
काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन नसकेको देखिएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म जम्मा ४६ लाख ५ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ भने निर्यात पूर्ण रूपमा शून्य रहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था अझ कमजोर छ। त्यहाँबाट अहिलेसम्म कुनै पनि प्रकारको वैदेशिक व्यापार नभएको देखिन्छ। दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा व्यापार गतिविधि प्रभावित भएको हो।
यसबीच, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने वैदेशिक व्यापारमा आफ्नो वर्चस्व कायम राखेको छ। सो विमानस्थलबाट ९ महिनामा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ, जुन कुल आयातको १०.५५ प्रतिशत हो। निर्याततर्फ पनि २६ अर्ब ५८ करोड रुपैयाँको व्यापार भएको छ, जसले कुल निर्यातको ११.९३ प्रतिशत हिस्सा ओगटेको छ।
देशभरको समग्र व्यापार तथ्यांक हेर्दा, सो अवधिमा कुल आयात १४ खर्ब ९० अर्ब र निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। भन्सार बिन्दुमध्ये वीरगञ्ज अग्रस्थानमा रहेको छ, जहाँबाट कुल आयातको ४६.५७ प्रतिशत र निर्यातको ३५.६९ प्रतिशत हिस्सा ओगटिएको छ। वीरगञ्जबाट मात्रै ६ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको आयात र ७९ अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।