News Portal

भारत जान सिफारिस अनिवार्य

हिमालीसंचार संवाददाता
३०१ पटक

विश्वनाथ सिम्खाडा,कालिकोट। मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो।

वर्षौंदेखि ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाँता–३ का नरेश बम सिफारिस लिन मान्मस्थित जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा भारत जाने निवेदनसहित उनले नागरिकता प्रमाणपत्र र वडा कार्यालयले दिएको सिफारिस पेस गर्नुप¥यो।

जिल्ला प्रशासनले ‘रोजगारीको सिलसिलामा भारत जाने भएकाले निजको चालचलन बुझिदिनू’ भन्दै प्रहरीलाई पत्र लेख्यो। प्रहरीले सीआरएस अभिलेखमा चालचलन राम्रो रहेको, आपराधिक संगठनमा नरहेको, कुनै राजनीतिक दलमा संलग्न नभएको र फौजदारी अभियोगमा सजाय नपाएको पत्र दिएपछि मात्र उनलाई प्रशासनले सिफारिस दियो। ‘अचेल त भारत जान पनि जिल्ला प्रशासनको सिफारिस चाहिने भयो,’ बमले गुनासो पोखे, ‘गाउँ र जिल्लामा सिफारिस बनाउनै पाँच दिन लाग्यो।’

उनले यो प्रक्रिया पूरा गर्न करिब ५ हजार रुपैयाँ खर्च भएको बताए। शुभकालिका–१ छातीगाउँका हर्क कामीसहित ७ जनाको टोली पनि केदारनाथ जान सिफारिस लिन प्रशासनकै लाइनमा थिए। ‘सिफारिस नलिए जान दिँदैनन् रे,’ हर्कले भने।

बिनारोकतोक भारत र नेपाल गर्दै आएका कालीकोटका स्थानीयले एक वर्षदेखि सास्ती खेप्दै आएका छन्। ज्याला मजदुरीको प्रमुख गन्तव्य केदारनाथ जान सिफारिस हुनैपर्छ। मजदुरी गर्न कालीकोटका कोही पनि केदारनाथ जानुअघि प्रशासनबाट सिफारिस लिन्छन्। गत १० चैतयता मात्र ५ हजार ८ सय ३६ जनाले सिफारिस लिएको निमित्त प्रहरी प्रमुख सुवराज बमले बताए।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार कालीकोटका बासिन्दालाई मात्र केदारनाथमा सिफारिस चाहिन्छ। गत वर्ष जेठमा केदारनाथ मन्दिर जाने क्रममा एक भारतीय बालक भीरबाट खसेका थिए। सँगै रहेका कालीकोटका एकजना उनीसँग रहेको आइफोन र सुनको लकेट लिएर भागेको हल्ला चलेको थियो। त्यसपछि त्यहाँको प्रहरीले कालीकोटवासी मजदुरलाई केदारनाथ प्रवेशमा रोक लगाएको प्रजिअ माझीले बताए।

गाउँघरमै रोजगारी दिने वाचासहित बनेका प्रदेश एवं स्थानीय सरकारले पनि काम खोज्दै भारत जानुपर्ने बाध्यता रोक्न सकेका छैनन्। पलाँता गाउँपालिकाका नवराज सुनार भारत नजाने सोचमा थिए तर उनको चाहना केही महिना पनि टिकेन। गाउँघरमा काम पाउने अवस्था नभएपछि ऋणको भारी बोकेर भारत जानुपरेको उनले गुनासो पोखे।

कर्णाली प्रदेशका अधिकांश पहाडी गाउँबाट जिल्ला छाडेर भारत जानेको लर्को नै लाग्छ। तर, गाउँका सिंहदबार भनिएको स्थानीय र आफ्नै क्षेत्रको भनिएको प्रदेश सरकारसँग आफ्ना कति नागरिकले गाउँ छाडे ? कति भारतमा छन् र उनीहरूको अवस्था कस्तो छ ? भन्नेसम्म थाहै छैन। अनौपचारिक तथ्यांकले कर्णालीका ३ लाख मानिस रोजगारका लागि भारत पुगेको देखाउँछ।

स्वदेशमा रोजगार अभावले हातमुख जोर्नै समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन्। खुला सीमा नाकाका कारण यहाँका स्थानीय रोजगारका लागि दैनिक सयौंको संख्यामा भारततर्फ गइरहेका छन्। गाउँमा भोकको पीडाले उनीहरू फेरि भारत पस्न बाध्य छन्।

जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी ३ महिना आफ्नो गाउँमा बसेर खाने गर्छन्। चाडपर्वका समयमा आफ्नो गाउँ फर्कने र अरू समयमा भारतमै मजदुरी गरेर बस्ने गरेको दैलेखका नवीन विष्टले बताए।

‘नेपालमा काम गर्दा ज्याला पनि थोरै हुन्छ, काम पनि लामो समयसम्म गर्न पाइँदैन,’ विष्टले भने, ‘छोराछोरी पाल्नैप¥यो, घर व्यवहार चलाउनैप¥यो, अहिले गएर केही महिना काम गरेपछि घर खर्च पुग्छ।’

जिल्लाका प्रायः सबै स्थानीय तहबाट सयौंको संख्यामा नेपाली कामको खोजीमा भारतका विभिन्न राज्यमा जाने गरेका छन्। जिल्ला प्रशासन कार्यालय कालिकोटबाट राहदानी लिनेहरूको संख्या पनि बढेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...