आज : २०२६-०८-१६, आइतबार

म्यानपावर व्यवसायीको आन्दोलन चर्कियो, भोलिदेखि देशभरका सबै म्यानपावर बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागप्रति सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घले म्यानपावर कार्यालय बन्दसँगै वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प पार्ने जनाएको छ।

सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि भोलिदेखि पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरिएको हो।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई उडानमा पठाउन आज बेलुका १२ बजेसम्मको समय दिइएको थियो। त्यसका लागि सबै म्यानपावर कम्पनीलाई एक साताअघि नै सर्कुलर जारी गरिएको उनले बताए। तर, समयसीमा सकिएपछि प्रक्रिया पूरा भए पनि भोलिदेखि श्रमिकको उडानसमेत रोक्का हुने उनले स्पष्ट पारे।

शुक्रबार श्रम मन्त्रालयको टोलीसँग व्यवसायीका मागबारे प्रारम्भिक छलफल भए पनि ठोस सहमति हुन नसकेको सङ्घले जनाएको छ। मन्त्रालयस्तरमा छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको भन्दै सङ्घले सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ।

सङ्घका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका सबै शाखा कार्यालय बन्द रहनेछन्। वैदेशिक रोजगारीका लागि नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोकिनेछ।

सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन।”

सङ्घले सरकारसँग वार्ता र संवादका लागि ढोका खुला रहेको जनाएको छ। तर, सरकारबाट ठोस निर्णय नभएसम्म काममा नफर्कने अडान लिएको छ।

त्यसैगरी, सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। सङ्घको निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थाको अभिलेख राखी भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गरिने र आगामी समीक्षा भेलामार्फत कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

यस निर्णयसँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया प्रभावित हुने भएपछि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका हजारौँ श्रमिकसमेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ।