News Portal

दस रुमानी मुक्तक

हिमाली संचार संवाददाता
१००३ पटक

मुक्तक – १

हरपल पछ्याइरहने छाया, सजिलै कहाँ मेटिन्छ र?
तस्वीरको मधुरो काया, सजिलै कहाँ मेटिन्छ र?
यी प्राप्ती र अप्राप्तीका सीमारेखादेखी निकै पर-
सम्झनामा बसेको माया, सजिलै कहाँ मेटिन्छ र?

मुक्तक – २

छायाजस्तो धमिलो याद, स्मृतिमा सल्बलाउँछ ।
मानौं फूलको पुतली प्रकृतिमा सल्बलाउँछ ।
निरीह छन् शब्दहरु, अव्यक्त छन् संकेतहरु-
तर मनको समर्पण स्वीकृतिमा सल्बलाउँछ ।

मुक्तक – ३

अतीतलाई आमन्त्रण गरिरहन्छ मनले ।
यादलाई निमन्त्रण गरिरहन्छ मनले ।
म पनि त बहकिन्छु बिथोलिन्छु तर-
कदमलाई नियन्त्रण गरिरहन्छ मनले ।

मुक्तक – ४

भतभती जलेको मन बोकेर हिड्नु कति गाह्रो ।
मनसंग बहकिने मन बोकेर हिड्नु कति गाह्रो ।
भावनाको यात्रा त हिडेरै काटिन्थ्यो जसोतसो-
पुग्ने छु खै कहाँ? यो सोचेर हिड्नु कति गाह्रो ।

मुक्तक – ५

स्नेहको आँचल कहिल्यै मैलिन दिने छैन ।
सम्झनाको फूल कहिल्यै ओइलिन दिने छैन ।
बगिरहने छु म माया बोकेर शान्त नदी झैं-
पोखिएर रहर कहिल्यै फैलिन दिने छैन ।

मुक्तक – ६

उपहार बनेर आएको खुसी उदासीमा नबदलियोस् ।
विजयी बनेर आएको याद प्रत्यासीमा नबदलियोस् ।
बाँधीदेऊ हृदयको बन्धनमा अब नफुत्किने गरि-
अतिथि बनेर आएको माया प्रवासीमा नबदलियोस् ।

मुक्तक – ७

यति धेरै सपना संगालेर धनी भएको छु म ।
पत्थरको मूर्ती पनि पगालेर धनी भएको छु म ।
हिजोसम्म हिड्दै थिएँ म तिर्सनाको रित्तो सफर-
आज मायाको बाटो अँगालेर धनी भएको छु म ।

मुक्तक – ८

म त अतीतको पानाबाट बिस्थापित एक इतिहास हुँ ।
सम्झनाका तरंगहरुमा मग्मगाइरहने सुवास हुँ ।
प्रेमको मन्दिरमा दीपकझैं जल्नु बाहेक के गर्न सक्छु र?
यत्ती नै हो मेरो हैसियत पृय! म त चरणको दास हुँ ।

मुक्तक – ९

कसैलाई खुसी दिनु यही त माया हो ।
कसैबाट खुसी लिनु यही त माया हो ।
असम्बन्धित सम्बन्धलाई जीवन्त राख्ने –
हृदयमा बसेको चिनु यही त माया हो ।

मुक्तक – १०

हृदयलाई यो आशले कहाँसम्म साथ दिने हो !
शरिरलाई यो प्यासले कहाँसम्म साथ दिने हो !
सकेसम्म जिन्दगीलाई रमाएरै बिताऔं साथी !
मानिसलाई यो सासले कहाँसम्म साथ दिने हो !

— खगेन्द्र गिरि कोपिला
आदर्शमार्ग, वार्ड नं १ नेपालगन्ज

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...