आज : २०२६-०७-१३, सोमबार

ओली सरकारविरुद्ध नाराबाजी गर्दै सडक अबरुद्ध गर्न खोज्ने डा केसीका १५ समर्थक

काठमाडौं– केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् ।

सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

केसीका समर्थक नाराबाजीसहित महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका थिए ।  तर,   प्रहरीले उनीहरुलाई अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले ‘टुक्के सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद, केसी सरको अनशन माफियालाई टेनशन, जनता मार्ने अधिकार कसले दियो ए सरकार’ लगायतका  आक्रामक नारा लगाएका थिए ।

डा. केसीका माग पुरा गराउने उदेश्यले केसी समर्थक बिहीबार विहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए । तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभनपछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।

अहिले पनि गोविन्द केसीका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सो क्षेत्रमा उल्लेख्य सङख्यामा प्रहरी तैनाथ राखिएको छ ।