
काठमाडौं, वैशाख २१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित दुई दिने एकता महाधिवेशन नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ।
आइतबार काठमाडौंको हायात होटलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनआरएनहरूबाट नेपालले धेरै आशा गरेको बताए। उनले आफू प्रधानमन्त्री हुँदा एनआरएन नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु गरेको तर अहिलेसम्म पनि त्यसको कार्यान्वयन नभएकोमा दुःख व्यक्त गरे। नागरिकता कार्यान्वयनको सवालमा आफ्नो दलले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एनआरएनहरूसँग रहेको ज्ञान र सीप नेपालको उन्नतिमा प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्ने बताए। उनले एनआरएनका मुद्दाहरूलाई सम्बोधन गर्न आफ्नो दल सधैं सकारात्मक रहेको उल्लेख गरे।
कार्यक्रममा पूर्व अध्यक्षद्वय देवमान हिराचन र भवन भट्ट, एनआरएन अभियन्ताहरू आरके शर्मा, डा. केशव पौडेल, थर्क सेन, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, उच्चस्तरीय समितिका सदस्यहरू कुल आचार्य, विनोद कुँवर र रबिना थापाले शुभकामना व्यक्त गरे।
नव निर्वाचित अध्यक्ष महेश श्रेष्ठले सबै पक्षलाई मुद्दा-मामिला फिर्ता लिन आग्रह गर्दै नयाँ कार्यसमितिले छुटेका साथीहरूलाई पनि समेट्न सक्दो प्रयास गर्ने जनाए।
कार्यक्रममा उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनले पारित गरेको ‘काठमाडौं घोषणा पत्र २०२५’ पढेर सुनाउनुका साथै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रमको अध्यक्षता गरेका संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले सर्वोच्च अदालतको परमादेशको सम्मान गर्दै विभिन्न बाधा व्यवधान खपेरै भए पनि तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गराइएको जानकारी दिए। उनले नयाँ कार्यसमितिलाई संस्थालाई एकजुट बनाएर अघि बढ्न शुभकामना दिए।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले शपथ गराई प्रमाणपत्र प्रदान गरेका थिए।
२ दिने अधिवेशनमा संसारभरिबाट आएका सयौं डेलिगेटहरू सहभागी भएका थिए। अधिवेशन सम्पन्न भएसँगै सहभागीहरू आफ्ना कर्मथलो फर्किन थालेका छन्।
गैर आवासीय नेपाली संघ एकताको महाधिवेशन — काठमाडौं घोषणा २०२५
सम्माननीय सर्वोच्च अदालतको परमादेशको पालना गर्दै नेपाल सरकारसँग समन्वयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा मे ३–४, २०२५ मा काठमाडौंमा आयोजित एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दछ। डेलिगेटहरूबीच व्यापक छलफलपछि निम्न बुँदाहरू घोषणा गरिन्छन्:
१. यो महाधिवेशन गैर आवासीय नेपालीहरूले नेपालको संविधानमा व्यवस्था गरिएअनुसार गैर आवासीय नेपाली नागरिकताको सम्पूर्ण अधिकार जतिसक्दो चाँडो उपभोग गर्न पाउने गरी विद्यमान ऐन–कानूनमा संशोधन गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछ।
२. विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था चाँडोभन्दा चाँडो गर्न नेपाल सरकारसँग अनुरोध गर्दछ।
३. यो महाधिवेशन मध्यपूर्व लगायतका मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको समस्याहरू समाधान गर्न तथा अज्ञानतावश जेलमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
४. ब्रिटिश सेनाबाट सेवानिवृत्त पूर्व गोर्खा सैनिकहरूको समान पेन्सनलगायत मागहरू पूरा गर्न कूटनीतिक पहल तीव्र पार्न नेपाल सरकारलाई आग्रह गर्दछ।
५. विगतका तीता–मीठा अनुभवहरू बिर्सेर संस्थालाई एकजुट बनाउने उद्देश्यले एक समयबद्ध रोडम्याप तयार गरी अघि बढ्न नवगठित कार्यसमितिलाई अनुरोध गर्दछ।
६. महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाल सरकारका प्रतिनिधिहरू, राजनीतिक दलहरू तथा नेतृत्व वर्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। त्यस्तै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, निर्वाचन समिति, पर्यवेक्षक, सञ्चारकर्मी तथा पत्रकारहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछ।
