
भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु
काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका महेश बस्नेतले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महेश बस्नेतले यसपटकको परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका हुन्।
उनले भक्तपुर–२ बाट विजयी भएका राजिब खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा चुनावी अभियानमा दिनरात खटिने पार्टीका नेता–कार्यकर्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने कहिल्यै नहार्ने बताएका छन्। अब आफूहरूको भूमिका रचनात्मक प्रतिपक्षको रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।
बस्नेतले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने बताएका छन्।