सायद, इतिहासलाई सोधेर आएका थियौं
मृत्यु चोमोलुङ्माजस्तो
फक्तालुङ्जस्तो सधैं उँचो! सधैं उँचो!!
यस्तै हुन्छ ‘हिक्मत’वाला हत्याराहरु सत्तामा हुँदा
हाम्रो मृत्यु सधै-सधैं उँचो!!
मुन्धुम भन्छ–बीच पर्ने मान्छे
घरभित्र आउँदैन ।
सिकुवामै बस्नु, फूलमा बस्नु, हावासङ्ग डुल्नु
र, हेर्नु तिम्रो रगत टेक्दै सदन छिर्नेहरु
उसैगरि हेर्नु तिम्रो रगतले हामी रक्तबिज भएको
पहिचानको यो लडाइँमा
मन्द हावा हामीलाई छोएर गएछ भने
हामी पनि सम्झन्छौ-लाजेहाङ हावा भएर आएछ डुल्दैडुल्दै ।
हेरिराख्नु सिकुवाबाटै-रगतको छिटा लागेको शासक अनुहार
हामीले जिम्मा लिएको पहिचानी मैदान
प्रश्को बदलामा पाएको मृत्यु
पहिचानको क्यानभासमा मुख्यमन्त्रीको हत्यारा अनुहार
इतिहास यसरी बाँचिरहने छ–गोली, लाठी, बुट, काँडेतार
शासकको चिहानमा उब्जिएको घृणा
र, फुल उम्रिएको तिम्रो पहिचानी चिहान ।
सोलोलो….सोलोलो….!!!
सायद, इतिहासलाई सोधेर आएका थियौं
मृत्यु चोमोलुङ्माजस्तो
फक्तालुङ्जस्तो सधैं उँचो-सधैं उँचो!!
कवि जनकऋषि राई
धरान-१७, सुनसरी