनाउने पक्कापक्की छ भने, प्रचण्डले पनि नारायणकाजीलाई पुनः अन्तर्घात गर्ने सम्भावना देखिएको छैन। त्यसैले बाबुराम पुनः गोर्खामै उम्मेदवार बन्ने हो भने, उनले प्रतिनिधिसभामा पाइला टेक्न पाउने अपेक्षा गर्न सकिँदैन।

अबको निर्वाचनमा चित्रबहादुर केसीको पनि विजयको सम्भावना क्षीण हुँदै गएको छ। तर, नेमकिपाका नारायणमान बिजुक्छेको भने पुनः विजयको सम्भावना छ। आगामी संसदीय निर्वाचन नारायणमान बिजुक्छेका निम्ति अन्तिम हुन सक्ने ठानिन्छ, यसपछिका अन्य कुनै निर्वाचनमा बिजुक्छे चुनाव लड्न समर्थ रहने ठानिँदैन। त्यसैले भक्तपुरबासीले अन्तिम एकपटकका निम्ति बिजुक्छेलाई रोज्ने सम्भावना देखिन्छ।

यसरी विभिन्न राजनीतिक दलका कुल २४ प्रमुख नेतामध्ये ८ जनाले मात्र प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गरेर संसदमा पुग्न सक्ने देखिएको छ। त्यस्ता ८ भाग्यमानीमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शशाङ्क कोइराला, केपी शर्मा ओली, विष्णु पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर र नारायणमान बिजुक्छे मात्र रहेका छन्। बाँकी १६ प्रमुख नेताले प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गरेर विजय हासिल गर्न सक्ने सम्भावना अत्यन्त क्षीण मात्र छ। प्रचण्ड – नेपाल पक्षीय नेकपाका प्रमुख तीन नेतालाई आगामी संसदीय निर्वाचनपश्चात प्रतिनिधिसभा सदस्यको हैसियतमा देख्नु नपर्ने अवस्था अहिले देखिएको छ। (घटना र विचार)

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...