
काठमाडौं, साउन ९ – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले सुरु गरेको ‘उज्यालो नेपाल’ अभियानमा जोडिन युवाहरूमाथि आह्वान गरेका छन्।
राष्ट्रिय युवा संसदद्वारा बिहीबार राजधानीमा आयोजित घोषणा सभा तथा शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले युवाहरूलाई समृद्ध नेपाल निर्माणको साझा यात्रामा अघि बढ्न प्रेरित गरे।
बहराइनबाट सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’लाई अघि बढाउँदै, घिसिङले विशेष समारोहमार्फत आफ्नो जीवन अनुभव, ऊर्जा क्षेत्रमा गरेका कार्य, र विदेशमा रहेका नेपालीहरूको भूमिकासँग जोडेर समृद्धिको नयाँ दृष्टिकोण प्रस्तुत गरे।
> “देश बनाउनु पर्छ। अबको पुस्ताले समृद्ध नेपाल निर्माणमा नेतृत्व लिनुपर्छ। नेपालमा केही हुँदैन भन्ने निराशावादी भाष्य अब तोड्नुपर्छ,”
घिसिङले भने, “देश बनाउने नेतृत्व युवाहरू आफैंले लिनुपर्छ।”
उनले युवाहरूलाई आत्मविश्वासी र जिम्मेवार बन्न प्रेरित गर्दै ‘लिसन, लर्न एन्ड लिड’ (सुन, सिक र नेतृत्व गर) भन्ने नेतृत्वको मूल मन्त्रमा जोड दिए।
> “अरूलाई नेतृत्व गर्नु अगाडि आफैंलाई नेतृत्व गर्न सक्नुपर्छ,” उनले भने, “देश बदल्न चाहनेहरूले आफैं बदलिनु आवश्यक छ। नेतृत्वले नै सम्पूर्ण प्रणाली र संस्थाहरूको दिशा परिवर्तन गर्न सक्छ।”
राजनीतिक नियुक्तिमा चासो नरहेको घोषणा
गत चैत्र महिनामा कार्यकाल सकिन चार महिना बाँकी रहँदै सरकारले बर्खास्त गरेका घिसिङले अब आफू कुनै राजनीतिक नियुक्तिमा जान इच्छुक नरहेको स्पष्ट गरे।
उनले देशमा राजनीतिक परिवर्तनहरू धेरै भए पनि विकास नेतृत्वको अभावले अपेक्षित प्रगति हुन नसकेको उल्लेख गरे।
> “राजनीतिक नेतृत्व सफल भए पनि विकास नेतृत्वमा ध्यान दिन सकिएन।
व्यवस्थापन र कार्यान्वयनको ज्ञान अत्यन्त आवश्यक छ,” घिसिङले भने।
> “राजनीतिक नेतृत्वले मात्र पुग्दैन, समृद्धिको रोडम्याप र त्यसको कार्यान्वयन गर्ने क्षमता पनि आवश्यक छ।”
वैदेशिक श्रमिकको योगदान र सम्मानको अभाव
हालै खाडी मुलुकहरूको भ्रमण अनुभव बाँड्दै घिसिङले १५ लाखभन्दा बढी नेपाली युवा विदेशमा रहेर श्रम गरिरहेको बताए।
> “जीडीपीको एक चौथाई हिस्सा रेमिटेन्सबाट आउँछ, तर तिनको श्रमको सम्मान भएको छैन,” उनले गुनासो गरे।
उनले विदेशमा सीप, ज्ञान र अनुभव हासिल गरेका नेपालीहरूलाई देशमै फर्केर योगदान दिन चाहने अवस्था भए पनि त्यसका लागि अनुकूल वातावरण निर्माण गर्नु अहिलेको पुस्ताको जिम्मेवारी रहेको बताए।
‘विद्युतको उज्यालो मात्रै पुगेर पुग्दैन’
नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका बेला गरेका सुधारको चर्चा गर्दै घिसिङले भने,
> “लोडसेडिङ अन्त्य गरियो, बत्ती गाउँ–गाउँमा पुर्यायौं, घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्यायौं।
तर विद्युतको उज्यालो मात्र देशको समृद्धिका लागि पर्याप्त रहेनछ।”
> “देशका अन्य धेरै क्षेत्रमा अझै अँध्यारो छ, ती अँध्यारोलाई हटाएर मात्र समृद्धिको उज्यालो सम्भव छ,” उनले थपे।
घिसिङले ‘उज्यालो नेपाल’ अभियानलाई निराशालाई आशामा बदल्ने राष्ट्रिय अभियानका रूपमा परिभाषित गरे।
> “यो अभियान समृद्धि, विकास, सुशासन, रोजगारी सिर्जना र आत्मनिर्भरता निर्माणको साझा सपना हो,” उनले भने, “देशमै गर्न सकिन्छ भन्ने विश्वास लिएर अब अघि बढ्नुपर्छ।”
उनले राजनीतिक नेतृत्व, स्थानीय तह, विकासका सबै क्षेत्र र जनताको सोचमा उज्यालो ल्याउनु नै ‘उज्यालो नेपाल’ अभियानको सार रहेको उल्लेख गरे।
> “यो केवल राजनीतिक होइन, सामाजिक परिवर्तनको पनि अभियान हो,” उनले प्रष्ट पारे।
युवापुस्तामा नेतृत्वको जिम्मेवारी
१६५ जना युवा सांसदलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपालको सपना साकार पार्न नेतृत्वको जिम्मेवारी युवाहरूले लिनुपर्ने दोहोर्याए।
> “तपाईंहरू अहिले अभ्यासरत युवा सांसदहरू हुनुहुन्छ, अब रोडम्याप बनाएर अघि बढ्नुपर्छ,” उनले भने।
स्रोत र साधन हुँदाहुँदै पनि व्यवस्थापनको नेतृत्वको अभाव रहेको उल्लेख गर्दै उनले भने,
> “हामीसँग साधन छन्, तर त्यसलाई व्यवस्थापन गर्ने लिडरशिप चाहिन्छ। त्यो नेतृत्व तपाईंहरूबाट नै सुरु हुन्छ।”
स्वतन्त्र उम्मेदवार, पेशेवर व्यक्ति र सामाजिक अगुवाहरूको योगदानको पनि चर्चा गर्दै घिसिङले
> “देशमा केही गर्छु भन्ने सोच राख्नेहरूप्रति सम्मान नहुनु चिन्ताजनक हो,” भने।
उनले वर्तमान अवस्थालाई निराशा होइन, परिवर्तनको सम्भावना भन्दै सबै क्षेत्रबाट सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
> “म अब कुनै पदमा जान चाहन्न,” उनले भने, “बाँकी जीवन देशकै सेवामा, तपाईंहरूसँगै ‘उज्यालो नेपाल’ बनाउने अभियानमा समर्पित गर्ने प्रतिबद्धता गर्दछु।”
अन्य वक्ताहरूको उपस्थिति र विदेश भ्रमण
कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा लगायतले पनि मन्तव्य राखेका थिए।
यसैबीच, घिसिङ विभिन्न कार्यक्रम र अन्तरक्रियामा सहभागी हुन अमेरिका जाँदैछन्। उनलाई र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई २७ जुलाईमा न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरिनेछ।
त्यसपछि उनले टेक्सास, डीसी लगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
अगस्ट महिनामा उनी बेलायत तथा अन्य युरोपेली देशहरूको भ्रमणमा पनि जान लागेका छन्।