
विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार मृत्यु हुने व्यक्ति स्थानीय अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल हुन्। शुक्रबार बिहान करिब ११:३० बजे सडक किनारमा शव देखिएको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार घटनास्थल ठडिया चोकबाट करिब पाँच सय मिटर पूर्वतर्फ पर्छ। शवको अवस्था हेर्दा दुवै खुट्टामा चोट देखिएकाले सवारीसाधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर ठक्कर दिने सवारीसाधन र चालकको पहिचान अझै खुलेको छैन।
एक्लै बस्दै आएका भुजेल प्लास्टिक, बोतल र कागज संकलन गरी कबाडीमा बेचेर गुजारा चलाउँदै आएका थिए।
घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरीको नेतृत्वमा टोलीले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले अनुसन्धानपछि मात्रै घटनाको यथार्थ विवरण सार्वजनिक हुने जनाएको छ।