आज : २०२६-०६-०९, मङ्गलबार

पोल्याण्डमा रोजगारीको सपना देखाउँदै ठगी गर्ने महिला गोकर्णेश्वरबाट पक्राउ

काठमाडौं, वैशाख २९ – पोल्याण्ड लैजाने नाममा आकर्षक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिला राजधानीबाट पक्राउ परेकी छिन्।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बसोबास गर्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाइएको जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार पोख्रेलले पोल्याण्डमा आकर्षक तलब पाउने भन्दै युवाहरुलाई विभिन्न प्रलोभन देखाइ आर्थिक ठगी गरेकी थिइन्। उनले वैदेशिक रोजगारीका नाममा विश्वास दिलाउँदै रकम असुलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) काजिकुमार आचार्यका अनुसार, पक्राउ परेकी पोख्रेलविरुद्ध ठगीसम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।