News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जवाफ खोजी रहेछु

    तायुछाङ लामा
    ३२२ पटक

    अहिले नेपालको आर्थिक अवस्था श्रीलंका र पाकिस्तानको पछिपछि दौडिरहेको छ भन्ने जानकारीहरु नेपाली अर्थविदहरु र विभिन्न मिडियाहरुबाट प्रष्ट थाहा पाउन सकिन्छ। मुलुकमा लामो समय कोरोना महामारीबाट चौपट्ट भएको आर्थिक अवस्था पार गर्दै पछिल्लो समय लयमा फर्किने सुधारको सङ्केतहरु देखिए पनि आर्थिक रुपमा टाट पल्टिने बाटोबाट भने धेरै टाढा छैन।

    देशको उद्योग र निर्यातमा ठुलो चुनौती आईपरेको बारे सबैलाई जानकारी छदैछ यी त भयो आर्थतन्त्रको मुख्य जानकारहरुको पार्टो तर आम जनताले जनस्तरबाट मुलुकलाई अर्थिक टाट पार्ने काम के-के गरिरहेका हुन्छौ र जनस्तरबाट मुलुकको अर्थतन्त्र सुधार गर्न के कसरी सरकारलाई सहयोग गर्न सकिन्छ ? यो बारे हामी धेरैलाई जानकारी छैन। जानकारी भएपनि हामी देशको आर्थिक अवस्था र भविष्यप्रती जिम्मेवार देखिएनौ।

    अहिले मुलुक आर्थिक मन्दिको चरम अवस्थामा छ यस्तो बेला यदि कुनै उत्पादन नेपालले निर्यात गर्छ भने त्यो हो नेपाली युवाहरूको निर्यात, देशको ६५% युवाहरू निर्यात गर्ने मुलुक नेपाल हो भन्दा खासै फरक नपर्ला। चाहे त्यो दक्ष युवा जनशक्ति होस् वा अर्धदक्ष। यतिका धेरै युवाहरूलाई निर्यात गर्ने मुलुक साच्चै आर्थिक हिसाबले टाट पल्टिन लागेको हो ? सबैभन्दा ठुलो र महत्त्वपूर्ण प्रश्न हो यो ?

    के साच्चै नेपाल र नेपालीहरु आर्थिकरूपमा टाट पल्टिन लागेको हो ? एकातिर विनोद चौधरी जस्ता नेपालीहरु विश्वको धनिहरुको रुपमा परिचीत हुदैछन भने अर्कोतिर मुलुक चै अर्थतन्त्र चौपट्ट हुने बाटोमा दौडिरहेको छ।

    ६५% युवाहरू निर्यात गर्ने मुलुकले कति युवाहरुले मुलुक लाई कति रेमिट्यान्स उपलब्ध गराए भनेर सोध्ने हो भने देशको आर्थिक अवस्था धान्ने मध्य निर्यातित युवाले पठाएको रेमिट्यान्स पनि प्रमुख देखिन्छ तर सरकारसंग यसको बारे वास्तविक रेकर्ड भने छैन।

    जब एक युवा मुलुकबाट निर्यात हुदैछ भने उसले गैरकानुनी रूपमा म्यानपावरहरुलाई कम्तीमा डेढ लाख तिरेर आएको हुन्छ। निर्यात हुन युवाहरूले तिरेको डेढ लाखदेखि ८/१० लाखसम्म तिर्ने गरेको पाहिन्छ। यसरी तिरेको रकमको अनुमानित रेसियो हेर्दा अढाई लाख बराबर प्रती ब्यक्ति गैरकानुनी रूपमा म्यानपावर व्यवसायीहरु सग आर्थिक कारोबार हुने गरेको देखिन्छ। एउटा आर्थिक रुपमा कम्जोर मुलुकले आफ्ना ६५% युवाहरू निर्यात गर्दै गर्दा प्रती युवा २,५०,०००/- अनुमानित कानुनी रकम पनि गैरकानुनी हुन जान्छ।

    यसरी निर्यातित युवाहरूले रेमिट्यान्स पठाउने समयमा तिनै रेमिट्यान्स सन्चालक र म्यानपावर संचालक तथा कतिपय बैंककै कर्मचारीहरुले हुन्डी मार्फत कारोबार गराउने गरेको छ। विदेशबाट नेपालमा कानुनी रुपमा पैसा पठाउदा पाउने एक्चेन्ज रेटको भन्दा १ रुपैयाँ पढी दिने गरि कारोबार हुँदै आएकोले अधिकाङ्स युवाहरूको रोजाइ हुन्डी हुन पुगेको छ। कतिपय युवाहरूलाई आफुले विदेशमा रगतपसिना बेचेर कमाई गरेको कानुनी पैसा आफ्नु मुलुकमा पुग्दा गैरकानुनी हुदैछ भन्ने समेत जानकारी हुदैन।

    अब कुरा गरौ मुख्य समस्याको : नेपाली युवाहरूजो निर्यात भएर विदेशी भुमिमा पुग्छौ र त्याहा काम गरेर कमाएको पैसा नेपाल पठाउदा बैंक वा रेमिट्यान्स कम्पनी भन्दा बाहिरका विभिन्न ब्यकिहरुको मार्फत पैसा देशमा आफन्तलाई पठाउने गरिन्छ। कतिपयले एक्चेन्ज रेट भन्दा अलिकति बढी रेटमै नेपालको आफन्त वा बैंकमै पैसा पठाई दिने भनेर युवाहरू बाट गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको पाहिन्छ। हुनपनी नेपाल कै कुनै मनिटान्सफ कम्पनीबाट आफन्तको नाममा वा बैंक खातामा पैसा जान्छ। यसरी बिदेश गएको आफन्तले पठाएको पैसा नेपाल कै रेमिट्यान्स कम्पनी वा बैंक खाताबाट आउनु भनेको हुन्डिको अर्को रुप हो र अहिले यसैगरी कारोबार हुने गरेको छ। यसरी कारोबार गरिने रकम देश भित्र नै गैरकानुनी रुपमा मौलाएको आर्थिक कारोबारको परिणाम हो। यसरी गरिने कारोबार पछिल्लो समय मिटरब्याजमा समेत प्रयोग हुँदै आएकोले बैंक र वित्तीय सस्थाहरु धारासायी हुँदै आएको हो।

    सरकारसंग आफुले मुलुकमा कति पैसा छपाएर बजारमा पठाएको छु भन्ने रेकर्ड समेत छैन न त यसबारे जानकारी राख्ने कुनै सम्यन्त्र छ। बैंकमा नै सबै पैसा जम्मा गरिन्छ भन्ने हुदैन। बैंकको आकडा अनुसार जनतासंग पैसा नहुने कुरापनी भएन पैसा त अहिले सबै जनताको गोजीमा धेरथोर छदैछ तर मुलुक कंगाल हुँदैछ।

    आज मुलुक आर्थिक रुपले धोस्त हुने अवस्थामा पुग्नुको पछाडी घुसिया कर्मचारी तन्त्र र भ्रष्ट राजनीति मुख्य हो। हुन्डी कारोबार, सुनदेखी नुनसम्मको तस्करी देखी युवाहरूको कानुनी नियातबाट गैरकानुनी पैसा कमाउने सबैको मुलजरा यहीँ भित्र अड्किएको छ र नेपाली जनताहरु पनि उतिनै जिम्मेवार छौँ।

    एउटा गाउँपालिकामा वडा अध्यक्षले निर्वाचन जित्न कम्तिमा ८ देखि १० लाख नेपाली रकम खर्चिन्छ। यसरी खर्चिने रकमको आयस्रोत के हो त ? यो बारे कसैलाई जानकारी हुदैन र छानबिन गर्ने कुनै विश्वासिलो निकाय छैन। भन्नलाई पैत्रीक सम्पती देखि ब्यापार ब्यवसाय सबै उल्लेख गरिन्छ। जब उ निर्वाचन जितेर स्थानीय सरकारको अङ्ग बन्छ तब सरकारी ढुकुटीमा उसको हात पर्छ। हुन पनि निर्वाचनमा ८,१० लाख रकम खर्चिनु भनेको सरकारी ढुकुटीमा हात पुर्याउनु कै लागि हो कि भन्ने पनि लाग्छ नत्र जनसेवा गर्नकै लागि निर्वाचनमा भाग लिनेले यतिका पैसा कार्यक्रम र कार्यक्रतामा छर्ने कुरा स्वभावतः उचित होइन किन भने निर्वाचन हारेको दिन ऊसंग ऋणको भारी पनि हुन सक्छ यात घर खेत सकिएर सडकमा पुग्न पनि सक्छ। यो सार विषय हेर्दा निर्वाचनमा खर्च हुने रकम गैरकानुनी लगानी हो भन्न सकिन्छ।

    यसैगरी निर्वाचन जितेर राज्यकोषबाट विभिन्न योजना र विकासको नाममा मुलुक भरी कति कानुनी पैसाको गैरकानुनी प्रयोग हुन्छ ? यो बारे जानकारी कस्ले राख्ने हो ? अक्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिना छानबिन र जानकारी गर्ने बाहेक ऊसंग मुलुकको पुरै जानकारी हुदैन र छैन नत कोष तथा लेखापरीक्षणसंग नै हुन्छ। एउटा रिपोर्ट अनुसार अक्तियारमा पर्ने उजुरीको झन्डै ७५% उजुरीको आन्तरिक समाधान हुने गरेको पाहिन्छ। यो आनतरिक समाधान भनेको कालोधन भ्रस्टाचारको जर्जर स्थिति हो र यस्तो हुनुमा भ्रष्ट कर्मचारी तन्त्र हाविहुनु र भ्रष्ट राजनीति जनता स्तरमै फैलिनु हो।

    यो त भयो स्थानीय सरकार र कर्मचारी तन्त्रको नमुना यहि प्रक्रिया प्रदेश सरकारले अलि विस्तृत र ठुलो आकारमा गर्छ। विकास निर्माण योजना सन्चालन, ठेक्का पट्टा आदिमा मन्त्रालयका मन्त्री र सचिवहरुको निकै ठूलो हिमचिम हुन्छ। यसरी गरिब मुलिकको सचीव र मन्त्रीहरुको आर्थिक अवस्था र दैनिकी देख्दा मुलुक कहाँ र कता तिर दौडिरहेको छ भन्ने प्रश्नको जवाफ सजिलै पाहिन्छ। मुलुकको ३ नै तहको सरकारको नाइके संघीय सरकारको मुलत सार यहि यस्तै हो। भलै एक दुई जना मन्त्री र सचीव कर्मचारीहरु ईमानदार होलान् तर अधिकान्स मन्त्री र कर्मचारीहरुले विकास निकास रोड पानी सिचाई आदिको रातोकिताबमा नाम पार्ने,आयोजना प्रयोजनाको कसैलाई ठेक्का मिलाईदिने आदि भनेर मुलुकको ढुकुटीमा तमासा देखाउने र कानुनी पैसालाई गैर कानुनी बनाउने क्रम दिनदिनै उकालो कुदिरहेको छ।

    यसो हुदा जनता, कर्मचारी र सरकार आज देश प्रति इमानदार र जिम्मेवार कोहि छैन भन्ने गरेको छु। जनतालाई राम्रो र भड्किलो खर्च गर्नुपरेको छ। नेपालमा बचेको युवाहरूलाई कोदालो खनेर कसरी धेरै उत्पादन गर्ने भन्दा टिकटमा भाईरल कसरी हुने ? कुन हर्कत गर्दा धेरै भ्युज आउँछ ? कस्तो पहिरन लगाए धेरै कमेन्ट र फलोवस आउछ ? आदि जस्ता समस्याले सताई रहेको छ। पत्रकारहरु विभिन्न पार्टीको छाया सङ्गठन जस्तै लाग्छ। उनीहरुको पत्रकारीतामा कुनै सत्यता भेटिदैन। एउटा गरिब मुलुकको अधिकाङ्स पत्रकारसंग महँगो सवारी साधन र विलाशी महलहरु छन्। यसो भन्दै गर्दा पत्रकारहरुको रिस गरेको भने होइन।

    आजको शिक्षकहरु कुनै न कुनै राजनैतिक दलको सल्लाहकार झै लाग्छ। उनीहरुले दिन भरी मदिरा पिउनु हुन्न भनेर पढाए पनि बेलुका नेतासंग बिदेशी आयातित महँगो विस्की र रमको झोलामा डुबि रहेको पाहिन्छ। उस्तै त नेपाली पाठ्यसामग्री अहिले काम नलाग्ने भइ सकेको छ त्यहा माथी यस्ता शिक्षक र शिक्षणबाट नयाँ पुस्ताको भविस्य कस्तो बन्ला र यिनिहरुले देशको अर्थतन्त्रमा कस्तो भुमिका खेल्लान ?

    अर्कोतिर पालिका प्रमुख र प्रशासकीय अधिकृतको नाइटो जोडिएको जस्तो लाग्छ। नगरपालिका र गाउँपालिकाको कार्यालयहरु कर्मचारी भर्तीदेखि योजना र अनुदानमा कति कति कमिसन खाने भनेर भागबन्डा गर्ने अड्डा जस्तो देखिन्छ। हिजो चप्पल किनेर लगाउने आर्थिक अवस्था नभएको युवा यिनैका पछि लागेर आज मोटरसाइकलमा हुइकिन्छ।

    आज इमानदार भएर छानबिन गर्ने हो भने मुलुक भरिका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरु जेलको हावा खान पुग्नुपर्ने हुन्छ तर यहाँ प्रशासन उनैको छ। जहाँ गैरकानुनी कारोबारमा सबैथोक टिकेको छ। किसानको खेत बाझिएको छ तर काम गर्ने युवाहरू सबै प्रदेश निर्यात गरेको छ। आज चामल आयात गरेर खानुपर्छ। त्यो आयात पनि कि तस्करी गरेर आएको छ कि केमिकल तथा गुणस्तर जाच नगरी सेटिङमा सिमाना कटाईएको छ।

    चामल, दाल, नुन तेल सबैमा मिसावट छ। मिसावटले जनता विमारी परे नेता र धनीहरुको ठुला ठुला अस्पताल बनेका छन् जहाँ विमारीको प्राण बितिसक्दा पनि आइसियू भित्र राखेर बाहिर पैसा जम्मा गराउन र औसधि ल्याउन भनी रहने गरिन्छ। सरकारी अस्पतालको शौचालयमा पुग्दा निरोगी मानिस रोगी भएर निस्कनुपर्छ। डाक्टर जति कि बिदामा कि प्राईभेट क्लिनिकमा भेटिन्छ। अब भन्नुहोस् यसैगरी देश विकास होला ? यसैगरी अर्थतन्त्र लयमा फर्किएला ?

    एउटा भाईलाईले फेसबुकमा नो रेमिट्यान्स भनेर अभियान नै चलाउदै हुनुहुदोरहेछ। देखेपछि केही बोल्न मन लागि हाल्यो।

    म : भाइ तपाई त विदेशी भुमिमै बिज्नेस गर्न लाग्नु भो के हो ?

    भाइ : दाइ तपाई जस्तो मानिस भएर बाच्न सकिदैन। अलिअली साईड बिज्नेस गर्नुपरेन। महिनामा १५/२० जनाको हुन्डी गरे भने मलाई एक महिना खान पुग्छ।

    म : भाई अनि यसरी मुलुकलाई के फाईदा होला त ?

    भाइ : जे सुकै होस् नि। आफू त आए देखि नै हुन्डी गर्दै छु। रेट नि राम्रै दि रहेको छ। अहिले आफुले नै कारोबार गर्छु। घर जादा २ वटा फोन नि लान नदिने देशको मतलब भएर बाचिदैन दाइ।

    म : त्यसो हैन भाइ अलिकति सरकार र देश प्रती जिम्मेवार हुनुपर्छ।

    भाइ : ह्या दाइ, सरकारले के दियो र हामी सरकार र देश प्रति जिम्मेवार हुने ?

    उसको मसंग कुरा नमिल्ने देखे पछि थप प्रश्न नगरी कुरा अन्तै मोड्न तिर लागे। उसको कुरा पनि एक हिसाबले ठिकै लाग्यो तर मलाई चित्तबुझ्दो जवाफ चाहिएको छ। यस्ता प्रश्न गर्ने मानिस उ भाइ मात्र होइन हजारौ भाईहरु छन् जसलाई यो मुलुकले निर्यात गरेको छ। कसैले राम्रै आर्थिक हैसियत बनाएका छन्। कतिपय घाइते पीडित भनेर देशमा फर्किनु परेको छ। हर दिन कसैन कसैको ज्यान बिति रहेको पनि छ।

    यावत् कुराहरूको समस्या देखेपछि देशमा मेहनत, ईमानदारीता र देश भक्त भन्ने एउटा पाठ्यक्रम नै बनाएर स्कुल स्कुलमा पढाउन पर्छ जस्तो लाग्यो। भन्न त सबैले भन्ने गरेको छौँ। हामी वीर गोर्खालीको सन्तान तर आज विरताको कुरा छोडौ हामी मध्य कति जना देशको यो आर्थिक समस्या सग जुध्न तयारी छौँ ? कति जना मुलुक प्रति इमानदार भएर कारोबार गर्छौं ? साच्चै खोज्ने हो भने यस्तो सोच्ने म मात्र छु कि जस्तो लाग्छ।

    आज नेपाल जस्तो गरिब मुलुकको कति जना युवाहरू विदेशस्थित महँगो कलेजमा भर्ना हुन गए ? यसरी जादा लाग्ने डिपोजिट रकम कहाँबाट आयो ? भविष्यमा ती युवाहरू नेपाल आएर के योगदान गर्लान् ? यो विषयमा कसैको चासो छैन। परिवारलाई लाग्छ छोराछोरी जापान युरोप अमेरिका अस्ट्रेलिया पुगे भविष्य बन्छ। उतै सेटल हुन्छन् तर यसो हुनु सरासर देश प्रती गैरजिम्मेवार हुनु हो। नेपालबाट बिदेश पढ्न जानेहरू पढेर नेपाल फर्केर देश र जनताको लागि काम गर्ने सोच भन्दा पनि उतै सेटल हुने तयारीका साथ बिदेशी कलेजमा भर्ना हुन चाहाना राख्छ्न।

    देशप्रती न राजनैतिक दलहरु जिम्मेवार छन् न कर्मचारीहरु न त हामी जनता नै। उहीँ भन्ने बेला वीर गोर्खालीको सन्तान भन्ने हो तर ब्यबहारिक हिसाबले देश प्रति कोहि जिम्मेवार छैन। जिम्मेवार हुने हो भने वैदेशिक रोजगारलाई सरकार टु सरकार कायम गरेर म्यानपावर ब्यवसायीसंग हुने गैरकानुनी कारोबार रोक्नुपर्छ। युवा निर्यात गर्दा युवाहरू कुन कामको लागि जानेहो दक्षता अनुसारको रोजगारी ग्यारेन्टी गरिनुपर्छ। सबै प्राईभेट कलेज मेडिकल हस्पिटलहरु खारेज गरेर ब्यबहारिक प्रविधि शिक्षाको बाटोमा हिड्न सरकार मजबुत भएर उभिन सक्नुपर्छ।

    किसानलाई रासायनिक मलमा अनुदान हैन जैविक मल कसरी बनाउने र प्रयोग गर्ने भनेर तालिम र श्रोता साधन जुटाउनुपर्छ। आज मलाई सोध्न मन छ। देशै भरिका सम्पूर्ण सरकरी कर्मचारीहरु र जनप्रतिनिधिहरु के तपाईहरु देशको लागि सामान्य तलबमा काम गर्न तयार हुनुहुन्छ ? गरिब मुलुकको एउटा मुख्य सचीवको एक महिनाको तलब भत्ता गरेर ६०/७० हजार भन्दा बढी हुन आउँछ। मन्त्रीहरू र सुरक्षा सम्यन्त्रका प्रमुखहरुको पनि अवस्था उहीँ हो ? के तपाईहरु साधारण तलबमा देश र जनताको सेवामा लागिपर्न तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राष्ट्रको नाममा सबैले साधारण तलबमा काम गर्न सुरु गर्नुस्। सक्नुहुन्न भने तपाईहरुलाई राष्ट्र सेवक भन्न सुहाउँदैन।

    विदेशी भुमिमा भएका म जस्ता युवाहरूले देशको लागि दैनिक ३ घन्टाको पारिश्रमिक दिन तयार हुनुहुन्छ ? यदि सक्नु हुन्न भने तपाईलाई नेपाली नागरिक हु भन्न सुहाउँदैन।

    के नेपाली जनताहरु देशको निम्ति महिनाको ४ दिन निस्वार्थ श्रमदान गर्न तयार हुनुहुन्छ ? यदि हुनुहुन्न भने तपाईहरुले राज्य प्रती आशावादी बनीरहनु जरुरत छैन देश छोडेर गए हुन्छ। यो देशमा तपाईहरुको केही हुनेवाला छैन।

    तस्कर र ब्यापारीहरु तपाईहरु के देशको निम्ति तस्करी र ब्यापार गर्नु सक्नुहुन्छ ? यदि सक्नु हुन्न भने यो नेपाल र नेपाली जनताहरु तपाईहरुको ठगी सहेर रमिता गर्ने ठाउँ होइन।

    अभियन्ताहरु के तपाईहरु देशको निम्ति श्रमदान अभियान गर्न तयारी हुनुहुन्छ ?

    शिक्षकहरु के तपाईहरुले दिनको २ घन्टा पार्टीको कुरा गर्न छोडेर हरेक कक्षामा राष्ट्रिय एकता र भावनाको विषय पढाउन तयार हुनुहुन्छ ?

    अह उहाँहरु कोहि सक्नु हुन्न। सक्दै सक्नु हुन्न।
    सामाजिक काममा जनताहरु १ घन्टा खट्नु परे घरमा गाई करायेको सुनिन्छ ? नेता जिले एउटा योजनामा भ्रस्टाचार नगर्ने निर्णय गर्न्नु अगाडि छोराको बाईक र छोरीको स्याउ फोनको डिमान्ड आइ सक्छ। यो देश हो यहाँ देशमा देशभक्त हु भन्नेहरूले नै देशको आर्थिक अवस्था हरिविजोक बनाउनेतर्फ लागेका छौँ।

    अब तर्क आउँछ कम्युनिस्टले देश खायो, काङ्ग्रेसले खायो राजा ल्याउनुपर्छ तर त्यो भने हुँदै होइन जो जहाँ ल्याए पनि बिगार्ने बानी हाम्रो हो। धूप लगाउने हामिनै हो। त्यसैले हामी भित्र म बन्ने हिम्मत गरौँ। मबाट सुध्रिनुपर्छ भन्ने विचार विकास गरेर हामी सुध्रिनुपर्छ अनि मात्र मुलुकको स्थिति सुधार र विकास भएर जानेछ। देश विकास भएन नेताले देश बनाएन भन्ने हरुले आज मैले देशको लागि के गरे भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ अनि मात्र मुलुक सभ्य र सुदृढीकरण भएर आर्थिक सामाजिक राजनैतिक परिवर्तन र विकासको गतिमा दौडिनेछ।

    देशको अवस्था र प्रवृतीको छायामा उभिएर जे देखे त्यही लेखे कसै प्रति कुनै गुनासो छैन, छ त केवल आफै प्रती ! मैले किन मेरो मुलुकको लागि केही गर्न सकिन ? म आफैसंग जवाफ खोजी रहेछु।

    यो पनि पढ्नुहोस्।

    “संदिग्ध”

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...