आज : २०२६-०६-१०, बुधबार

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ। थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्र खाली गराएपछि प्रभावित परिवारलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न केन्द्रमा सारिएको हो।

सरकारले विस्थापितहरूलाई कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रम, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गराएको जनाएको छ।

विस्थापितहरूको विवरण संकलन गर्दै ‘स्क्रिनिङ’ प्रक्रिया सञ्चालन गरिएको छ, जसमा भूमि सुधार तथा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोली परिचालित भएको थियो।

शिविरमा बसेकाहरूका लागि महानगरपालिकाले खाना र चियाको व्यवस्था गरेको भए पनि वितरण गरिएको खाना पर्याप्त नभएको भन्दै प्रभावितहरूले गुनासो गरेका छन्। शनिबार साँझ र आइतबार बिहान दिइएको प्याकेट खानाले पेट नभरिएको उनीहरूको भनाइ छ।

केहीले बिहान वितरण गरिएको चिया र बिस्कुट समेत सबैले नपाएको बताएका छन्। मध्यान्हतिर खाना वितरण गर्दा लामो लाइनमा बसेर लिनुपर्ने अवस्था देखिएको थियो।

वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडामाथि न्यून खाना व्यवस्थाले थप कठिनाइ थपिएको भन्दै सुकुमवासीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।