
काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रनवे पार गर्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित छ जना यात्रु घाइते भएका हुन्।
घाइते सबैलाई तत्काल उद्धार गरी भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको उपचार भइरहेको छ भने अन्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्।
बुद्ध एयरको उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौँबाट उडेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।