
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।
सभापति देउवा आज भृकुटीमण्डप जाने तयारीमा रहेको भन्ने विषयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै देउवाका स्वकीय सचिव भानु देउवाले त्यसलाई असत्य भएको बताएका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्दै आएको छ। सोही महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका तय गरिएको छ, जसका लागि तयारी तीव्र पारिएको छ।
बन्दसत्रलाई सम्बोधन गर्न सभापति देउवालाई सहभागी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले आग्रह गरेका थिए। उनीहरूले देउवाको उपस्थितिले विशेष महाधिवेशनलाई सफल बनाउने विश्वास व्यक्त गर्दै सहभागिताका लागि अनुरोध गरेका थिए। तर सचिवालयले भने सभापति देउवा बन्दसत्रमा सहभागी नहुने स्पष्ट पारेको छ।