वैँसको इन्द्रेणी भाँचेर
मनको लिपुलेक उक्लिँदै गर्दा
रहरका तारहरू टुटेपछि
उसले छाडिदियो
आफूजस्तै दुःखी सारङ्गी रेट्न !
र थुन्सेभरि भविष्य बोकेर
ऊ हिँड्न थाल्यो
सपनाको घुमाउरो बाटो
आफ्नै जीवनका अदृश्य पहाडहरूमाथि !
उसले आगोसँग
चोर–पुलिस खेलेको छ
र आगोकै गीत पनि गाएको छ !
ऊ आफैँलाई सिरानी हालेर
रातभरि आगो निदाउँछ
र आगो नै ब्युँझिन्छ— हरेक बिहान !
यतिका दिनसम्म
उसले थाहै पाएको छैन
यो संसार उज्यालो छ कि अँध्यारो ?
दिनमा नि आगो उस्तै
रातमा पनि आगो— आगोजस्तै
मान्छेले जस्तो आगोले रङ नबदल्दोरहेछ !
ऊ कार्लमाक्र्स पनि आफैँ हो
तर बुझ्न सकेको छैन
राजनीतिशास्त्र किन यति निर्दयी छ ?
ऊ आफैँ रोबर्ट सिलर पनि हो
तर भन्न सकेको छैन
अर्थशास्त्र किन यति धेरै तन्नाम छ ?
साँच्चै, फूलझरी !
ऊ आफैँ वात्सायन पनि हो
तर जान्न सकेको छैन
कोखशास्त्र किन यति बिघ्न उराँठ छ ?
ऊ हराएको छ
कुहिरोको कागजस्तै बेखबर
यो शास्त्रै–शास्त्रको अनकन्टार वृन्दावनभित्र !
उसले कैयौँचोटि
आफ्नै आँसुको भेल तर्यो
अजङ्गको पहाडसँग ठोक्कियो
र घनघोर तुफानको वेगसँग पनि रेटियो !
जति रोक्न खोजे पनि
आखिर कहाँ रोकिँदोरहेछ र
बगिरहने पानीजस्तै यो जिन्दगीको गति ?
जीवनभर दर्शन पढेर
भोगीरामले त एउटैमात्र शास्त्र बुझेको छ
पेटको शास्त्र— भोकशास्त्र !
र यही शास्त्रको भुङ्ग्रोभित्र
अहिलेसम्म पनि आधा पृथ्वी रोटीझैँ डढिरहेछ !
सायद,
त्यही रोटीको धुवाँभित्र
हराइरहेको हुनुपर्दछ— इन्द्रेणीको बाँकी भाग !
– प्रथा
हाल: काठमाण्डौ।