News Portal

प्याराग्लाइडिङको परीक्षण उडान सफल

हिमाली संचार संवाददाता
४६८ पटक

कास्की । माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रुपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।

लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटनसमेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो । अर्मलाबाट उडेका प्याराग्लाइडिङले मैदानमा बल खसालेर अवतरण गरेको थियो । विगतमा समेत सराङकोटबाट उडेका ग्लाइडर अर्मलामा अवतरण गरेर पुनः हावा भरेर उड्ने गर्दथे तर अहिले अर्मलाडाँडाबाट उडान भरेर तल बस्तीमा अवतरण सफल भएसँगै यस ठाउँको प्रवद्र्धनमार्फत प्याराग्लाइडिङको गन्तव्य बनाउने योजना अघि सारिएको छ ।

अर्मलासम्म पुग्न गाउँपालिकाले ६ महिनाअघि सडक निर्माण गरेको थियो । बस्तीबाट तीन किमी उकालो चढेर पुगिने सो स्थानमा सडक सुविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ । पोखरा नजीकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको अनुमतिसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सघाउने विश्वास लिइएको छ ।

विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनसमेत अर्मलाको विकल्प नरहेको भनाइ गाउँपालिकाको छ । अर्मलाबाट उडान भर्नुभएका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोटभन्दा पनि तुलनात्मक रुपमा सहज र अनुकूल रहेको बताए ।

हावाको चापसमेत अनुकूल रहेको बताउँदै हिमशृङ्खला, वनजङ्गल तथा सुन्दर गाउँ र पोखरा शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसको भविष्य सुन्दर रहेको उनले उल्लेख गरे । ‘प्याराग्लाइडिङ उडानका लागि जति हुनुपर्ने हो सबै हिसाबले उपयुक्त छ, यहाँ हावाको चाप राम्रो छ, केही स्लोप मिलाउन बाँकी छ, त्यसपछि यहाँ उडान अवतरण सबै हिसाबले उपयुक्त छ’, गौतमले भने ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अर्मलाडाँडालाई प्याराग्लाइडिङकै रुपमा विकास गर्ने उद्देश्यले सडक सुविधा पु¥याइएको जानकारी दिए । वडाको बजेट रु १० लाख तथा स्थानीयवासीको रु १५ लाख गरी रु २५ लाख लागतमा गाउँदेखि डाँडासम्म सडकको ट्र्याक खोलिएको उनको भनाइ छ । पोखरा–बाग्लुङ राजमार्गको मिलनचोकदेखि गाउँपालिकासम्मको सडक स्तरोन्नति गरी कालोपत्र शुरु भएकाले समेत स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि सहज हुने उनी बताउँछन् ।

‘गाउँपालिकाको कोलेली र अर्मलामा प्याराग्लाइडिङको असाध्यै धेरै सम्भावना छ, प्याराग्लाइडिङसँगसँगै अर्मलामा रहेको प्रसिद्ध देउराली मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटकसमेत भित्र्याउने योजना छ’, दवाडीले भने । अर्मलामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव छ भन्ने प्रचारका लागि सयौँको उपस्थितिमा प्रदेशस्तरीय फुटबलका अवसरमा प्याराग्लाइडिङबाट बल खसाल्दै मैदानमा अवतरण गराइएको सोही वडाका वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...