आज : २०२६-०८-१६, आइतबार

देउवाकै अगाडि धर्मको मुद्दामा भिडे निधि र महत, मञ्चमै भयो कागज खोसाखोस

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय भेलाको समापन सत्रमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद चर्किएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित समापन समारोहमा निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो।

भेलाबाट पारित निर्णय वाचन गर्ने क्रममा धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद सुरु भएको बताइएको छ। मस्यौदामा डा. महतले ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समेटेका थिए।

तर निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान लिएपछि दुवै नेताबीच विवाद चर्किएको थियो।

कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला विवाद मञ्चमै पुगेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। विवाद बढ्दै जाँदा निर्णय लेखिएको कागज नै एकअर्काबाट खोसाखोस भएको दृश्यसमेत देखिएको बताइएको छ।

मञ्चमै नेताहरूबीच विवाद बढेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि अन्ततः डा. महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको बताइएको छ।

यसअघि आफ्नो सम्बोधनका क्रममा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने भए पनि सबै धर्मलाई सम्मान गर्ने धारणा व्यक्त गरेका थिए। देशमा धर्मसम्बन्धी व्यवस्था कस्तो हुने भन्ने विषय जनताको निर्णयमा निर्भर रहने उनको भनाइ थियो।

धर्मजस्तो संवेदनशील विषयमा सार्वजनिक मञ्चमै कांग्रेस नेताहरूबीच देखिएको विवादले पार्टीभित्र रहेको वैचारिक मतभेदलाई पुनः सतहमा ल्याएको छ। विशेषगरी धर्म, धार्मिक स्वतन्त्रता र सनातन धर्मसम्बन्धी विषयमा कांग्रेसभित्र एउटै धारणा नरहेको घटनाले देखाएको छ।

भेलाको समापन सत्रमा निर्णयकै विषयलाई लिएर नेताहरूबीच कागज खोसाखोससम्मको अवस्था सिर्जना भएपछि उक्त घटना अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।