
काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा भएको बन्दसत्रमा उनले पार्टीको संगठन, राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।
प्रतिवेदन पेश गर्ने क्रममा थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनेर उठाइएका प्रश्नहरूको पनि जवाफ दिएका छन्। उनले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध नठहराउने स्पष्ट पारे।
उनले पार्टीभित्र भइरहेका बहस र असहमति लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको बताए। यस्ता छलफलले कांग्रेसलाई अझ सशक्त बनाउने र सही दिशातर्फ अघि बढाउन सहयोग गर्ने उनको भनाइ थियो।
बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अब प्रतिनिधिहरूले छलफल गर्नेछन्। पार्टी नेतृत्वले यसलाई आगामी रणनीति र संगठनात्मक सुधारको आधारका रूपमा लिएको छ।