आज : २०२६-१०-०४, आइतबार

कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका छोरालाई भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनीमा हिंसात्मक गतिविधि र लुटपाट भएको घटनाको स्मरण गराए। उक्त घटनामा पक्राउ परेकामध्ये एक जना कांग्रेस नेताका छोरा रहेको दाबी लिङ्देनले गरे।

उनले भने, “रक्सी लुटेर लैजाँदै गर्दा ती युवकलाई प्रहरीले समातेको थियो। तर, पछि ती कांग्रेस नेताका छोरा भएको खुलेपछि उनलाई छाडिएको छ।”

लिङ्देनका अनुसार यस विषयमा आफूसँग ठोस प्रमाण पनि छन्। उनले सत्ता पक्षप्रति कटाक्ष गर्दै प्रश्न गरे — “यस्तो अवस्थालाई संरक्षण गर्नु कानूनको शासन हो त?”

लिङ्देनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।