
कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै गृहमन्त्री रमेश लेखकले बजेटको कारण बाँध निर्माण रोकिने अवस्था नआउने दाबी गर्नुभएको छ।
आइतबार भीमदत्त नगरपालिका–१२ मा पुगेर बाँध निर्माण स्थल निरीक्षण गर्नुभएका मन्त्री लेखकले महाकाली नदी आसपासका बस्तीहरूलाई बाढीबाट जोगाउन सरकारले विशेष निर्णय गरी नेपाली सेनालाई जिम्मेवारी दिएको स्पष्ट पार्नुभयो। ‘बाढीको जोखिम बढेपछि बस्ती जोगाउन सेनालाई जिम्मा लगाइएको हो,’ उहाँले भन्नुभयो, ‘यहाँ बजेटको अभावले काम अवरुद्ध हुने छैन, सरकारले आवश्यक रकम उपलब्ध गराउँछ ।’
गत वर्ष आएको बाढीले महाकाली नदीमा बनेको करिब २६० मिटर बाँध भत्किएपछि नदीको बहाव बस्ती तर्फ मोडिएर जोखिम थपिएको थियो। त्यसपछि भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका बस्तीलाई सुरक्षित राख्न सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ‘चार लेनको पुल र आसपासका बस्ती बाढीको चपेटामा परेपछि सेनालाई जिम्मा दिएका हौं, स्थानीय तहमा समाधान हुने गरी सेना सक्रिय छ,’ मन्त्री लेखकले बताउनुभयो।
उहाँले नदी नियन्त्रण र संरक्षणलाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै निर्माणको गुणस्तर कायम राख्दै निर्धारित समयमै काम सक्न प्राविधिक टोलीलाई निर्देशन दिनुभयो।
यसै क्रममा मन्त्री लेखकले कञ्चनपुरकै दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाहको शिलान्यास चाँडै हुने जानकारी समेत दिनुभयो। आइतबार निर्माण स्थल पुगेर उहाँले बन्दरगाह निर्माणका लागि आवश्यक सबै प्रक्रिया अघि बढेको र शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। ‘ठेक्का प्रक्रिया सकिएको छ, अब शिलान्यास कुन तहबाट गर्ने भन्ने छलफल भइरहेको छ, चाँडै काम सुरु हुन्छ र तीन वर्षभित्र सम्पन्न हुनेछ,’ उहाँले बताउनुभयो।
दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वनमा बन्ने सुख्खा बन्दरगाहका लागि ४१ हेक्टर जमिन खाली गर्न करिब १,६०० रुख कटान गरिसकिएको छ। भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा बन्ने यस बन्दरगाहका लागि दुवै देशबीच २०२३ को जुन १ मा सम्झौता भएको थियो। सम्झौता अनुसार भारतीय पक्षले दुई अर्ब ५४ करोड भारतीय रुपैयाँको लागतमा निर्माण कम्पनी छनोट गरिसकेको छ।
करीब ४२ हेक्टर क्षेत्रफलमा बन्ने सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षा लगायतका पूर्वाधार निर्माण गरिनेछ। नेपालतर्फको छ लेनको पहुँचमार्ग र महाकालीमा चार लेनको पक्की पुल पहिले नै सञ्चालनमा आइसकेको छ भने भारतले आफ्नोतर्फको पहुँचमार्ग निर्माण गरिरहेको छ।