
काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै सहकार्यको संकेत दिएका छन्।
मंगलबार बिहान उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु साह सँग छुट्टाछुट्टै छलफल गरेका हुन्। ठाकुर लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेर भेट गरेका थिए भने साहसँग पनि सोही दिन संवाद भएको हो।
भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, मधेश क्षेत्रको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाबारे केन्द्रित रहेर छलफल भएको जनाइएको छ। पछिल्लो जनमतलाई आधार मान्दै साझा सहकार्यबाट अगाडि बढ्ने विषयमा नेताहरूबीच समझदारी बनेको बताइएको छ।
आजपा अध्यक्ष साहका अनुसार करिब २० मिनेट भएको भेटमा मधेश र कर्णालीलाई प्राथमिकतामा राखेर विकास अघि बढाउने विषयमा जोड दिइएको थियो। साथै, विगतका आन्दोलन र आगामी राजनीतिक दिशाबारे पनि कुराकानी भएको उनले जानकारी दिए।
लामिछानेले सरकार सबै नागरिकको साझा भएकाले समावेशी विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जवाफमा साहले सरकारका सकारात्मक कदममा समर्थन गर्ने र कमजोरी देखिए खबरदारी गर्ने धारणा राखेका थिए।