News Portal

प्याराग्लाइडिङको परीक्षण उडान सफल

हिमाली संचार संवाददाता
४९८ पटक

कास्की । माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रुपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।

लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटनसमेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो । अर्मलाबाट उडेका प्याराग्लाइडिङले मैदानमा बल खसालेर अवतरण गरेको थियो । विगतमा समेत सराङकोटबाट उडेका ग्लाइडर अर्मलामा अवतरण गरेर पुनः हावा भरेर उड्ने गर्दथे तर अहिले अर्मलाडाँडाबाट उडान भरेर तल बस्तीमा अवतरण सफल भएसँगै यस ठाउँको प्रवद्र्धनमार्फत प्याराग्लाइडिङको गन्तव्य बनाउने योजना अघि सारिएको छ ।

अर्मलासम्म पुग्न गाउँपालिकाले ६ महिनाअघि सडक निर्माण गरेको थियो । बस्तीबाट तीन किमी उकालो चढेर पुगिने सो स्थानमा सडक सुविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ । पोखरा नजीकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको अनुमतिसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सघाउने विश्वास लिइएको छ ।

विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनसमेत अर्मलाको विकल्प नरहेको भनाइ गाउँपालिकाको छ । अर्मलाबाट उडान भर्नुभएका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोटभन्दा पनि तुलनात्मक रुपमा सहज र अनुकूल रहेको बताए ।

हावाको चापसमेत अनुकूल रहेको बताउँदै हिमशृङ्खला, वनजङ्गल तथा सुन्दर गाउँ र पोखरा शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसको भविष्य सुन्दर रहेको उनले उल्लेख गरे । ‘प्याराग्लाइडिङ उडानका लागि जति हुनुपर्ने हो सबै हिसाबले उपयुक्त छ, यहाँ हावाको चाप राम्रो छ, केही स्लोप मिलाउन बाँकी छ, त्यसपछि यहाँ उडान अवतरण सबै हिसाबले उपयुक्त छ’, गौतमले भने ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अर्मलाडाँडालाई प्याराग्लाइडिङकै रुपमा विकास गर्ने उद्देश्यले सडक सुविधा पु¥याइएको जानकारी दिए । वडाको बजेट रु १० लाख तथा स्थानीयवासीको रु १५ लाख गरी रु २५ लाख लागतमा गाउँदेखि डाँडासम्म सडकको ट्र्याक खोलिएको उनको भनाइ छ । पोखरा–बाग्लुङ राजमार्गको मिलनचोकदेखि गाउँपालिकासम्मको सडक स्तरोन्नति गरी कालोपत्र शुरु भएकाले समेत स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि सहज हुने उनी बताउँछन् ।

‘गाउँपालिकाको कोलेली र अर्मलामा प्याराग्लाइडिङको असाध्यै धेरै सम्भावना छ, प्याराग्लाइडिङसँगसँगै अर्मलामा रहेको प्रसिद्ध देउराली मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटकसमेत भित्र्याउने योजना छ’, दवाडीले भने । अर्मलामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव छ भन्ने प्रचारका लागि सयौँको उपस्थितिमा प्रदेशस्तरीय फुटबलका अवसरमा प्याराग्लाइडिङबाट बल खसाल्दै मैदानमा अवतरण गराइएको सोही वडाका वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...