अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो। जसलाई सबै देश, जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजीक सभा समारोहमा “अतिथी” लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा अनुशरण गर्दै कुवेतमा कृयाशिल संघ संस्था लगायतले आयोजना गर्ने सभा समारोहमा अतिथीलाई बिशेष सम्मान सहित अग्रपङतीमा राख्ने गरेका छन ।
दूतावास सगै समाजसेवी, सामाजीक संघ सस्थाका अध्यक्ष, पदाधिकारी, बुद्धिजीवी, पत्रकार, कलाकार खेलाडीहरु नै प्राय: कुवेतमा आयोजना हुने नेपाली कार्यक्रममा अतिथिको बागडोर सम्हाल्ने पात्र हुन । सिधा अर्थमा भन्नु पर्दा पद, पैशा र पगरि गुथ्नेहरु नै अतिथी हुन जस्लाइ सांस्कृतिक कार्यक्रमको V.I.P. पास उपलब्ध गराइन्छ भने अन्य समारोहका लागि खाम । छातीमा ब्याज भिर्दै मञ्चको अग्रपङतीमा बस्नेहरु कति अनुशासित, मर्यादीत र निष्ठावान हुनु पर्छ सायद त्यस्को ब्याख्या गरि रहनु नपर्ला । ब्यक्ति विशेषको योग्यतामा पनि भर पर्ने हुनसक्छ ।
कम्तिमा २/४ महिना पहिलादेखि तयारी गरिने कुवेतका प्राय: कार्यक्रमहरु सुरु भने २/४ बजे नै हुने गर्छन । नेपाली समयले नेपाल भन्दा पनि कुवेतमा बढ़ी ज़रा गाडेको छ । कार्यक्रम समारोहको समापन र अतिथी आगमन एउटै समयमा हुने गरेको धेरै उदाहरणहरु हामी माझ छन । संघसंस्था धेरै भएर पनि होला एक दिनमा ३/४ वटा शुक्रवारे कार्यक्रम भएकै हुन्छन । यस्तोमा अतिथीलाई भ्याइ-नभ्याइ पनि भएकै होला । तर समयको सहि सदुपयोग गरि निर्धारित समयमा कार्यक्रम सुरु यदी भएमा केही हद सम्म सहज हुने थियो ।
यो पनि पढ्नुहोस।
वर्तमान समयमा कुवेतमा आयोजना हुने सबै कार्यक्रमलाई आयोजकले भन्दा पनि अरुले आफु अनुकूल बनाउन थालेको भान हुन्छ । चिठ्ठि वितरण, लाइभ प्रसारण, फोटोसुट, सगै कानेखुसि, मात्रै हो र अतिथि आवतजावत, बड़ों बिचित्रको माहोल देख्न पाइन्छ । भाबी कार्यक्रम चिट्ठी वितरणको ओहोरदोहोर, पत्रकारभन्दा पनि अतिथी लगायत अन्यको लाइभ प्रसारण, भलै हेर्ने चै कोही नहोस, सबैको हातमा क्यामेरा, सामान्य कार्यक्रमको ५०० पिस फोटोसुट, अनि एक आपसको कानेखुसि, यथार्थमा भन्नु पर्दा आयोजक भन्दा ब्यस्त अतिथीहरुलाई नै कार्यक्रम आयोजना गरिनुको ख़ास अर्थ बुझेको जस्तो लाग्दैन ।
गाना बजाना र खाना !
सांगीतिक कार्यक्रममा मात्र होइन अब त हरेक कार्यक्रममा कलाकारहरुको धमाका हुने गरेको छ । स्थानीय कलाकारले स्थान पाउनु राम्रो कुरा हो । तर पाएको स्थानको मर्यादा क़ायम नगर्नु कदापि राम्रो होइन । कमेडियन नृत्यको रुपमा उछृँखल भाउभाउ सहित स्टेज चेढ्नेहरुलाई कहिलेसम्म तालि ठोक्ने ? सामाजीक रुपमा गरिने नृत्य समाजले पचाउने खालको हुनु पर्दैन ? अर्को कुरा पत्रकार अतिथिहरु जो फोटो र लाइभमा बेस्त हुन्छौ । के हाम्रो पेसाको अस्तित्व छैन ? महत्व छैन ? किन हामी आफै सस्तीदै छौ ? समाजले हिजो हामीलाई हेर्ने नज़र र आज हेर्ने नज़र फरक पारीसक्यो । हामी फेसबुकेसम्म भै सक्यौं। यस्मा समाजको मात्र होइन हाम्रो पनि उत्तिकै दोष छ । हामी हाम्रो ठाउमा बसेर हाम्रो सिद्धान्त अनुसार चलौ । सामाजीक सञ्जालको सस्तो लोकप्रियताको पछि नलागौ । कुन कार्यक्रम कतिको प्रभावकारी छ, समाजमा कस्तो असर पार्छ बुझेर, क़लम, क्यामेरा, लाइभ चलाउ ।
समाज हाम्रो हो । यस्लाइ कुन दिशातिर लैजाने तपाई हाम्रै काधमा छ । समाजमा ब्याप्त ब्यतिथी र कुरितिलाई सबैले आ-आफ्नो क्षेत्रबाट हटाउने प्रयास गरौं। कुनै पनि समाजको निती त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजीक नितीलाई सही बाटोमा हिंडाउनका लागि सामाजीक कार्यकर्ता अर्थात सामाजीक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन अध्ययन, मनन र चिन्तन गर्नुपर्ने हुदा सबैले एक पटक सोचौं ।
(मल्ल पत्रकार महासघ कुवेत शाखाका सदस्य तथा निरेम अपडेटका प्रधानसम्पादक हुन।)