
रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई नभ्याई भइरहेको छ। यस वर्षको अन्तिम पर्वका रूपमा मनाइने माघे सङ्क्रान्ति नजिकिदै जाँदा सर्वसाधारणहरू चिउरा कुटाउन मिलमा घुईँचो लागेको छ। विशेषगरी थारु समुदायले आफ्नो माधी पर्व उत्साहका साथ मनाउने माघे सङ्क्रान्तिका लागि बिहानैदेखि सर्वसाधारणहरू लाइनमा बसेर आफ्नो पालो कुर्दै चिउरा कुटाउन थालेका छन्।
रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योगमा रहेको कुटानी पिसानी मिलमा रंगेली, दर्बेशा, रंजनी, निसानथान लगायतका स्थानका सर्वसाधारणहरू चिउरा कुटाउन आउन थालेका छन्। यहाँ दैनिक १० केजीदेखि ५० केजीसम्म चिउरा कुटाउन ल्याउने गर्दछन्। मिलका सञ्चालिका मीना खत्री साहका अनुसार दैनिक १५ सय केजीदेखि २ हजार केजीसम्म चिउरा कुटिन्छ।
चिउरा कुटाउनको लागि धानलाई एक दिनअघि रातभर पानीमा भिजाइन्छ। बिहान उक्त धान पानीबाट निकालेर मिलमा कराईमा भुटेर सुख्खा बनाइन्छ। त्यसपछि मिलको मेशिनमा राखेर चिउरा तयार गरिन्छ। माघ १ गतेका लागि तयार चिउरा लड्डु बनाउन प्रयोग गरिन्छ र घरमा रहेका देवी–देउताहरूमाथि चढाएर खाइन्छ।
