गढी–४ मा श्रम संस्कृति पार्टीको बृहत् श्रमदान कार्यक्रम सम्पन्न

मकवानपुर । श्रम संस्कृति पार्टीको श्रम अभियानअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–४ मा बृहत् श्रमदान कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष कृष्ण थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला तथा प्रदेश तहका नेता–कार्यकर्ता र स्थानीय श्रमदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला कार्यसमितिका उपाध्यक्ष ध्रुवप्रसाद दाहाल, सचिव युवराज राई, प्रदेश सदस्य मणि शाही, कोषाध्यक्ष गंगाबल राना मगर, नगर सचिव राजिना मगर, राहुल मगर, धीरेन्द्र मुक्तानलगायतको सहभागिता रहेको थियो।
श्रमदानका क्रममा सडकको डेरन तथा आसपासको क्षेत्रमा सरसफाइ गर्नुका साथै सडक छेउछाउमा रहेका झाडी तथा अनावश्यक वनस्पति फडानी गरी सडकलाई सफा, सुरक्षित र व्यवस्थित बनाइएको थियो। स्थानीय सडक तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
श्रम संस्कृति पार्टीले ‘रगतले होइन, पसिनाले देश बनाऔँ’ भन्ने अभियानसहित श्रमदानलाई निरन्तरता दिँदै आएको जनाएको छ। सहभागीहरूले सामूहिक श्रममार्फत स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व, सार्वजनिक सम्पत्तिको संरक्षण र विकासप्रतिको नागरिक भावना बलियो बनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
कार्यक्रममा सहभागीहरूले विकास र परिवर्तनका लागि भाषण मात्र नभई व्यवहारिक श्रम र सहभागिता आवश्यक रहेको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता श्रमदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
















