
अमेरिका – अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीस्थित निजी निवासमा आक्रमण भएको छ।सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार भ्यान्सको घरका केही झ्यालहरू फुटाइएको छ। घटनासँग सम्बन्धित एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीका अनुसार आइतबार राति स्थानीय समयअनुसार करिब सवा १२ बजे भ्यान्सको घर नजिकै एक व्यक्तिलाई भाग्दै गरेको देखिएको थियो। त्यसपछि गरिएको खोजतलासका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो।
अधिकारीहरूले जनाएअनुसार घटनाको समयमा उपराष्ट्रपति भ्यान्स र उनका परिवारका सदस्यहरू घरमा उपस्थित थिएनन्। हिरासतमा लिइएका व्यक्ति घरभित्र प्रवेश गर्न भने सफल नभएको प्रहरीले स्पष्ट पारेको छ।
जाँच निकायहरूले यो आक्रमण जानाजानी उपराष्ट्रपति भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।
यस घटनाबारे जानकारी लिन मिडियाले ह्वाइट हाउस र सेक्रेट सर्भिससँग सम्पर्क गरेको भए पनि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।
भ्यान्स पछिल्लो एक सातादेखि सिनसिनाटीमै रहेका थिए तर आइतबार दिउँसो सहर छाडेका थिए। उनले उक्त घर करिब १४ लाख अमेरिकी डलरमा खरिद गरेका हुन्। करिब २.३ एकड क्षेत्रफलमा फैलिएको यो निवास उच्च सुरक्षा क्षेत्रभित्र पर्दछ।