News Portal

पोखरामा उपनिर्वाचनको तयारी तीव्र

हिमाली संचार संवाददाता
७२५ पटक

कास्कीं ११, २०७६ कार्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्ने लगायतका आवश्यक तयारी गरेको छ भने दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्।

देशभरमा प्रतिनिधिसभाको एक मात्र क्षेत्रमा उपनिर्वाचन हुने भएकाले अहिले कास्कीको निर्वाचन क्षेत्र नं २ राजनीतिको केन्द्रमा रहेको छ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो।

दलहरुले अन्यत्रभन्दा यहाँको उपनिर्वाचनलाई विशेष महत्वका साथ लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेका बीचमा मुख्य प्रतिस्पर्धा हुने यहाँ निर्वाचनको मिति घोषणासँगै दलका शीर्ष नेताको आउजाउ बाक्लिएको छ।

अन्य साना दलले पनि उम्मेदवारीका लागि आन्तरिक तयारी गरेका छन्। सत्तारूढ नेकपाले स्व. अधिकारीका धर्मपत्नी विद्या भट्टराईलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर पार्टी केन्द्रमा सिफारिस गरेसँगै नेकपाबाट भट्टराईनै उम्मेदवार बन्ने निश्चित देखिएको छ।

नेपाली काङ्ग्रेसले भने निर्वाचनमा उठ्ने चाहना राखेका १६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ। अघिल्लो चुनावमा पराजित देवराज चालिसेसहित खेमराज पौडेल, सोभियत बहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, गुरुप्रसाद बराल, बिमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की, निर्मलप्रसाद कर्माचार्य, केशर निर्दोषी, रङ्गीला आचार्य, विजयराज आचार्य र मधु बाँस्तोलाको नाम कास्की काङ्ग्रेसले केन्द्रमा सिफारिस गरेको छ।

साझा पार्टीले केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार चयन गरे पनि अन्य साना पार्टीले निर्णय गरिसकेका छैनन्।

समाजवादी पार्टीबाट किरण थापा, धर्म गुरुङ र रामबहादुर नेपालीको नाम चर्चामा छ। नेकपा र काङ्ग्रेस दुवैले निर्वाचनलाई ‘मिनी’ जनमत सङ्ग्रहको रूपमा लिएर निर्वाचन जित्ने तयारीमा छन्।

चुनावलाई केन्द्रित गरेर नेकपाले चुनाव क्षेत्रका सबै वडामा कार्यकर्ता प्रशिक्षण, सङ्गठन सुदृढीकरण, भेला सम्पन्न गरेको पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले बताए।

उनले भने, ‘निर्वाचन हाम्रा लागि विशेष महत्वको छ। हामीले लगातार जित्दै आएको क्षेत्रमा पुनः विजयी हुँदै पार्टीको पक्षमा जनमतलाई कायमै राख्छौँ।

निर्वाचनमा सोहीअनुसार तयारी गर्दछौँ।’ नेकपाले चुनावलाई लक्षित गरेर यही कात्तिक १६ गते जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ। विगतमा तीन पटकसम्म विजयी हासिल गरेको सो क्षेत्रबाट पुनः विजयी हुँदै पार्टीको पक्षमा जनमत नघटेको सन्देश दिने नेकपाको योजना छ।

दुई तिहाइ बहुमतसहितको वर्तमान सरकारको पक्षमा जनमत घट्दै गएको भन्ने विपक्षीको दाबीलाई गलत सावित गर्न पनि नेकपालाई चुनाव जित्नै पर्ने दबाब छ।

उपनिर्वाचन जित्दैमा सरकार फेरबदलमा गणितीय अर्थ नरहे पनि प्रतिपक्ष नेपाली काङ्ग्रेस निर्वाचन जितेर वर्तमान सरकारको लोकप्रियता घटेको देखाउन चाहन्छ।

विजय हासिल गरेको खण्डमा पार्टी कार्यकर्तामा उत्साह छाउने र अर्को निर्वाचनका लागि नैतिक बल प्राप्त हुने भएकाले पनि काङ्ग्रेसले चुनावलाई महत्व दिएको काङ्ग्रेसका जिल्ला सभापति कृष्ण केसी बताउँछन्।

अघिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर बढिरहे पनि समानुपातिकतर्फ पार्टीले राम्रो मत पाएकाले काङ्ग्रेसले जितको आशा राखेको छ।

अधिकारीको व्यक्तित्वको कारणले उनले निर्वाचन जितेको काङ्ग्रेसको आकलन छ। विसं २०७४ को प्रनिनिधिसभा निर्वाचनमा स्व. अधिकारीले काङ्ग्रेसका उम्मेदवार चालिसेलाई आठ हजार ५४६ मतान्तरले पराजित गरेका थिए।

अधिकारीले २७ हजार २०७ मत प्राप्त गर्दा चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतमा ४९ हजार ९०६ मत खसेको थियो। यसपटक अघिल्लो निर्वाचनको तुलनामा एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयको तथ्याङ्क छ।

उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए। कुल मतदातामा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन्।

निर्वाचनको तयारीका लागि कार्यालयले यही कात्तिक १७ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मतदाता शिक्षा स्वयंसेवक छनोट, कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्रीको तयारीलगायतका काम भइरहेको जनाएको छ।

निर्वाचनमा सुरक्षाको प्रबन्ध गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसेर सुरक्षा संवेदनशीलता भएका मतदानस्थलको पहिचान गर्ने, सुरक्षाकर्मीको प्रबन्ध गर्ने लगायतका कार्य भइरहेको बताउँदै सुवेदीले भने, ‘निर्वाचनमा कुनै किसिमको कमजोरी नहुने गरी तयारी थालेका छौँ।

आयोगको कार्यतालिका र कार्ययोजना अनुसारनै तीव्रताका साथ जिल्लामा काम भइरहेको छ। उपनिर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन्।

निर्वाचन कार्यतालिका अनुसार आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। उपनिर्वाचन हुने क्षेत्रमा पोखरा महानगरका वडामात्र पर्ने भएकाले सुरक्षा चुनौती नरहेको कार्यालयको भनाइ छ। महानगरको ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्वर वडा उपनिर्वाचन हुने क्षेत्रमा पर्दछन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...