News Portal

  • सहकारी ठगी प्रकरणः धनराजको बचाउमा कांग्रेस नलाग्ने, अनुसन्धानकै पक्षमा प्राय: नेता

    रमेश सापकोटा
    २४३ पटक

    काठमाडाैं। सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको पाइएपछि संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिश गर्दा रास्वपा नेता/कार्यकर्ताले भने उनले ‘क्लीन चिट’ पाएको दाबी गरिरहेका छन्।

    छानबिन समितिमा रास्वपाकै शिशिर खनालले प्रस्ट किटान गरिएको कारबाही सिफारिशमा हस्ताक्षर गरेका छन्। तर, रास्वपाले मुद्दामा उन्मुक्ति पाएजसरी घण्टी बजाउँदै विजयोत्सव मनाइरहेको छ। पार्टीका नेतादेखि कार्यकर्तासम्मले सहकारी प्रकरणमा सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको भन्दै प्रचार गरिरहेका छन्।

    यही बेला ललितपुरको मितेरी सहकारीमा भएको १४ करोड ८१ लाख रकम हिनामिनामा तत्कालीन श्रीमती ज्योति गुरुङसँगै संलग्न रहेको आशंकामा कांग्रेस उपसभापति धनराज गुरुङमाथि प्रश्न उठेको छ। संसदीय छानबिन विशेष समितिले गुरुङमाथि थप अनुसन्धान गर्न सुझाव दिएपछि कांग्रेसले उनी दोषी भए कारबाही भोग्नुपर्ने बताएको छ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत उपसभापति वा जोसुकै माथि प्रश्न उठ्छ भने पनि छानबिनका लागि पार्टी सधैँ तत्पर रहेको बताउँछन्।

    ‘उहाँ (धनराज)जी आफैंले शंका लाग्छ भने आफूमाथि संसदीय छानबिन समितिले नै अनुसन्धान गरे हुन्छ भनेर विज्ञप्ति निकाल्ने र बोल्ने गर्नुभएको छ,’ महतले लोकान्तरसँग भने, ‘हामी अरूजस्तो होइनौं, गल्तीलाई गल्ती होइन भन्ने अरू पार्टीको जस्तो स्वभाव हाम्रो छैन। अनुसन्धान गरेर तथ्य पत्ता लाग्यो, त्रुटि भएको पाइयो भने जो भए पनि कारबाहीको भागीदार बन्नुपर्छ।’

    अनुसन्धानले निकाल्ने निष्कर्षमा पार्टीले हस्तक्षेप गर्ने र बचाउमा लाग्ने स्थिति नरहेको महत बताउँछन्। ‘मितेरी सहकारीको विषयमा उहाँको एउटा भनाइ छ। लेनदेन श्रीमतीले गरेको हो, उहाँलाई थाहा थियो वा थिएन, यो हामीले भन्नसक्ने विषय होइन, अनुसन्धानले पुष्टि गर्ला,’ महतले भने, ‘तर, हामी अनुसन्धान प्रतिवेदनको निष्कर्षलाई किन यस्तो आयो भनेर भन्दैनौं।’

    सहकारीको झमेलाबाट उम्किन नक्कली डिभोर्स गरेको आरोप गुरुङमाथि लागेको छ। प्रश्न उठेपछि गुरुङले २०७६ फागुन २९ गते श्रीमती ज्योति गुरुङसँग डिभोर्स गरेको प्रतिनिधिसभाको बैठकमै बताएका थिए। गुरुङले संसदीय छानबिन समिति फेस गर्न पनि तयार रहेको बताएका थिए।

    ‘वर्षौंदेखि सम्बन्ध बिग्रिएपछि २०७६ फागुन २९ गते सम्बन्धविच्छेद भयो। तर, यसलाई एक सांसदले नक्कली भनेर भन्नुभयो। माननीय सदस्यले भनेकोजस्तो नक्कली प्रमाणित गर्न चुनौती दिन्छु,’ धनराजले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘नक्कली कुरा गर्नेले अर्कोलाई नक्कली देख्ने हो। घरपरिवारमा दरार आएपछि १० वर्षीय बच्चालाई हुर्काउनुको पीडा म आफैंसँग छ। डिभोर्स भएपछि पूर्व श्रीमतीको जानकारी हुने कुरै भएन।’

    उनले आफू छानबिनका लागि तयार रहेको बताएका थिए। ‘प्रश्न उठेपछि प्रमाण लुकाउन सक्ने गरी पूर्व गृहमन्त्रीजस्तो अवस्थामा म छैन। म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्छु। मेरा लागि लागेको आरोपको सत्य-तथ्य छानबिन गरिदिन सभामुख, गृहमन्त्री र सम्बद्ध निकायलाई आग्रह गर्छु,’ गुरुङले भनेका थिए, ‘छिटोभन्दा छिटो छानबिन गरिदिनुस्। म संसदीय छानबिनका लागि पनि तयार छु। यो मेरो लागि अवसर हो।’

    गुरुङले देशभरका विभिन्न सहकारीको अर्बौं रकम हिनामिनाको प्रतिवेदन आउनैलाग्दा आफूमाथि निशाना साँधिएको पनि बताउन भुलेनन्।

    ‘जसले सुशासन कायम गर्न २०४६ पछि सार्वजनिक पद धारणा गरेका माथि अनुसन्धान गर्नुपर्छ भनेर सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्‍यो, नोटबन्दी कुरा उठायो, उसैमाथि यस्तो आरोप ?’ गुरुङले भनेका थिए, ‘सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आउनैलाग्दा विषयवस्तुलाई अन्तै मोड्न रचिएको घटनाको छानबिन होस्।’

    गुरुङले यस्तो दाबी गरेको ५ दिनपछि सूर्य थापा नेतृत्वको छानबिन समितिले मितेरी सहकारी सम्बन्धमा धनराजको संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान गर्न सुझाएको छ।

    धनराजबारे मितेरी सहकारीका अध्यक्ष कुम्मराज राईले बयान दिएपछि धनराजमाथि थप छानबिनका लागि सिफारिश गरेको समिति सदस्य ईश्वरी न्यौपाने बताउँछिन्।

    ‘हामीले भन्दा पनि मितेरीका अध्यक्ष कुम्मराज राईले नै सम्बन्धविच्छेद गरे पनि बच्चाहरूको कारण भेट हुन्छ। सँगै बस्ने गरेको चर्चा छ भनेर बयान दिनुभएको हो। यो हामीले लेखेको होइन, अध्यक्षको बयान हो,’ न्यौपानेले लोकान्तरसँग भनिन्, ‘यसैले प्रश्न उठेपछि थप अनुसन्धानका लागि राज्यलाई भनिदिएका हौं।’

    प्रश्न उठेपछि समितिले उनीहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची– २३ मा उल्लेख गरेको छ। सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङ समेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित नै गरेको छ। समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन यसअघि नै गृह मन्त्रालयमा पत्राचार गरिसकेको थियो।

    धनराजले सम्बन्धमा दरार आएपछि २०७६ फागुन २९ गते डिभोर्स भएको बताएका छन्। ‘मैले सहकारीको रकम अपचलन र ठगी गरेको भन्ने बारेमा जे जस्ता भ्रामक समाचारहरू सम्प्रेषित भएका छन्, त्यसप्रति गम्भीर आपत्ति छ,’ गुरुङले विज्ञप्ति निकालेर भनेका थिए, ‘साथै निज ज्योतिसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्धविच्छेद भइसकेकाले ज्योतिसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको जानकारी गराउँछु।’

    तर, डिभोर्स गरिसकेपछि पनि धनराजले मितेरीबाट लिएको ऋण तिरिरहेको पाइएको छ । यति मात्रै होइन, २०७७ सालमा मितेरीबाट ऋण लिँदा धनराजले हकदाबीवालाको नाममा डिभोर्स भएको दाबी गरिएकी ज्योतिलाई नै श्रीमतीको रूपमा उल्लेख गरेका थिए। यो ऋणको रकम पनि केही समय अगाडिसम्म तिरेबाट गुरुङ शंकाको घेरामा तानिएका छन्।

    धनराजले आफ्नो संलग्नता नरहेको भनेर दाबी गरेको ६ दिनपछि उनलाई समितिले थप अनुसन्धान गर्न सिफारिश गरेको छ। सामान्य कर्मचारी, कोषाध्यक्ष हुँदै सञ्चालकसम्म बनेकी ज्योतिको गैरकानूनी गतिविधिप्रति धनराज जानकार नै थिएनन् भन्नेमा समिति समेत आश्वस्त हुन सकेको देखिएको छैन।

    ‘उहाँले भर्खर–भर्खर ऋण तिर्नुभएको छ । यसैले उहाँले दाबी गरे पनि प्रश्न उठ्ने ठाउँ देखिएको हो,’ समितिका एक सदस्य भन्छन्, ‘श्रीमतीले नराम्रो गरिन्, म ऋण तिर्दैछु, परिबन्दमा परेर डिभोर्सको स्थितिसम्म आयो भनेर समयमै भनेको भए समस्या हुने थिएन। तर, उहाँको दाबी एउटा, तथ्य अर्को देखिएपछि उहाँमाथि अनुसन्धान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं।’

    यसबीचमा कांग्रेसकै एक पदाधिकारीले पदाधिकारीले समिति सभापतिलाई फोन गरेर ‘धनराजको विषय छुट्ला, उनलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। त्यसो नगर्ने हो भने रविलाई मात्र राजनीतिक प्रतिशोध साँधेको अर्थ लाग्छ’ भनेर आग्रह गरेको समिति स्रोतको दाबी छ।

    यस्तै, आशंका विषयको विषय एमाले नेता एवं लेखा सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाको पनि रहेको समितिका एक सदस्यले बताए।

    ‘उहाँ धनराजजीजस्तै ऋषिकेशजीको पनि भएको पाएका छौं। उहाँकी श्रीमतीले पनि सञ्चालक हुँदा बैंक र व्यक्तिको रकम अपचलन गरेको, परिवारलाई पनि थाहा भएको र मिलाउन ऋषिकेशले पटक–पटक छलफल गरेको जानकारी आएका छन्,’ ती सदस्यले भने।

    तर, समितिले ऋषिकेशको बारेमा केही बोलेको छैन। कांग्रेसमा सभापति शेरबहादुर देउवापछि तेस्रो वरीयता (पदीय हिसाबले दोस्रो पद)मा रहेका उपसभापतिमाथि गम्भीर प्रश्न उठेपछि भदौ २६ गते बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले पनि गल्ती गरेको भए सजाय भोग्ने बताएको थियो।

    ‘उपसभापतिले गल्ती गर्नुभएको हो भने सजाय भोग्नुहुन्छ। उहाँ आफैंले छानबिन गर्न तयार छु भन्नुभएको छ। नेपाली कांग्रेस पनि तयार छ,’ बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भनेका थिए। तर, अकस्मात् कुरा आएपछि कांग्रेसले डिभोर्स नक्कली हुँदैन भनेर संसदमा यो विषयमा बहस नहुने पनि बताएको थियो।

    ‘नक्कली डिभोर्स भनेर संसदमा गलत ढंगले प्रश्न उठ्यो। डिभोर्स र विवाह नक्कली हुँदैन। संसारमा लोग्ने स्वास्नीको सम्बन्धनबाहेक अरू कुनै पनि सम्बन्ध डिभोर्स हुँदैन। कानूनी रूपमा डिभोर्स गरिसकेपछि भेट, फोनमा कुराकानी भएको छ कि छैनन्। यी सबै हेरिने कुरा होइनन्,’ देउवा निवासमा भएको बैठकपछि घिमिरेले भनेका थिए, ‘कानूनीरूपमा २०७६ सालमा डिभोर्स भइसकेकाले नक्कली वा सक्कली भनेर संसद्मा उठाउनु बहसको विषय बन्न सक्दैन।’

    तर, पार्टीले शुरूआतमा यस्तो दाबी गरे पनि गुरुङबारे पछिल्ला विवरण र समाचार आएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत दोषी भए कारबाही भोग्न तयार हुनुपर्ने बताइरहेका छन्।

    ‘हाम्रो उपसभापतिबारे पनि प्रश्न उठेका छन्, उठ्छन्। उहाँ आफैंले पनि बोल्नुभएको छ। छानबिन होस् भन्नुभएको छ। समितिले पनि छानबिन गरेको छ। उहाँको विषयमा पनि थप अनुसन्धान गर भनेको छ,’ सभापति देउवा समेत उपस्थित कार्यक्रममा थापाले गत बुधबार भनेका थिए, ‘सरकारले थप अनुसन्धान गर्नुपर्छ। हामी दोषी उम्कन हुँदैन र निर्दोष फस्न हुँदैन भन्नेमा छौं।’

    लगत्तै महामन्त्री शर्माले पनि उपसभापतिमाथि छानबिन हुनुपर्ने र दोषी भए कारबाही भोग्नुपर्ने बताए। ‘हाम्रो उपसभापतिमाथि छानबिनको प्रक्रिया शुरू भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन। कहीँ निर्णय गरेन। कहीँ दबाब दिएन। आज सीआईबीले छानबिन प्रक्रिया शुरू गरेको छ,’ शर्माले शनिबार झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा भने, ‘धनराज गुरुङमाथि छानबिन गर्दा निर्दोष देखिनुहुन्छ भने माला लगाउनुहुन्छ, कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ। दोषी देखिनुहुन्छ भने जेल जानुहुन्छ।’

    उनले थपे, ‘पुरानो दलको मान्छेले यस्तो भन्छ। नयाँ दलकाले यही भन्न सक्नुहुन्छ ? नयाँ दलको के सुनिरहनु भएको छ भने प्रचलित कानूनबमोजिम गर्ने भनेर कसले भन्यो ? छानबिन समितिले भन्यो,’ शर्माले भने, ‘उहाँहरू के भन्नुहुन्छ ? क्लिन चिट पायौं भन्नुहुन्छ। प्रचलित कानूनबमोजिमको कारबाही भन्नुमा ठगीको कुन स्तरको उचाइ होला ?’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल...

    नख्खु कारागारमा रहेका रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी

    काठमाडौं, भदौ ३ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षणका क्रममा भिटामिन ‘डी’को कमी देखिएको...