
काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो करिब ११ बजे काठमाडौंको कपनस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ।
सिआइबीका प्रमुख डीएसपीसँग पक्राउ परेकाे विषयमा कुराकानी भइसकेको र आवश्यक जानकारी लिइएको पार्टी स्रोतले जनाएको छ। पक्राउपछि पाँचथर जिल्ला लगिएको बताइएको छ।
प्राप्त जानकारीअनुसार तामाङ विगतमा दशवर्षे जनयुद्धको पृष्ठभूमिबाट प्रभावित भई जनआन्दोलनपछि ‘विश्वक्रान्ति’ नामक अभियानको नेतृत्व गर्दै आएका थिए। उनले २०७० सालतिर विभिन्न मागसहित शान्तिपूर्ण अभियान सञ्चालन गरेका थिए। तर राज्यबाट बेवास्ता भएपछि आन्दोलनलाई कडा बनाउने चेतावनीसहित विभिन्न गतिविधि अघि बढाएको बताइन्छ।
यसै क्रममा करिब दुई वर्षको अवधिमा विस्फोटसम्बन्धी घटनासँग जोडिएको आरोपमा उनी २०७७ साल असार ११ गते पाँचथर जिल्लाबाट पक्राउ परेका थिए। अदालतले दोषी ठहर गरेपछि करिब ११ महिना ७ दिन जेल सजाय भुक्तान गरी उनी जेलमुक्त भएका थिए।
जेलमुक्तिपछि पनि ‘कुमार विश्वक्रान्ति देवराज लामा’ लगायत विभिन्न नाम प्रयोग गरी गतिविधि गरेको र पुराना मुद्दा बाँकी रहेको बुझिएको छ। आजको पक्राउ पनि तीमध्ये एक मुद्दासँग सम्बन्धित भएको प्रारम्भिक जानकारी सिआइबी स्रोतले दिएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।