गहना चोरीको आशंकामा एक जना काठमाडौंमा पक्राउ

काठमाडौं, चैत्र १३ – काठमाडौंबाट एक व्यक्तिलाई बिल नदेखिएका सुनका गहना सहित पक्राउ गरिएको छ।
काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू आनन्दकुटीमा प्रहरीले ४१ वर्षीय दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो। उनी नुवाकोटको विदुर नगरपालिका-५ का निवासी हुन् र हाल कलंकीमा बसोबास गर्दै आएका छन्।
प्रहरीलाई प्राप्त जानकारी अनुसार, दिपेशलाल सुनका गहना बिक्री गर्न हिँडिरहेको सूचना प्राप्त भएपछि उनको खोजी गरी पक्राउ गरिएको हो। उनीसँग विभिन्न सुनका गहना फेला परेको छ।
बरामद गरिएका गहनामा ११ वटा नौगेडी माला, ७ वटा सिङगल गेडी माला, १३ वटा क्रिष्टल माला, ६ वटा मंगलसुत्र, १ सोली गेडी माला, ३ जोडी टप, १ तिलहरी, ९ वटा क्लिप, ३ वटा मोतीका माला, १ लकेट, १ मोतीहार, २४ वटा औंठी, १९ वटा फुली र ३ वटा गेडी सामेल छन्।
गहनाका बिल नभेटिएपछि दिपेशलाललाई पक्राउ गरिएर थप अनुसन्धानको लागि उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।















