
काठमाडौं – नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइन माध्यमबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ। यस अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएकोमा १ लाख ३० हजार ४ सय २९ वटा आवेदन रद्द भएका छन् भने २ हजार २ सय ६१ वटा आवेदन हाल प्रक्रियामा रहेका छन्। तीमध्ये ४५८ वटा प्रमाणपत्र कसूर उल्लेख गरी वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार हाल दैनिक ५ हजार ५ सयदेखि ६ हजारसम्म अनलाइन आवेदन प्राप्त हुने गरेका छन्, जसमा सामान्यतया दैनिक ४ हजार ५ सयजति प्रहरी चारित्रिक प्रमाणपत्र वितरण गरिँदै आएको छ।
वर्तमान समयमा अधिकांश विकसित मुलुकहरूले भिसा प्रदान गर्नुअघि आवेदकको आपराधिक पृष्ठभूमि अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था लागू गरेका छन्। नेपालमा पनि सरकारी तथा निजी संघ–संस्थाहरूले रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अबि नारायण काफ्लेले आपराधिक गतिविधिमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र नपाउने स्पष्ट पार्नुभयो। उहाँका अनुसार गम्भीर तथा जघन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा कसूर उल्लेख गरेर मात्रै प्रहरी चारित्रिक प्रमाणपत्र प्रदान गरिन्छ।
नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ। अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० अनुसार अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएको अवस्थामा सजाय भुक्तान नगरेसम्म प्रमाणपत्र उपलब्ध गराइँदैन।
प्रहरी रिपोर्ट वितरणका लागि Criminal Record System (CRS) र Online Police Clearance Registration System (OPCR) सफ्टवेयर प्रयोगमा छन्। नाम मिल्न जाने, विगतका अभिलेख पूर्ण नहुनु तथा भेरिफिकेसन प्रक्रियाका कारण केही आवेदन होल्डमा रहने गरेका छन्, जसका कारण सेवा प्रवाहमा केही ढिलाइ हुने गरेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रहरी चारित्रिक प्रमाणपत्रको माग उल्लेख्य रूपमा बढेकाले हाल वितरण प्रक्रियामा केही समय लाग्ने गरेको छ।